तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

शुक्रबारको दिन कार्यालयले ऊबाहेक अरु सबै कर्मचारीहरुलाई ओकलिसकेको थियो । ऊ भने पछिसम्म पनि त्यहीँ अल्मलिइरहेको थियो र हाकिमकै कोठामा यताउता गरिरहेको थियो । ऊ त्यहाँको कार्यालय सहयोगी थियो ।

हरेक दिन बिहानै ९ बजे कार्यालय आउनु, सफाइ गर्नु, हाकिमको कुर्ची र टेबुल पुछ्नु, उसको टेबुलमा तातो पानीको गिलास राखिदिनु, दिउँसो चिया पकाएर खुवाउनु, हाकिमको घण्टीको प्रतीक्षामा बसिरहनु र पाँच बजेपछि झ्यालढोका बन्द गरेर निवास फर्कनु उसको दिनचर्या नै बनेको थियो । 

तर आज साँझको साढे पाँच बजिसकेर पनि उसलाई त्यहाँबाट निस्कन मन लागिरहेको थिएन । सन्ध्याले पृथ्वीमा आफ्नो पाइलो बिच्छ्याइसक्दा पनि उसलाई कुनै हतारो थिएन । ऊ अझै पनि हाकिमकै कोठामा थियो । उसलाई हाकिमले जस्तै घण्टी बजाउन मन लागिरहेको थियो । रहरको कैदी बनेर उसले घण्टीमा यस्सो हात पु¥यायो तर डरायो र हात स्वात्त तान्यो । 

एकछिन सम्हालिएर फेरि हात बढायो र घण्टीलाई बिस्तारै थिच्यो । घण्टी बज्यो तर आफै तस्र्यो । ‘आम्मै नि ! कस्तो चर्को बजेको’ ऊ दङ्ग प¥यो । उसले आफूलाई एकछिन हाकिममै रुपान्तरित ग¥यो । हेर्दाहेर्दै उसलाई हाकिमको खाली कुर्चीले लोभ्यायो र बसूँ–बसूँ बनायो तर डरायो । तुरुन्तै उसले सोच्यो– पूरा कार्यालयभरि ऊ एक्लो थियो र जे गर्न पनि ऊ स्वतन्त्र थियो । 

ऊ फेरि कुर्चीको नजिकै गएर उभियो । टेबुलको एउटा कुनामा छाडिएको हाकिमको कालो गगल्स बिस्तारै उठायो र आँखामा सिउ¥यो । अब त ऊ पक्का हाकिमै भएको थियो  अनि कुर्चीलाई बिस्तारै छामेर थ्याच्च बस्यो । ‘आम्मै, कस्तो हल्लेको !’ शुरुमा त ऊ डरायो तर पछि सम्हालियो । घुम्ने कुर्चीमा बसेर उसले फेरि घण्टी बजायो । कल्पनामा उसको अगाडि कोही उपस्थित भयो अनि सोध्यो– किन सर ? उसले कल्पनामै के–के अर्डर ग¥यो । कल्पनामै उसको अगाडि चिया आइपुग्यो, थरीथरीका फाइलहरु आइपुगे । 

धेरै मानिसहरु आएर उसलाई नमस्कार गरे । अस्तिमात्र आएकी नयाँ कर्मचारी अञ्जुले पनि उसलाई झुकेर नमस्कार गरी । ऊ कल्पनामै मख्खियो र हल्लिने कुर्चीमा एकछिन पिङ खेलिनैरह्यो । यत्तिकैमा उसको पुरानो मोबाइलमा घण्टी बज्यो– टिरिङ–टिरिङ । ऊ झल्याँस्सियो । मोबाइल हे¥यो– उसकी कचकचै बूढीको नम्बर थियो । 

उसले सानले मोबाइल उठायो र हाकिमी पारामै बोल्यो – ‘हेलो ! हजुर ! आज धेरै फाइलहरु केलाउनु छ अलि ढिलो हुन्छ होला ।’ उसकी स्वास्नी के–के कचकचाउँदै थिई तर उसले केही सुनेन । उसले थपक्क मोबाइल राख्यो र कुर्चीमा फेरि हल्लँदै हाकिम हुनुको मजा लिन थाल्यो । उसले पत्तै नपाउने गरी साँझ गहिरिँदै थियो । फेरि उसको मोबाइलमा घण्टी बज्यो । यसपालि भने फोन उसकै हाकिमको थियो । ऊ कल्पनाबाट झल्याँस्स भयो, कुर्चीबाट ज¥याकजुरुक उठ्यो । उसका हात थरथर काँपिरहेका थिए । 

अनि बिस्तारै फोन उठायो र सुस्तरी जवाफमा जोडियो– ‘हस् साप हस् ।’ यतिबेला उसका हातहरु बिस्तारै गगल्स झिक्दै थिए । बल्ल उसले थाहा पायो – ऊ के थियो । 

कल्पनालोकबाट ओर्लेपछि बल्ल हतारहतार झ्यालढोका सबै बन्द गरेर ऊ कचकचे स्वास्नीको कचकच सु्न्न हिँड्यो तर उसको अचेतनमा हाकिम हुनुको  तिर्खा भने बाँकी नै थियो । 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …