तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडा दशैं अर्थात् विजयादशमीको महोत्सव नजिकिदै छ । जब यस्ता सांस्कृतिक महत्त्व बोकेका पर्वहरू नजिकिन्छन् तब “बलि” का सन्दर्भ उठ्ने गर्दछन् । यसका अतिरिक्त नेपाली सांस्कृतिक परम्पराका सम्बन्धमा बलिप्रथालाई लिएर मत मतान्तरहरू प्रकट भएका पाइन्छन् । नजिकिएको नवदुर्गामा विभिन्न शक्ति पीठहरूमा दिइने पशुवलीलाई कसैले धर्मसम्मत र जायज मान्दछन् भने कसैको मतमा यी कर्महरू धर्मका विपरीत ठानेका छन् । यिनलाई निषेध गर्नुपर्छ भन्ने तर्कसहित धार्मिक आधारहरू पेश गरेको देखिन्छ । हरेक वर्ष हुने यस्ता तर्क यस वर्ष पनि चल्ने अनुमान गर्न सकिन्छ । विगतदेखि यस्ता बहस चले पनि कुनै ठोस निष्कर्ष अहिलेसम्म निस्कन सकेको छैन । यही विषयमा मैले जाने बुझेसम्म धार्मिक आस्थामा आँच नपुग्ने गरी आफूँले बुझेसम्मका प्रमाणहरूसाथ आफ्ना विचारहरू यहांहरूसमक्ष राखेको छु । कृपया कुनै दुराग्रह नराखी शिष्टतापूर्वक अध्ययन गरी रचनात्मक सुझाव प्रदान गरिदिनुहुन पाठक वृन्दमा नम्र निवेदन गर्छु ।

विषयवस्तुको सुरुवात यहाँवाट गर्न चाहन्छु–

एक दिन श्री व्यासजी सरस्वती नदी तटमा शोकमा डुबेर बसिरहनु भएको थियो । उहाँको मनमा चारैतिर अशान्तिका बादल मडारिरहेका थिए । मनमा गहिरो चिन्ता थियो । यही सोच्दै हुनुहुन्थ्यो कि धर्म प्रचारको लागि मैले यतिका धर्म ग्रन्थहरूको रचना गरेँ । त्यसले त मेरो मनमा शान्ति आउंनु पर्ने हो । किन म अशान्त छु ? मबाट के भूल भयो र यति अशान्त हुन पुगेँ ?

त्यही बेला टुप्लुक्क नारदजी त्यहीँ आइपुग्नुभयो र व्यासजीलाइ भन्नुभयो–“पराशर नन्दन व्यासजी तपाईँ किन यसरी मलिन हुनहुन्छ ? तपाइले धर्म प्रवर्धनको लागि ब्रह्मसूत्र लेख्नुभयो । महाभारत लेख्नुभयो । वेदलाई सरलीकृत गरेर चार भागमा विभक्त गर्नुभयो । अठार पुराणहरूको रचना गर्नुभयो । तपाईँ त खुसीले गद्गद् हुनु पर्ने किन शोक गर्नु भएको ?” नारदजीका मुखवाट यी कुरासुनेर व्यासजी भन्नुहुन्छ– “हे नारदजी ?हजुरले भन्नुभएको कुरा मनासिव हो तर यति गरेर पनि मेरो मनमा शान्ति आउन सकेन । झन् अशान्त अवस्थामा पुगेँ । के कारणले यसो हुन गयो । हजुरले मलाई बताई बक्सियोस भनेर व्यसजीले नारदजीलाई अनुरोध गर्नुहुंदा नारदजीले व्यसजीलाई भन्नहुन्छ कि–

(जुगुप्सितं धर्मकृतेऽनुशासतः,

स्वभावरक्तस्य महान् व्यतिक्रमः ।

यद्वाक्यतो धर्म इतितरःस्थितो,

न मन्यते तस्य निवारणं जनः ।।) श्रीमद्भागवत 1/5/15

व्यासजी तपाईँले मानिसको मन आकर्षण गर्न केके गर्नुभयो ? धर्म रक्षाको लागि तपाईँले कहीँ कहीँ अधर्मको पनि अनुमति दिनुभएको पाइन्छ । यज्ञ यज्ञादिमा कहीँ कतै हिंसा भड्कने खालको अनुमति दिनुभयो । मानिसहरू त्यही कुरा समातेर न चाहिँदा कुरामा प्रवृत्त हुन थाले । अव तपाईँले नै त्यो कुरालाई निषेध गर्दा पनि मानिसले अब टेर्दैनन्। श्रीमद्भागवत १।५

(नमन्यते तस्य निवारणं जनः)

तसर्थ मानिसलाई एक पटक वासनारूप केही अमर्यादित काम गर्न भनेर उक्साइयो भने ऊ जहिले पनि त्यही कुरालाई सिद्धान्त बनाएर अघोर अघोर काम गर्न प्रवृत्त हुन्छ । समाजमा हिंस्रक तत्त्वको बोलवाला भएर सारा समाज डामाडोल हुन थाल्छ । पछि यसो हैन भनेर जतिसुकै कुरा गरे पनि ऊ सुन्दैन । तसर्थ केही कुरा सिद्ध गर्न नचाहिँदा कुरालाई प्रोत्साहन गर्दा यसले विपरीत असर पर्छ कि भनेर पहिले नै सोच्नु जरूरी हुन्छ । यही तपाईँको शोकको कारण हो ।

अगाडि नारदजी भन्नुहुन्छ–

(तस्यैव हेतो प्रयतेत कोविदो,

नलभ्यतेते यद्भ्रमतामुपर्धयः ।

तल्लभ्यते दुःखवदन्यतःसुखं,

कालेन सर्वत्र गभीररंहसा।। ) भागवत १।५/18

तसर्थ बुद्धिमान मानिसले त्यस्तो वस्तुको प्राप्तिको लागि प्रयत्न गर्नुपर्छ जो जति तल माथि गरे पनि त्यसको असर आँफूलाई नपरोस् । मानिसहरू यो कुरा बुझ्दैनन् कि मेरै कर्मले सुखदुःख आएको हो । यो कुरा कसैले मनन् गर्दैन खाली उसले गर्दा मलाई दुःख प¥यो भनेर दोष अरूतिर पन्छाउँछ ।

(विमढा नानु पश्यन्तिऽश्यन्ति ज्ञानचक्षुसः) १।५

भोगमा मुछिन पुगेका व्यक्ति यस्ता मूढ हुन्छन् कि यो कुरा उनीहरूको दिमागमा चढ्दै चढ्दैन । प्राणीको अवस्था, पदार्थ ,घटना, केही कुरा पनि एकनासको हुंदैन । महात्माहरूले मात्र यस्तो कुरा बुझेका हुन्छन् । यसरी व्यासजी र नारदजीबिच धेरै संवाद हुन्छ र अन्तमा नारदजीले व्यासजीलाई भन्नुहुन्छ– “तपाईँ भगवान्को आराधना गर्नुहोस् । भगवान्को गुणानुवादको मात्र वर्णन गर्नुहोस् । यसले तपाईँलाई र सारा प्राणीलाई शान्ति मिल्नेछ । तव ज्ञानको पनि प्राप्ति हुनेछ । सम्पूर्ण जगत्को भलो गर्ने काम हुन्छ ” भन्ने नारदजीबाट उपदेश पाएपछि व्यासजीले श्रीमद्भागवतको रचना गर्नु भएको हो । 

साभार( श्रीमद्भागवत महापुराण स्तुति पुष्प)

भागवतको प्रारम्भ गर्दा व्यासजीले मङ्गलाचरणमै भन्नुभएको छ (सत्यम् परमंधीमही धर्म प्रोज्झित कैतवोत्र परमो, निगम कल्पतरो गलितं फलम्) पूरा श्लोक लेखेर व्याख्या गर्दा अझलामो हुने भएकोले ती श्लोकहरुका केही अंश मात्र यहाँ उल्लेख गरेकोछु । व्यासजीले पहिलो श्लोकमा (सत्यम् परमंधीमही) भनेर जो सत्यस्वरूप पक्ष छ त्यसको ध्यान गर्दछु भन्नुभयो । दोस्रो श्लोकमा (धर्म स्प्रोज्झितकैतवोत्र) भनेर यस ग्रन्थमा धर्मको प्रचार गर्न झुठ‌्ठा कुरा लेखेर कुनै लोभ लालच देखाइएकोछैन जे सत्य कुराहो तीनै कुराहरु समावेस गरीएकोछ। भन‌्नुभएकोछ। तेस्रो श्लोकमा (निगमकल्पतरोर्गलितम् फलम्) भ लोभ लालचनेर यो ग्रन्थमा निगम भनेको वेद उपनिषदरुपि कल्पवृक्षको पाकेको फल हो । यसमा भागवत धर्म मात्र उल्लेख छ भनी बताउनुभयो । यहाँ कतै त्यस्तो द्वयर्थक शब्दजाल छैन । 

जसवाट मानिसहरूले कुतर्क गरेर अधर्मको प्रचारप्रसार गर्न नसकून् भन्ने संकेत गरेको देखिन्छ । हुन पनि सारा वेद उपनिषद् पुराणहरू सवैले परोपकार गर, मनसा वचसाकर्मणा कुनै प्रकारको हिंसा नगर भनेकै छन् । सारा ऋषिहरूका आप्तवचनहरू यही भन्छन् र पनि मानिसहरू किन यसरीनिरापराध प्राणीहरूलाई मारेर त्यो पनि देवी देवताको नाममा कसरी गरीरहेका छन् ? अझ अरुलाई मारेर खएर आफ्ना दु:ख पीडाहरू नाश हुने, सन्ताप हरण हुन्छ भन्ने आँफैमा हाँसो हुने र अन्य धर्मका अनुयायीहरूले पनि उपहास गर्ने कुरा हाम्रा धर्मगुरुबरुले कसरी कुन आधारमा पशुवलि प्रथालाइ जायज मान्नु हुन्छ? मैले वुझेको छैन ।

के उहाँहरूले भनेकै कुरा सत्य र अरु विद्वानहरूले भनेका कुराहरु वा धर्मशाश्त्र हरुमा वतइएका कुराहरु के असत्य हुन् त? यषस विषयमा उपलब‌ध भए सम्मका वेदवेदाङ्ग,स्मृति ग्रन्थहरुलाइ अवलोकन गर्दा र व्यवहारिक रुप देखिंदै आएका कुराहरु जस्तै हामीकहां हुने गरेका कैयौं यज्ञहरू जस्तै भागवत महायज्ञ, देवी भागवत पुराण, गणेश पुराण, शिवपुराण, शतचण्डी यज्ञ, शहस्र चण्डी यज्ञ ती तमाम यज्ञयज्ञादिहरुमाकहीं कतै पशुवली दिएको पनि देखिँदैन । फेरि पनि देवीको नाममा तमाम पशुहरू वलिको रुपमाकाटिएकै छन् । यो के के भइराखेको छ ? कि कहीं मार्कण्डेयपुराणबाट लिएको दुर्गा सप्तशतीमा देवीले पशुबलि लिनु भएको त छैन ? भनि दुर्गा ससप्तसती सरसर्ति हेर्दा त्यसको मूल कथामा पनि दुर्गाले पशुको रगत पिएको देखिंदैन । दुर्गा सप्तशतीको कथामा खाली देवताहरू र दैत्यहरूको बेला बेलामा युद्ध हुन्छ । 

ब्रह्मा, विष्णु महेश्वर र इन्द्रादि देवताहरूको तेज पुञ्जबाट उत्पन्न भएकी देवीले असुरहरूको घमण्ड तोड्छिन् । यही कथा सुरथ नाम गरेका राजा र समाधी नामको वैश्यले मेघा ऋषिबाट सुनेका हुन्छन् । उनै मेघा ऋषिको उपदेशबाट ती दुबै जनाले नदीको तटमा गई बालुवाको देवीको मूर्ति बनाई देवीको आराधना गर्छन् । अन्तमा आफ्नै शरीरको रक्त निकालेर त्यही देवीको मूर्तिमा चढाउँछन् ।

(निराहारौ यतात्मानौ तन्मनस्कौ समाहितौ।

ददतुस्तौ वलिंचैव निजगात्रा सृगुप्छितम् ।।)

दुर्गा सप्तशती अध्याय १२ श्लोक १३

उनीहरूमध्ये एक जना सुरथ नाम गरेका राजा थिए । अर्का समाधी नामका वैश्य थियो । राजाको राज्यहरण भएको थियो । त्यसको राजा वन गएका थिए । वैश्यचाहिँ उमेरमा धेरै धन सम्पत्ती कमाएको थियो । पछि आफ्नै सन्तानले दुख दिएर ऊ पनि वन गएको थियो । उनीहरूले देवीलाई पशुकै रगत प्रिय हुने भए जाबो एउटा पशुपक्षी किनेर ल्याउन वा उधारो ल्याउन नसक्ने थिएनन् । उनीहरूले पनि बलि दिने आफ्नै हो । अरूको हैन भनेर आफ्नै शरीरको रगत निकालेर दिए । देवी प्रकट भईन् । वर माग्न भनिन् । 

राजाले हरण भएको राज्य फिर्ता पाऊँ भने । वैश्यले हजुरमै सदाकाल मेरो ध्यान लागोस् भनेर माग्यो । देवीले तथास्तु भनेर वरदान दिनुभयो । त्यसपछि देवी अन्तध्र्यान हुनुभयो । संक्षेपमा कथासार यही हो ।

अर्थ त्यहाँ पनि बलिको त्यस्तो कुरा उल्लेख छैन । जुन कुरा हाम्रा पञ्चाङ्ग निर्णायक समितिका विद्वानहरूले निरन्तर पशुहरू आँफै मु्क्त हुन नसकेकाले उनीहरूको मुक्तिका लागि देवीलाई भोग दिएर मुक्ति दिइन्छ भनेर तर्क गरिरहनु हुन्छ । कर्मकाण्डकै परिभाषा दिनु हुन्छ । यसमा अन्य विद्वानहरूको चित्त बुझेको देखिँदैन । 

देव मन्दिरहरूमा बलि दिन हुँदैन भनेर हुन्छ र । यो धर्मकर्म मै आधारित छ भनेर त्यसका अलग अलग आधार खडा गरेर विद्वानहरू बहस गररिरहेकै छन् । यता अवोध प्राणीहरूलाई देवीको नाममा हत्या भइरहेको छ । अब धर्म ग्रन्थहरूमा र कर्मकाण्डमा कहाँ भेद देखिन्छ भनेर विचार गर्दा यी दुईमा यहाँनेर भेद देखिन्छ । जस्तो धर्म सिन्धुमा बलि दिनेसम्बन्धमा देखिएको व्यवस्था र कर्मकाण्डमा देखिएको व्यवस्थामा भेद देखिन्छ । धर्म सिन्धुको नवरात्र प्रयोगमा देवीको आह्वान गरी घटस्थापना गर्ने, बलि दिन चाहेमा रहरको दालको भात वा कुष्माण्ड (कुभिन्डो) को बलि दिने पनि हुन्छ तर अखण्ड दीप प्रज्ज्वलन गर्नुपर्छ भनियो जस्तै ः

(कुष्माण्डो बलिरुपेण ममभाग्या दवस्थितः

प्रणमामि ततः सर्वरूपिणं वलिरूपिणम् ।

चण्डिकाप्रीति दानेन दातुरापद्विनाशनम् ।

चामुण्डा बलिरुपाय बले तुभ्यं नमोस्तुते । इति प्राथ्र्य

यग्यार्थ बलयःसृष्टा स्वयमेव स्वयम्भुवा ।

अतस्त्वां घातयमद्यग्येऽवधोविधिः ।।)

हे कुष्माण्ड (कुभिन्डो) मेरा भाग्यले बलिको रूपमा प्राप्त भएका छौ । तिमीलाई नमस्कार गर्छु । तिमी चण्डीकाका प्रीतिकर हौ । तिमीलाई बलि दिनाले मेरा सम्पूर्ण आपत्ति नाश होऊन् । स्वयं ब्रह्माजीले बलि दिनको लागि तिमीलाई सृष्टि गरेका हुन् । तिमी घात गर्न योग्य छौ । त्यसैले अहिले नै यज्ञको विधानअनुसार वध गर्दैछु भनी कुष्माण्डको बलि दिने शान्ति पाठ गर्ने भनिएको छ। । कर्मकाण्ड भाष्करमा

आधार त यही लिइयो तर शब्द बदलियो जुन कर्मकाण्ड भाष्करमा बलिको प्रार्थना गर्ने मन्त्र छ त्यसमा फेरबदल भयो । जस्तै कर्मकाण्ड भाष्करअनुसार यस प्रकार उल्लेख भएको देखिन्छ–

पशुत्वं बलिरूपेण मम भाग्यादुपस्थितः ।

प्रणमामि ततः सर्व रुपिणिं बलिरूपिणम् ।।

चण्डिका प्रीति दानेन दातुरापद्विनाशिने ।

चामुण्डा बलिरूपाय बले तुभ्यं नमोनमः ।।

यग्यार्थ पशवःसृष्टाःस्वयमेव स्वयम्भुवा ।

अतस्वां घातयमद्य तस्माद्यग्ये वधोऽभवः ।।

धर्म सिन्धुमा कुष्माण्ड थियो भने यहां कुष्माण्डको ठाउमा पशु शब्द प्रयोग गरियो । यति मात्रै पनि हैन अझ यसैको संस्कृत टिकामा पशुहरूमा पनि वर्गीकरण गरी (छाग) अर्थात बाख्राको पाठो उल्लेख भएको देखिन्छ । धर्म शास्त्रहरूमा र कर्मकाण्डको परिभाषामा यही भेद देखिन्छ । 

यस्तै जुन बलि शब्दहरूको प्रयोग भएको जहां पनि देखिन्छ । आफ्नै बलिदान गरेको देखिन्छ । जस्तै असुर राज वलीले आफ्नै सर्वश्व दान गरे, उनका बाबु विरोचनले परोपकारमा ज्यानै दिए । दधीची ऋषिले आफ्नै शरीरको मेरुदण्ड हाड देवताहरूको उपकारको लागि दान दिए । शिवीले आफ्नै मासु काटेर चराहरूलाई दिए । हाम्रा शास्त्रहरूले पञ्च यज्ञ भनेर (ब्रह्म यज्ञ ,देवयज्ञ, पितृयज्ञ,अतिथि यज्ञ र भूत यज्ञ) को व्यवस्था गरेका छन् । भूत यज्ञ भनेर चराचुरुङ्गी आदिलाई बलिको रूपमा उनको आहार दिने भन्ने देखिन्छ । हाम्रा सहिद गंगालाल ,धर्मभक्त, शुक्रराज र दशरथचन्दले आफ्नै प्राण दिए । कसैले अरु जीवलाई ल्याएर बलि दिएकोदेखिँदैन । 

त्यसैले पनि धर्मशास्त्रहरूको मर्म विपरीत र स्वयं देव देवीहरूलाई अघि सारेर बलि दिने कार्य उपयुक्त देखिँदैन । स्वयं देवीलाई देवताहरूले (या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। ) प्राणीहरूकी जननी मानेका छन् । उनैले कसरी तिनै प्राणीहरूमा भेदभाव गरेर एउटाको रगत पिएर अर्काको उपकार गर्न सक्छिन् ? यस्तै भगवान श्रीकृष्ण भन्नुहुन्छ– “म सबै प्राणीहरूको आत्मामा निवाश गर्छु ।” पुराणहरू एक स्वरमा परोपकार गर काम, क्रोध, लोभ, मोहजस्ता आँफू भित्रैका शत्रुहरूलाइ मार, इन्द्रियहरूलाई दमन गर । अरुको भलाइ हुने काम गर अरुलाई पिडा दिने काम नगर ।

अष्टादश पुराणेषुव्यासस्य वचनद्वयम् ।

परोपकार पुण्याय पापपाय परपीडम् ।।

अरूले जेसुकै गरून् । चाहे कसैलाई मारेर खाऊन्, त्यसको कर्म फल उनैले भोग्ने हो । ऋषिहरूको यस्तो भनाइ पाइन्छ ।

(अवश्यमेवभोक्तव्यम्कृताकर्मशुभाशुभम्)

पूर्वजन्मकृतं कर्म यद्दैव मितिकथ्यते ।।

अर्थात् मनुष्यले राम्रा नराम्रा जे जस्ता कर्म गर्छन्, तिनको फल तिनैले नभोगी सुख छैन । यदि यस जन्ममा भोगिएन भने अर्को जन्ममा तिनै कर्मको फल भाग्यको रूपमा प्रकट हुन्छ र भोग्नु पर्छ । यस्तै भावतमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ–

(कर्मणा जायतेजन्तुः कर्मणैव विलीयते ।
सुखंदुःखं भयं क्छेमं कर्मणैवाभिपद्यते ।।
अस्ति चेदीश्वरःकश्चित् फलरुप्यण्यकर्मणाम् ।
कर्तारं भजते सोऽपि न ह्यकर्तु प्रभुर्हिसः ।।
देहा नश्चावचान्जन्तुःप्राप्योत्सृजतिकर्मणाः ।
शत्रुर्मित्रमुदाशीनःकर्मैव गुरुरीश्वरः ।।

अर्थात् प्राणी आफ्नो कर्मअनुसार नै पैदा हुन्छ र मृत्युवरण गर्छ । उसलाई उसको कर्मअनुसारनै सुखदुःख भय तथा जय पराजय मिल्छ । यदि ईश्वरै सबै कुरा हुन् । उनले दिए सबै हुन्छ भन्ने हो भने पनि कर्म नगर्नेलाई ईश्वरले पनि फल दिन सक्दैनन् । कर्मअनुसारकै फल ईश्वरले दिने हुन् । यसकारण कर्म नै गुरु हो । कर्म नै ईश्वर हो । गर्नेले जे सुकै गरून् त्यसको फल उनैले भोग्छन् तर धर्मको नाउँमा भ्रम फैलाएर अरुलाई पीडा दिने काम नगरौं । वास्तवमा बलिको अर्थ तपाईँ हामी भित्र भएको जुन पशुत्व विचार छ, नराम्रो विचार छ । त्यसलाई काट, त्यसलाई भगवान् समिपमा बलि देऊ भनिएको हो । काम, क्रोध, मोह, लोभ, अहङ्कारजस्ता अवगुणहरूलाई आफ्नो जीवनबाट काट र त्याग गर भनिएको हो । असली बलि देऊ यही मेरो आग्रह हो । जय श्रीकृष्ण राधे…

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …