तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

नपुंसक रहर

कस्तो अँध्यारो घोलिएको चिसो र असजिलो सम्बन्धमा बाँचेका थियौँ हामी । घाट नपाएर डुङ्डुङ्ती गनाएको लासजस्तो जीवन काँधमा बोकेर हिँडेको थिएँ म अनि ऊ कलेठी परेका आफ्ना ओठहरुमा बेस्मारी लाली दलेर जिन्सको पाइन्टमा ढल्कँदै दिनहुँ बाहिर निस्कन्थी र कहाँ जान्थी मलाई थाहा हुँदैनथ्यो । 

हाम्रो सम्बन्धले घर निर्जीव भवनमा रुपान्तरित थियो । दश वर्षअघिको माघे सक्रान्तीबाट थालिएको हाम्रो वैवाहिक जीवनले शुरुका चार वर्ष त खासै खटपट बेहोरेन, त्यसपछि भने ऊ मसँग त्यसै–त्यसै झर्किन थाली, भदौरे झरीझैँ दर्किन थाली र उपहासले आँखा मर्किन थाली । हरेक दिन रात परेपछि मात्र ऊ घर फर्कन्थी । 

त्यतिबेलासम्म म जागिरे दैनिकीबाट बाहिरिएर भान्छे बनिसकेको हुन्थेँ र खाना तयार भइसकेको हुन्थ्यो । लामो समयसम्म यो दैनिकी चलिनैरह्यो । जागिरले दिएको बाह्र हजार रुपैयाँ पनि उसकै हातमा थमाइदिन्थेँ तर प्रतिक्रियामा भने ऊ उपहासको फिस्स हाँसो पस्कन्थी । मन थियो, माया थिएन । पत्नी थिई, पत्नीत्व थिएन । म पति थिएँ तर उसलाई त्यसको आभास थिएन । 

कोठा एउटै थियो, बिस्तारा अलग–अलग । रात थियो, मात थिएन । सम्बन्ध थियो, सम्मान थिएन । जिन्दगी थियो, जीवन थिएन । हाम्रो सम्बन्ध साहू र नोकरको जस्तै लाग्न थालेको थियो । तैपनि सबै सहेकै थिएँ र आफ्नो दायित्व निर्वाह गरेकै थिएँ । घरमा निष्प्राण उपस्थितिपछि पनि ऊ सँगै खाना खान मान्दैनथी । 

एकदिनको कुरा सम्झन्छु– ऊ भान्सामा पसेपछि म पनि उसको पछिपछि भान्सामै गएको थिएँ । केही नबोली उसले थालमा भात पस्केकी थिई; तरकारी, अचार एकै ठाउँमा राखेकी थिई र चुपचाप कोठामा पसेर भित्रबाट चुकुल लगाएकी थिई । अमिलो मन लिएर मैले उसले छाडिदिएको भात खाएको थिएँ, भाँडा माझेको थिएँ अनि भान्छा कोठकै साँगुरो लोबेडमा चिसो रात गुजारेको थिएँ ।

रातले उज्यालो ओकलेपछि पनि म बेडमै थिएँ । ऊ अलि फरक कपडामा सजिएर मेरो छेवै आई र ठिङ्ग उभिई । मलाई आश्चर्य लाग्यो । म पनि जुरुक्क उठेँ । ऊ उभिइ नै रही । मैले बस्न पनि भनिनँ । फनक्क फर्केर ऊ चुलामा गई र चिया बसाली । विगत पाँच वर्षमा यो पहिलो घटना थियो जसले मलाई आश्चर्यमा पारिरह्यो । चिया पाक्यो । 

उसले दुइवटा गिलासमा चिया खन्याई र देब्रे हातको गिलास मलाई दिँदै भनी,‘ल खाऊ मेरो हातले बनाएको चिया,अब कहिल्यै खान पाउँदैनौ ।’ थाहा पाएँ –ऊ बासी रक्सी गनाइरहेकी थिई । ऊ चियाले त्यसलाई मेट्न चाहन्थी । हिजो राति कोठामा चुकुल लगाएर ऊ किन एक्लै भई भन्ने कुराले म राम्रो चेतिएँ । मलाई कालो रिस उठ्यो अनि जुरुक्क उठेर उसको गालामा रातो रन्काएँ दुई झापड । 

मेरो हिर्काइको जोडले उसको हातको गिलास उछिट्टियो र ढोकानेरै पुग्यो । ऊ ढन्मनाई र प्रतिशोधले फत्फताउन थाली, ‘नपुंसक ! स्वास्नी कुट्नमा त आफ्नो पौरख खुब देखाउँदो रहेछ ।

मेरो रिसको तिर्खा मर्यो र उसको शव्दले मुटु चिसिक्क बिझायो । हो,मलाई थाहा थियो – मैले उसलाई कहिल्यै सन्तानको सुख दिन सक्तैनथैँ तर के त्यो मात्र सबै थोक थियो र ? के मैले उसलाई अरु सबैथोक पु¥याएको थिइनँ र ? के लोग्ने–स्वास्नीको सम्बन्ध भनेको केबल यौनको मात्रै सम्बन्ध हो र ? के त्योभन्दा बढी आत्मीयता अरु कुराले दिन सक्तैनथ्यो ? यस्तै प्रश्नहरुमा अल्झिइरहेको थिएँ, ऊ फेरि जोडले कराई– ‘बस् अब एक्लै बस् तेरो यो शून्य घरभित्र । तँलाई लोग्ने भनेर म अब यस दैलोबाट कहिल्यै पस्तिनँ । 

एउटी स्वास्नीमान्छेको जीवनमा प्रेम, यौन, गर्भधारण, मातृत्व, स्तनपान जस्ता कुराहरुले कति महत्व राख्छन् भन्ने कुरा तँ नपुंसकलाई के थाहा ? स्वास्नीसँग एउटै विस्तारामा सुतेर सानो बालकले झैँ छाती छाम्दै लुटुक्क निदाउँदैमा लोग्नेको कर्तव्य पूरा भएको मान्दोहोस् हैन ? मलाई त सिर्जनाको प्यास छ, गर्भधारणको तिर्खा छ र मातृत्वको रहर छ जुन अब तँबाट कहिल्यै पूरा हुन सक्तैन । 

तेरो मीठो बोलीमा झुलेर के म सधैंँ थारै बसूँ ? के मेरा यी स्तनहरुको मूल्य तँलाई सस्तो मनोरञ्जन दिनुमात्र हो ? के मेरो यो सुडौल शरीर तैँले कहिलेकाहीँ केटाकेटी भएर खेलाउने खेलौना मात्र हो ?’ उसका जहरिला प्रश्नहरुले मलाई निशव्द बनाए । म मौन बसेको देखेर उसले आफूलाई विजयी ठानी र ढ्याम्म ढोका धकेलेर बाहिर निस्किई । त्यसपछि ऊ कहिल्यै मेरो घरभित्र छिरिन ।

मेरो दशवर्षे वैवाहिक जीवनको अध्याय यसरी समाप्त भयो । दुःखान्त समाप्ति । मेरो कारणले पनि र उसको कारणले पनि । उसको र मेरो त्यति असजिलो सम्बन्धले अब पूर्णविराम पाएको छ र अलिकति हलुंगो पनि भएको छु । ऊ गएपछिका मेरा दिनहरु सम्पूर्ण रुपमा एक्लै बितेका छन् । स्वास्नीलाई गर्भाधान दिन नसकेर एक्लै बाँचेको मेरो नपुंसक जीवन, निरर्थक जीवन । 

अर्को बिहे गर्ने निरर्थक रहर पनि पालेको छैन मैले । जीवनको पल्लो किनारसम्म नै अब एक्लै हिँड्नु छ भन्ने थाहा छ मलाई । केही स्वतन्त्र पनि भएको छु– न स्वास्नीको बन्धन, न छोराछोरीको टन्टन । एउटै मान्छे, एउटै भान्छे । न कसैको लक्का, न कसैको धक्का । न शोक न सुर्ता, न भोक न भकारी । तैपनि गाह्रो हुँदोरहेछ । सम्बन्ध असजिलो नै किन नहोस्, स्वास्नी त थिई । ऊ स्वास्नी थिई र म लोग्ने हुन पाएको थिएँ । कम से कम एउटा नियमितता त थियो जीवनमा तर अहिले सबै कुरा बदलिएको छ । 

न समयमा खाना छ, न सुताइ । अलिअलि रक्सी पिउन थालेको छु र त्यसैको भरमा राति निदाउने बानी पर्न लागेको छ । उसले सिरानीमा छाडेर गएको धमिलो फोटो छातीमाथि मसँगै सुत्छ र मुटुको धडकनमै निदाउँछ ।

जीवनमा चार वर्ष घचेटिसकेछु यसरी नै । खेै किन हो कुन्नी आजभोलि ऊ झन गाढा यादमा आउन थालेकी छे । घरबाट निस्केर हिँडेपछि ऊ कहाँ गई, के गरी मैले कुनै चासो राखिनँ तर ऊ अहिले बेसरी उज्यालिएर आउँछे र मलाई झन तड्पाउँछे । समयले थिग्राउन नसकेका यादहरु गुजुल्टो बाँध्न खोजे पनि असरल्ल पोखिन्छन् मनभरि । 

आजभोलि आफैलाई सोध्न थालेको छु – ‘मान्छेलाई केके कुरा चाहिन्छन् ? भोकमा खाना, लाज ढाक्ने नाना र चार पहर रात निदाउनका लागि छाना अनि…?’ घरिघरि चिच्याउन मन लाग्छ– ‘मान्छेलाई बाँच्नका लागि अलिकति माया पनि चाहिन्छ माया ।’ तर खै मैले कहिले पाएँ माया ? तीन वर्षको हुँदा आमा मरिन् । अनि नियतिले मलाई बाबुको काखमा सुम्प्यो । बाबु पनि मैले मायालु पाइनँ । हँुदाहुँदै दश वर्षमा उनी पनि मलाई एक्लै छाडेर संसारबाट हिँडे । अनि एक्लो–एक्लो जीवनमा ऊ आई र मेरी पत्नी बनी, केही समय माया दिई तर उसले दिएको मायाको बदला मैले उसलाई सन्तानको सुख दिन सकिनँ । उसको आँखामा म नपुंसक ठहरिएँ र ऊ पनि मेरो जीवनबाट बिलाई ।

असरल्ल भौँतारिएको छु नपुंसकको बदनाम जिन्दगी बोकेर । युद्ध मैदानमा सधैँ हारेको घाइते सैनिकको मनोविज्ञान बाँचेको छु । अहिले पनि सडकमा छु । थरीथरीका मान्छेहरु पनि यता र उता सडक नापिरहेछन् । के अर्थले यति धपेडीमा छन् हँ यी मान्छेहरु ? मन प्राश्निक बन्छ । मलाई उत्तरको कुनै चासो छैन । आखिर जे भए पनि मान्छेले बाँच्नु पर्छ । मैले जानेको र जीवनले मलाई सिकाएको पाठ पनि यत्ति हो । म हिँडिरहन्छु । मपछाडि सडक लामो चिप्लिरहन्छ । 

हातको घडीले साँझको पाँच हिर्काइसक्छ तैपनि म हतारिन्नँ । ‘कहाँ जानु छ र ?’ म सोच्छु । उही एक्लो पुरानो बासी भवन । उही नियति । उही राम्ररी निदाउन नसकिने रात । म एकदमै थाक्न चाहन्छु हिँडेर । अझ एक पेग रक्सीको मात त यो शरीरमा चढाउनु नै छ । यसरी नै तिर्खाशून्य आँखाहरु सडकमा चिप्लाइरहँदा अघिल्तिरै एउटा आइमाई–शरीर ठिङ्ग उभिन्छ र प्रश्न सोध्छ – ‘नवीन सन्चै छौ ?’ मेरो गुरुत्व भासिएजस्तो लाग्छ । देख्छु, ऊ नै उभिइरहेकी छे र मेरो सन्चो–विसन्चो सोधिरहेकी छे । 

मेरा खुट्टाहरु फतक्क गल्छन् । थचक्क बसँुजस्तो लाग्छ । उसको काखमा दुई–तीन वर्षको गोरो छोरो छ र मेरो नपुंसकतालाई गिज्याइरहेको छ । मलाई चिटचिट पसिना आउँछ । म जवाफहीन सरासर अगाडि बढ्छु । म अगाडि बढ्दै जान्छु, बढ्दै जान्छु । मलाई खै केले–केले लखेटिरहेझैँ लाग्छ । पुरानै भट्टीमा पस्छु र मजाले रक्सिन्छु । एकछिनसम्म रक्सी र जिन्दगी साटिन्छन् र साटिइरहन्छन् । म फेरि त्यहाँबाट फर्कन्छु र ऊ उभिएकै ठाउँमा पुग्छु । उसले टेकेको भुइँको धुलो उठाउँछु अनि फेरि लखेटिन्छु त्यहाँबाट । 

रक्सीले मातेको शरीरलाई घरसम्म पु¥याउँदा रातिको नौ बजिसकेको हुन्छ । उसले टेकेको धर्तीको अलिकति धूलो निधारमा लगाउँछु, छातीमा टाँस्छु अनि चिच्याउँछु – ‘मलाई सञ्चो छैन सबिना, सञ्चो छैन ।’ मेरो चर्को आवाजले पल्लो घरको कुकुर भुक्छ मेरो नपुंसकतालाई जिस्काएझैँ गरेर । उसको काखको छोरोजस्तै बच्चाको बाबु बन्ने नपुंसक रहर सल्बलाउँछ मनभरि अनि सधैँभन्दा अलिक बढी मातेको रात मलाई निदाउनै नदिई चिप्लिइरहन्छ, चिप्लिइरहन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …