तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

भुपराज अर्याल

गहनाले भक्कानिएको मन-कथा

“ए ,उजेली ! हिजो तिम्रो बुवाले फोन गर्नुभाथ्यो ,भन्न भुसुक्कै बिर्सेछु ! ” चियाको सुर्कोसंगै उनका पति भानुले भने ।

“के भन्नू भयो त ?” उजेलीले बडो जिज्ञासुभावले टाउको उठाईन्।

“तीज आयो छोरीलाई पठाइदिनु हुन्थ्यो कि ? भन्नू भाथ्यो” भानुले तत्क्षणै जवाफ फर्काए।

तीजको उमङ्ग छाएको छ जताततै । कोही माइतीघर जाने तरखरमा ,कोही पार्टी प्यालेसको रमझममा त कोही नयाँनयाँ तीज गीतका भाकामा गाउँदै नाच्दै , एकप्रकारको रौनक छ वातावरणमा ।

उजेलीका पनि माइती छ्न् ,बाबाआफैं आउन नसके पनि फोनबाट बोलाउनु भएकै छ तैपनि उजेलीको मुहारमा उज्यालो छैन। मनमा एक किसिमको बेचैनी र अत्यास खै के ?खै के?।

बेलुका ओछ्यानमा पल्टनासाथ मधुरो वाणीमा भानुले सोधे -“माइत जान के गर्छ्यौ त ? कहिले जानी हो ? यहाँ पनि दिदीलाई लिन जानुपर्ने !

बत्तीको उज्यालोमा उजेलीको मुहार फेरि अँध्यारो देखियो ।भानुले बत्तीको स्विचअफ गर्दै “के भो , किन निराश जस्ती ?” उनले उजेलीको मन कोट्टयाउन थाले । उजेली सनक्क सन्केर पिठ्युँ भित्तातर्फ फर्काएर गुंँडुल्को परिन् । भानुले आफ्नो हात उनको टाउको , निधार र आँखासम्म पुर्याए ।आँखाबाट बर्बरी आँसु चुहेर चिउंँडोसम्म निथ्रुक्क भिजिसकेको ।दुवै हातले आँसु थाम्ने प्रयास गर्दै ” किन के भयो भन्या !”उनले अलि चर्को स्वरमा जवाफ खोजे।

उजेली जवाफमा केही बोलिनन् ।प्रत्युत्तरमा घुँकघुंँकको आवाज मात्र बोलीरहिन् । भानुको मन एकतमाससंग उराठियो। उनको मन उजेलीको आँसुको मूल उत्पत्तिको जड खोतल्ने चेष्टामा निकैबेर घोरियो; तर केही भेटेन।

केहिबेरमा अश्रुवेग थामियो । भानुले उनको टाउकोलाई बडो ममतापूर्वक आफ्नो छातीमा टाँस्दै शान्तभावमा रुनुको कारण बताउन आग्रह गरे । उजेली पनि बिस्तारै खुल्दै गइन् ।समस्याको चुरो पत्ता लाग्यो।

उजेली दुई वर्षदेखि तीज लगायतका चाडपर्वमा माइत गएकी थिइनन् । तीनजना दिदीबहिनीमा उनी माइली थिइन् ।पति भानु र उनी पेशाले शिक्षक थिए ।बोर्डिङ स्कुलमा अध्यापन गर्ने क्रममा भएको यी दुईको भेटघाट उजेलीका बाबुआमाको स्वीकृतिविना नै प्रेम विवाहमा परिणत भएको थियोे ।

दुईवर्ष अघिको तीजमा उनी पनि गएकी थिईन् माइत । तीजको दर खाएर तिनैजना छोरीहरू र आमासमेत तीजको गीत गाउँदै नाचेर खुब रमाइलो पनि गरेका थिए ।भोलिपल्ट तीजको मेला हेर्न जाने तर्खरमा थिए सबै जना ।उजेली कोठामा पसेर मेला जान साडी मिलाउँदै थिईन् ।यस्तैमा पल्लो कोठामा बोलिरहेको एउटा आवाज खटप्वाल हुँदै उनको कानमा ठोकियो ।”त्यस्को त गहना पनि केही रैनच आमा ,सिक्री पनि कपालको रौं जत्रो,कानका टपको गति पनि त्यस्तै ,एउटा औँठी त्यही पनि २५लालको, छ्या!” “भो कुरा नअर ,त्यस्को बुद्धि भको भए तिमीहरूले जस्तै घर पाउँदी हो ।उबेला लाख सम्झाउँदा पनि मानिन; दिदी र तँत झपक्कै छौ , मेलामा मेरै छोरी भनेर पनि कसरी भन्नु ! मेरै गहना लगाएर हिड् भन्ने त होला नि ! मैले बरु नलाम्ला ”

आमा र कान्छी बहिनीको संवादले उजेलीको मनमा अकस्मात ज्वारभाटा चल्न थाल्यो ।उसको मुटु भुकभुक गर्दै शरीरै हल्लाउन थाल्यो ,एकछिन अघिको उज्यालो संसार औंसीको रातमा परिणत भयो । मुखबाट छुट्नै लागेको भक्कानो बलपूर्वक थामेर गोठतिर लागिन् र अलिपर कसैले नसुन्ने,नदेख्ने ठाउँमा पुगेर ग्वाँग्वाँती रोएर मन हलुको पारिन्।

उनी त्यसदिन मेला गइनन् । पेट दुखेको बहना बनाई घरै बसिन् ।तीजमा माइत जाने प्रसङ्गले उजेलीको खोटेरी बसेको घाउ कोट्टिएको कुरा भानुले राम्ररी बुझे।

उजेली निदाइन् तर भानुलाई अबेरसम्म निद्रा परेन ।उजेलीको मनको राँकोले अब उसको हृदय ह्वारह्वार्ती जल्न थाल्यो । उजेलीले विवाहपूर्व प्रेमप्रसङ्गका क्रममा छातीमा चिउडो जोडेर “तिमीलाई पाए मलाई अरु केही चाहिदैन ” भनेर गरेको बाचाबन्धन पनि तस्बिर बनेर उभियो। “स्त्रीहरू पहिले बिहेमात्र चाहन्छ्न् पछि सबै कुरा चाहन्छ्न्” भन्ने कसैको भनाइ पनि उनका अगाडि भयानकभूत झैँ ठडियो।

बोर्डिङ स्कुलको जागिर ,सहरको डेरा ,दुई वर्षकी छोरी ,बुढेसकालमा गाउँमा रुँगेका बाबुआमा ,बढ्दो महङ्गी,उजेलीको आँसु आदि इत्यादी कुराले मनमा हुँडलो मच्चाउंँदा किंकर्तव्यविमूढ भई लम्पसार परिरहे भानु ।

“मन सानो नबनाऊ उजेली ! गहना लगाएकी तिम्री दिदीबहिनीभन्दा गहनाबिनाकी तिमी धेरै राम्री देखिन्छ्यौ ,गहनाको आडम्बरले फुलेका तिनका अनुहारभन्दा मधुर मुस्कान, सुरिलो वाणी र स्त्रीसुलभ लज्जाले सुसज्जित तिम्रो मुहारमा जडिएका गहना नै मलाई औधी मन पर्छ । गहनाले तिमीलाई ढकमक्क पार्ने मसंग धनपनि छैन ,धनहुँदाको दिन किनीदिने मनपनि छैन ।किनकि म त संसारलाई आफ्नै आँखाले हेर्ने मान्छे ,सुनमा थोरै औषधीय गुणबाहेक केही देख्दिन । खाली खोक्रो आडम्बरको छाया ,धेरै धनहुनेहरूको धन खिच्ने राज्यको चलाखी ,अनाहकको बन्धन , ज्यानको जोखिम । के छ सुनमा ? बस् ,चोरको आकर्षण र गहना ब्यापारीको प्रशंसा …!?! तिमीपनि आफ्नै आँखाले संसारलाई नियाल उजेली ! विकसित मुलुकका खरबपतीहरू पनि गहना लगाउँदैनन् ,लगाए पनि नक्कली लगाउँछन् । तिमी पनि त्यस्तै महान् बन्न कोसिस गर उजेली ! तिमीहामी अरुलाई शिक्षादिने नै विचारले साँघुरियौं भने लोकलाई उठाउने हिम्मत कस्ले बोक्ला ?” भानु निद्रामा परेकी उजेलीको मुहारमा हेर्दै मनमनै भुट्भुटाउँछन्।

भानुले उजेलीको आँसुको भल सम्झन्छन् ।सानो कुराले पिरोलिने स्त्रीको कोमल मनोविज्ञानलाई उनले राम्ररी पढेका छन्।स्कुलमा एक महिनाको तलब पेश्कीमा छ । निजी बोर्डिङ स्कुल, जागिरको ग्यारेन्टी पनि छैन ।यस्तै सोच्दासोच्दै उनी फिस्स निदाउँछन्।”तोलाको झन्डै लाख रे ,ओ माइ गड ! कसैले नकिनिदिए के हुन्छ ?अनि त चोरले पनि चोर्न छाड्छ । ” उनी सपनामा बर्बराउँदै गर्दा उजेलीको कान खुल्छ।

“गहना किन्न कसो गर्ने हो त ?” बिहानीको नित्यकर्म सक्नासाथ भानुले उजेलीको मनबुझ्ने ध्येयले प्रश्न गरे। प्रत्युत्तरमा उजेली फिस्स हाँसी मात्र ।

“साँच्चिकै किन्दिनुहुन्छ र गहना बुढो ?”उजेली लाडिए झैँ गरेर भानुको काखमा पसारिई ।भानुले एकटकसंग एकछिन उजेलीका नीला आँखामा हेरिरहे र ओठबाट छुस्स कृत्रिम मुस्कान पनि छाडे ।

“मैले हजुरलाई धेरै पीर पारेंँ है भानु ! भो, मलाई हजुरका यी मायालु आँखाका नानी मोतीका दाना झैं गहना बनेका छन् । म यसैमा सजिन पाऊँ ।मेरो भावना बुझ्ने हजुरको सुन्दरमन र मृदुल वाणी नै पर्याप्त छ । हजुर मेरो भानु बनेर सदा प्रकाशवान भइरहन सके म सदा उज्याली बन्नेछु। एउटै मनपनि सधैं एकनासको हुँदोरहेनछ, हिजो अकस्मात मन भक्कानियो । मलाई क्षमा गर्नू मेरा प्राणनाथ ! “भानुको ढाडमा बेरिंदै एकोहोरो बोलिरहिन् उजेली।

” मेरी उजेली तिमी साँच्चिकै महान् छौ ।तिमी जस्ती साक्षात् देवीलाई पाउनु मेरो सौभाग्य हो। उजेली !हामीले समाजका विकृतिको परिपोषक भएर होइन परिष्कृतीको संवाहक बनेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । यो तिमीजस्ता सचेत नारीबाट मात्र सम्भव छ।” अकस्मात आँखाबाट झरेका आँसुलाई पुछ्दै भानुले भने।

उजेलीले भानुलाई एकपटक पुलुक्क हेरी अनि कसिलोगरी अंगालोबाँधी उनको छातीमा टाँसिई ।……..।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …