तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल

बाहिर तिर मुख फर्किनुलाई बहिर्मुख भनिन्छ । हाम्रो नाक कान आँखा मुख जस्ता ज्ञानेन्द्रीयहरू सबै बाहिरै तिर फर्किएका छन जसले बाहिरी विषयको सन्देश, मनको तहसम्म पठाउने काम गर्दछन र मनको स्तरमा तत्सम्वन्धि क्षणिक सुख वा दुःखको अनुभुति वा प्रतिकृया बन्दछ त्यसैलाइ र शरीरलाई जीवन हो भनेर वुझ्ने गर्दछौं हामी । यो मनले वाहिरको वस्तुको अध्ययन र उपभोगबाट बन्ने प्रतिक्रया मात्र होइन हाम्रो आफ्नै शरीरतन्त्रको बारेमा, रहस्यमयी प्रकृृति, यसको उत्पत्ति र आफ्नै मनमा बराबर आउने विचारको वारेमा पनि पढ्ने र समीक्षा गर्ने क्षमता छ हामीसंग, जसरी हामी अरुलाई पढ्छौ त्यस्तै गरी हाम्रो मनमा कस्ता विचार आइरहेको छ र मेरो विचार अरुका लागि कत्तिको ग्राह्य वा अग्राह्य हुदैछ ? मेरो उपस्थिति, हाउभाउबाट के प्रदर्शन भैरहेछ ? स्वयं जान्न पनि सकिन्छ ।

वाह्य सन्सारको उपभोगको लतले गर्दा, मन तर्फ फर्केर चिन्तन गर्ने हाम्रो रुची नै हुदैन, यतातिर मन जानै मान्दैन किनभने यो अलि जोखिम र नजानेको बाटो जस्तो मान्छौं हामी । जसले आफ्नै मन र रहस्यवादका वारेमा चिन्तन गरेका छन, उनीहरु भौतिक सुखको भरपुर आनन्द लिन पनि जान्दछन र आत्मिक सुख पनि । उनीहरु दुवैको सामान्जस्य गर्न निपूर्ण हुन्छन र अरुलाई पनि सुख दिन सक्षम हुन्छन् । यतातिर नलाग्ने सबै भौतिकवादीहरु आफ्नै स्वार्थमा लिप्तहुन्छन भनेर सवैलाई आरोप लगाउन मिल्दैन, कोही जन्मजात राम्रा गुणसहित सवैको हितमा संलग्न पनि हुन्छन । तर अधिकांस मानिसहरु आफ्नो सुख, खुसी, लक्ष्यको पूर्ति, परिवार, संलग्न राजनैतिक विचार, धारणा र मान्यताको वरिपरीमात्र व्यस्त भैरहेका हुन्छौंँ । मानिस सामाजमा बस्ने प्राणी भएकोले हामीबाट भएका कामले अरुलाई पर्न गएको बाधा असुविधाकाबारेमा हामीले थाहा नपाएका हुन सक्छौं र थाहा नै पाईहालेतापनि हाम्रो स्वार्थको अगाडि अरुको समस्यालाई नजरअन्दाज गरिरहेका हुन सक्छाैं । आफ्नै पारिवारिक झमेला र विषयको मोहमा चिप्किइदा, सामाजिक दायित्व र ब्यावसायिक धर्म पुरा गर्नुपर्ने कतिपय जिम्मेवारीहरु पुरा नभएको हुन सक्छ र कसैले यसवारेमा हामीलाई सम्झाउँदा पनि स्वीकार गर्न सक्दैनौं, यस्तो बहिर्मुख प्रवृत्ति हाल सबै क्षेत्रमा व्यप्त हुने क्रममा छ ।

आफ्नै घरमा पनि वावुआमा र छोराछोरीका बीच जिम्मेवारी कसले पुरा गरेन भन्ने विषयमा विवाद भैरहेको हुन्छ । पतिपत्नीको खटपटको कुरै नगरौं । विद्यालयमा पढाईको गुणस्तर कायम गर्ने सम्बन्धमा विद्यार्थीले शिक्षकलाई, अभिभावकले पनि शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई अभिभावकलाई जिम्मेवार देखाएर आफुआफुमा राम्रो देखिने कोशिस भैरहेको हुन्छ । सेवा प्रदान गर्ने कार्यालयहरुमा सेवा प्रदायक र सेवाग्राहीका आआफ्ना गुनासाहरु हुन्छन र प्रगति पुरा नभएमा प्रमूख र सहायकहरुका वीचमा एकले अर्कोलाई विग्रन गएको कुरामा जिम्मेवार देखाउने कोशिस हुन्छ, राजनैतिक नेतृत्व र कर्मचारी वीचको जुहारी त देखिरहेकै हुन्छौं । निजी व्यावसायिक प्रतिस्ष्ठानमा कुनै समस्या देखियो भने व्यवस्थापक, मालिक पक्ष र मजदुर वर्गका वीच एकले अर्कोलाई देखाएर उम्किने गरिन्छ, सामाजिक जीवनको हरेक क्षेत्र जता हेरौं एकले अर्कोलाई देखाएर आफू ओवानो देखिने प्रयास हुने गर्दछ र सप्रेको काम छ भने मैले गरेको भनेर उत्ताउलो पाराले जस लिने होड चल्छ।यी सबै बहिर्मुखी मनोविज्ञानका स्वभावहरु हुन् ।

जवाफदेही व्यक्तिले आफ्नो परिवार भित्रको जिम्मेवारी पुरा नगर्दा, त्यो परिवारमात्र प्रभावित हुन्छ भने सामाजिक जिम्मेवारी भएको व्यक्तिवाट गर्नपर्नेे काम नहुंँदा समाजको धेरै हिस्सा प्रभावित हुन्छ । अझ सवैभन्दा वढी बहिर्मुखता राजनैतिक क्षेत्रमा देखिन्छ । हामी कहांँ त राजनैतिक दलमा विवाद भयो भने आँखा चिम्लेर भनिन्छ, विदेशीले उक्साएर यसो भएको हो, यति सम्मकी पार्टीको ससाना किचलोमा पनि विदेशीले उक्साएको, ग्राण्डडिजाइन अन्तर्गत यसो भएको, प्रतिगमनकारीले भाँजो हालेको, प्रतिपक्षी दलले उक्साएको आदि औषत शव्दको प्रयोग भएको पाउँछौ । विचार मिलेर मात्र हामी एउटा दलमा संगठित भैरहेका हुन्छौं, समुह वा दल भित्रको गुनासो दलभित्र वसेर छलफल गरी समाधान गर्न आफूहरु सक्षम नहुने, विदेशीले उचालेर यस्तो भएको हो भनेर सार्वजनिकरुपमा अभिव्यक्ति दिन हामी हिचकिचाउँदैनौ, सर्म मान्दैनौं । कार्यकर्ताहरु समेत ती नेताहरुको अन्धभक्त भएर स्वतन्त्र विष्लेषण गर्ने क्षमता गुमाउदै क्याम्पिङ गरेर आफुआफुमा गालीगलौजमा उत्रीरहेका हुन्छौं । अहिले सामाजिक सन्जालमा हेर्नुभयो भने वर्तमान राजनैतिक घटनाक्रमको विषयमा छरपस्ट आरोपहरु देख्न पाइन्छ , कार्यकर्ताको तहमा समेत एउटाले अर्कोलाई फलानाको दलाल भनेर गाली गरिरहेका हुन्छौ मानौं आफुसंग विचार नमिल्ने जति दलाल हुन्, सायद यसैलाई अतिवाद भनिन्छ ।

आफ्नो जिम्मेवारी र जवाफदेहिता पुरा गर्न र क्षमता प्रदर्शन गर्न नसक्ने, नसकेको कुरा आत्म समीक्षा गरेर सुधार गर्न नसक्ने तर दोष भने अर्काको थाप्लामा थुपार्नु पर्ने । यतिसम्म पनि गरिन्छ की परिस्थितिको जिम्मेवारी लिनको सट्टा सहानुभूति पाउनको लागि धेरै भावुक भएको अभिनय गर्ने, मेरो शरीर उपर खतरा देखेको छु म मारिन पनि बेरछैन,मैले यति दुःख गरेको छु भनेर, सहानुभूति लिने र आफुलाई केन्द्रविन्दुमा राखेर रस लिने चरित्र हुन्छ बहिर्मुखीको । जसले निश्वार्थ भावले समाजको सेवामा समर्पित हुने संकल्प गरेको हुन्छ, त्यस्ता व्यक्तित्वले आफ्नो व्यक्तिगत योगदान, आफ्ना कष्टहरु, आफ्नो सुरक्षा जस्ता कुरालाई भजाएर सहानुभुति लिने चेष्टा गर्दैनन र राजनेताको श्रेणीमा रहेकाहरुलाई त यो झन सुहाउँदैन । राम्रो काम गरेकोमा जनस्तरवाट प्रशंसा भै हाल्छ । हुदाहुदा नेतृत्व तहमात्र हो र नेताले बिना आधारको कुनै प्रशंग उठान गरे भने हामी पनि त्यस विषयवस्तुको गम्भीरता, सत्यतथ्यको समीक्षा नगरी आँखा चिम्लेर समर्थन गरिरहेको हुन्छौं ,त्यस विषयको आवश्यकता, सत्यता माथि वहस चलाउन खोज्नेहरुलाई दलाल र अराष्ट्रियको संज्ञा दिन थाल्छौ मानाैं यो सर्टिफिकेट दिने आधिकारिक हकदार हामी हाैं । हामीले जे भन्छौ त्यो मात्र सत्य हो भने जस्तै । यस्तो प्रवृत्ति र चरित्र वढ्दै जाँदा समाजवाट स्वतन्त्रता, सत्य, न्याय, विवेक, समानता जस्ता मानवीय व्यवहारनै संकटमा पर्ने हो की ? शंका गर्नपर्ने जस्तो भैसकेको छ । स्वतन्त्रताको लागि हामीले क्रान्ति गर्यौं, हाम्रा अग्रजहरुले जीवन उत्सर्ग गरे तर यस्को कुनै महत्व छैन भने जसरी मानिसहरुले व्यवहार गर्न थालेको देखिन थालेको छ, यो पक्कै गम्भीर चिन्ताको विषय हो ।

बहिर्मुखको ठीक उल्टो अन्तर्मुख हो, के त्यसो भए अन्तर्मुखी हुन सकियो भने वा वाहिरी विषयमा दौडिईरहेको मनलाई आफ्नै भित्र तर्फ फर्काएर आँफु माथी अध्ययन गर्न थालियो भने मानिसको आफ्नो र समाज समेतको कल्याण हुन सम्भव छ ? सम्भव छ । सन्सार तर्फ फर्किएको मनलाई आफुतिर फर्काएर केहीबेर आफ्नो शरीरका अवयवहरुको विशेषता, मनमा वरावर आउने सान्सारिक विषय वस्तुको विचारको सुक्ष्म अध्ययन, द्रव्य, मान, पदको अस्थिरता, नश्वरता जस्ता विषयमा चिन्तन गर्न थालियो भने विस्तारै धन, मानप्रतीको आकर्षण घट्न थाल्छ । यस्तो चिन्तन जति दृढ हुन्छ मानिस मानिस वीचको भेद र दुरी कम भएको वोध हुन थाल्दछ, कोमल भावले स्थान लिन थाल्दछ, तव कसैलाई दोष लगाएर उम्कनै मन लाग्दैन, तव कहांँ भेदभाव गर्न मनलाग्छ र ? कर्तव्यको वोध वढ्छ, तब उसको तर्फवाट हुनुपर्ने कामहरु इमानपुर्वक सम्पादन हुन थाल्दछ । तब आफू चर्चाको केन्द्रमा आउने देखावटी चाहनालाई मित्थ्या सम्झन थाल्दछन् । अरु माथि अनावश्यक लान्छना लगाउने कार्य स्वतः समाप्त हुन्छ। तब सबै मानिस हाँसीखुसीपूर्वक जीवन जिउने वातावरण बन्दछ समाजको सबैक्षेत्रमा । सबैले अन्तर्मुखी हुने प्रयास गरौंँ। यो महाऔषधी हो, यसैले सबौको कल्याण गर्नेछ।अन्यथा जतिसुकै कडा व्यवस्था र कानुनको निर्माण गरेता पनि विकास, शान्ति र खुसीको माहौल बनाउन मुस्किल पर्ने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …