तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

कानुनको नजरमा एक अपराधीका रुपमा अदालतको कठघरामा उभिएको छु म यतिबेला । परिसरमा भीड बाक्लै जमेको छ । कृष्णकोटधारी दुई खुट्टे प्राणी न्यायमूर्तिका रुपमा सबैभन्दा अगाडि विराजमान छ । स्वपितृबधको सत्याभियोग छ ममाथि । मिसिल फाइलका साथ श्यामकोटे सरकारी वकिलहरु मजैले तम्सेका छन् बहसका लागि । सुरक्षा मेरो पहरामा खटिएको छ र म तीखा प्रश्नहरुको प्रतीक्षामा छु । अदालती कार्यवाही शुरु हुनेबित्तिकै न्यायमूर्तिले नै प्रश्नोत्तरको उद्घाटन गर्छ– ‘के तिमीलाई आफूमाथिको अभियोगको बारेमा थाहा छ ?

‘थाहा छ श्रीमान् । यो सत्याभियोग हो ।’ म जवाफलाई सटिक छोट्याइदिन्छु । त्यसोभए तिमीले आफ्नो बाबुको हत्या गरेकै हौ त ?’ न्यायमूर्ति प्रश्नमा पुनः जोडिन्छ। हो श्रीमान्, मैले आफ्नै बाबुको हत्या गरेको हुँ ।’ मेरो सहज, गर्विलो र इमान्दार जवाफले न्यायमूर्ति एकछिन अवाक् हुन्छ अनि परिसरमा छोटो सन्नाटा छाउँछ ।

सानो मौनता एकैछिनमा चिरिन्छ धारिला प्रश्नहरुबाट । शृङ्खलित प्रश्नहरुको सहज जवाफमा म झन–झन दह्रो र गर्विलो हुँदै जान्छु । आफूमाथिको अभियोगको मेरो इमान्दार आत्मस्वीकृतिले सरकारी वकिलहरुको बहस–प्रयासको निरर्थकता सिद्ध हुन्छ अनि न्यायमूर्ति पुनः आफै जोडिन्छ सोधाइमा – ‘के तिमीलाई आफ्नै बाबुको हत्या गर्न डर लागेन ?’

जवाफका लागि म प्रफुल्लित हुन्छु । मेरो चेहरा सहज उज्यालो हुन्छ र आँखा चम्किन्छन् गर्वले । उद्देश्यपूर्ण अपराधमा डर लाग्दोरहेनछ, बरु रहर लाग्दोरहेछ श्रीमान् । जुन उद्देश्य र रहरले म बाँचेको थिएँ, त्यो उद्देश्य र रहर पूरा भएको छ भनेर सुनाउन पाउने यो अवसरका लागि म सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आज मभित्रको हेमलेट शान्त भएको छ र मेरी महान् आमाको आत्माले पनि शान्ति पाएको होला भन्ने लागेको छ श्रीमान् ।’ मेरो जवाफले परिसरमा खासखुस पैदा गर्छ र न्यायमूर्ति एकछिन तिल्मिलाउँछ । उसले आफूअगाडिको कानुनको ठेलीलाई अझ केही अगाडि धकेल्छ अनि गलबेदो मिलाउँछ, जसबाट म बुझ्छु – ऊ आन्तरिक रुपले अलि असहज भएको छ तापनि आफूलाई एक न्यायदाताका रुपमा सहज र शान्त देखाउन प्रयत्नरत छ । उसको थप व्यवहारबाट म अनुभूत गर्छु– ऊ सोधनी–श्रृंखलालाई धेरै अगाडि बढाउन चाहँदैन । मेरो अनुमान सत्य हुन्छ,– ऊ अदालती कार्यवाहीलाई बिट मार्न खोज्दै अन्तिम प्रश्नमा जोडिन्छ– ‘अन्तमा तिमीलाई केही भन्नु छ ?

मलाई ठूलो सान्त्वना मिल्छ । प्रश्नका लागि म उसलाई धन्यवाद दिन्छु । छ श्रीमान्, मलाई धेरै कुरा भन्नु छ । के तपाइँसँग यो अपराधीलाई सुन्ने अलिकति समय छ श्रीमान्?’ म प्रतिप्रश्न गर्छु । जवाफमा ऊ स्वीकृतिसूचक टाउको हल्लाउँछ । म बिस्तारै आफूलाई खोल्दै जान्छु, मेरा अतीतका पानाहरु स्मृतिपटमा बिस्तारै खुल्दै जान्छन् । परस्त्रीसँग लागेर मेरा जँड्याहा बाबुले गरेको मेरी बिरामी आमाको क्रूर हत्याको कालो दृश्यले जब मलाई झ्याप्प छोप्छ तब म चिच्याउँछु –‘श्रीमान्, मैले जसको हत्या गरेको छु, ऊ जन्मले मेरो बाबु थियो तर कर्मले मेरी महान् आमाको क्रूर हत्यारा थियो, क्रूर हत्यारा । यो पापी दुनियाँ, यो अन्धो समाज उसलाई केवल मेरो बाबुको रुपमा मात्र चिन्छ तर मेरी आमाको हत्यारोका रुपमा चिन्दैन श्रीमान् । झमझम पानी परिरहेको त्यो घना रातमा कसरी मेरी कमजोर आमाले मेरा निर्दयी बाबुको घाँटी अँठ्याइबाट छट्पटाउँदै आफ्नो सात वर्षे सन्तानलाई असहाय एक्लै छाडेर प्राण त्याग गरिन् भन्ने कुरा केवल मलाई थाहा छ श्रीमान्, मलाई थाहा छ । यो अदालत, यो दुनियाँ मेरी आमाको मृत्युको सत्य कारणका बारेमा केही जान्दैन श्रीमान् ।’ बोल्दाबोल्दै मेरो स्वर थामिन्छ अनि आँखाहरु बरर्र पीडाश्रु बर्साउँछन् । भीडमा पनि कताकति दयाश्रु बगिरहेको देख्छु । अनि बिस्तारै फेरि जोडिन्छु –‘मेरी आमाको हत्यापछिको मेरो गुहारलाई, मेरो रुवाइलाई, मेरो चिच्याइलाई कसैले सुनेन श्रीमान्, कसैले सुनेन । के यो समाजमा न्याय भन्ने कुनै अमूर्त चीजको वाश्तविक अस्तित्व छ र श्रीमान् ? जँड्याहा बाबुले मेरी आमाको प्राणान्त गरेपछि म कसरी सडकमा फालिएँ, मलाई पनि कसरी पटक–पटक मार्ने प्रयासरुहरु गरिए तर म किन र कसरी बाँचेँ भन्ने कुराको दु:खान्त कथाका पत्रहरु मेरो मुटुभरि छन् श्रीमान्, म यहाँ फुकाउन चाहन्नँ । हरेक रात मेरी आमाको आत्माले गर्ने पुकार पूरा गर्न म बाँचेँ र आज त्यो पूरा भएको छ । मैले मेरो बाबुको हत्या त्यसरी नै गरेँ श्रीमान् जसरी उसले मेरी आमाको हत्या गरेको थियो । अब म अरु केही चाहन्नँ श्रीमान् । मलाई आफ्नै बाबुको हत्याका लागि मृत्युदण्ड दिइयोस् वा आजीवन कैदको सजाय मलाई त्यसको कुनै रुचि छैन र पर्वाह पनि । तपाइँहरुको नजरमा म आफूले गरेको अपराधको गर्वबोध गर्दै सजाय सहन एकदमै प्रतीक्षारत छु ।’

म रोकिन्छु, नयनाश्रु पनि थामिन्छन् । परिसरमा सघन सन्नाटा छाउँछ । वकिल महोदयहरु ट्वाल्ल मेरो मुखमा हेरिरहन्छन्, मानौँ म एकदमै विचित्रको अपराधी हुँ । एकछिनपछि दुई जना प्रहरी आएर मलाई हत्कडी लगाउँछन् र कठघराबाट तल झार्छन्, म आनन्दको महसूस गर्छु । न्यायाधीश नामको प्राणी फैसलमा केही लेखिरहेको हुन्छ, म त्यसको पर्वाह गर्दिनँ । बाहिर निक्लनै लाग्दा सम्पूर्ण परिसरको सन्नाटालाई चिर्दै मलाई चिच्याउन मन लाग्छ – ‘आमा ! मैले तिम्रो आत्मालाई न्याय दिएको छु, मलाई तिम्रो निर्दयी हत्याराको हत्यामा महान् गर्वबोध छ ।’ भवनको भित्री परिसरमा मेरो सुकिलो आवाज एकछिनसम्म प्रतिध्वनित भइरहन्छ । भीडमा कतैकतै सुँक्क–सुँक्क सुन्छु । बाहिर निस्कँदा चिसो हावा चलिरहेको हुन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …