तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

कोठामा गीत बजाएर बसेको थिएँ, स्वास्नी स्वाट्ट कोठाभित्र छिरी र बम्किन थाली– भान्छामा अहिलेलाई पकाएर खाने केही छैन भनेको सुनेनौ ? जवाफमा म फिस्स हाँसिदिएँ मात्र, केही बोलिनँ । रणचण्डी बनेर आएकी श्रीमतीसँग बोल्नुको अर्थ अरु दुर्वाच्य सहनु थियो, मैले बुद्धि पु¥याएँ । ऊ एकछिन फतफताएपछि फनक्क फर्केर गई । म कमजोर लोग्ने गीतमै भुलिरहेँ, हराइरहेँ । अरु केही गर्न नसक्ने मान्छेले गर्ने काम नै सहने हो भन्ने गतिलो पाठ सिकाएको छ जीवनले । हरेक दुई–दुई दिनमा म यही सुनिरहन्छु–भान्छामा केही छैन । अब त कानहरु पनि अभ्यस्त भएछन् क्यारे, केसैमा पनि आश्चर्य लाग्दैन । म जस्ताका लागि जीवनको अर्को  नाम नै अभाव हो कि जस्तो लाग्न थालेको छ अनि अभाव सबै बेखुसीहरु र झगडाको जनक । सानो जागिरको सानो कमाइ आफूलाई पकेट खर्च पनि नराखी त्यही भान्छाका लागि जोहो गर्न स्वास्नीलाई हरेक महिना टकारेकै छु । मेरो कमाइले बाँच्ने आवश्यकता त पूरा हुन्थ्यो होला तर श्रीमतीजीका इच्छाहरु पूरा हुँदैनन् भन्ने मलाई थाहा छ र त्यसका लागि म गर्न पनि केही सक्तिनँ । तलब थापेर उसको हातमा हालिदिएको दिन पनि ऊ खासै खुसी देखिन्न, नाक चेप्य्राएर समात्छे र मतिर तिखा आँखाहरु हुत्याउँछे । म कारण बुझ्छु । थाहा छैन, स्वास्नीको ओठको महँगो हाँसो किन्न कति पैसा चाहिने हो र त्यसका लागि के–के गर्नुपर्ने हो । घरिघरि मन त्यसै भरिएर आउँछ ।

ऊ समाजका तथाकथित सम्पन्नहरुको नाम जपिरहन्छे  बारबार र मलाई गिज्याइरहन्छे । बुझ्छु– स्वास्नीले चाहेजसरी पैसा कमाउन नसक्ने मान्छे, महँगो शहरमा महल ठडाउन नसक्ने मान्छे, थरीथरीका भड्किला पहिरन र श्रृंगार–साधनले सुसज्जित बनाइदिन नसक्ने मान्छे नेपाली समाजको नामर्द लोग्ने हो । म त्यसैमा दरिएको छ उसको आँखामा । दरबारी महल छैन सही तर सडकको बास गराएको छैन; सुस्वादिष्ट भोजन छैन सही तर मैले खाएर उसलाई भोको पनि त राखेको छैन; दिनहुँ फेर्ने भड्किला कपडा नहोलान् सही तर नाङ्गै पनि त हिँडाएको छैन । उसकै विलासी इच्छा पूर्ति गर्न स्वर्गका लागि मेरी महान् आमाले यस धराधामलाई छाड्दै गर्दा दिएको वात्सल्यको चिनो पनि अस्ति बेचिदिएको छु रुँदै तर उसलाई त्यो पनि थाहा छैन । पैसा–प्रेममा परेकाहरु पति–प्रेमलाई त्यसैको तुलोमा जोखेर मूल्यहीन बनाइदिन्छन् । उसका लागि धर्म पैसा हो, मन्दिर पैसा हो, तीर्थव्रत सब भनेको पनि पैसै हो । म उसले चाहेजसरी जुटाउन सक्तिनँ अनि नामर्द को विशेषणले सज्जित÷लज्जित भएर निरीहता बाँच्छु थाकेर । 

आजकल आँखामा आदर्श पत्नी र सुखी परिवारका सपनाहरु फुल्न छाडेका छन् । घरिघरि ग्लानिबोध हुन्छ–युगसुहाउँदो बाँच्न नसक्नु मेरो कत्रो ठूलो कमजोरी । घरिघरि त आफ्नै मन पनि अन्तर्संवादमा जेलिन्छ– एक्काईसौं शताव्दीको लोग्ने भएर पनि एउटी स्वास्नीका रहरहरु पूरा गर्ने आर्थिक जोहो गर्न नसक्ने नामर्द नै त हो । एक क्षण थिल्थिलिन्छु, आँखाभरि पिल्पिलिन्छु  । फेरि स्वाभिमान जागेर भन्छ– माफ गरेस्, म सक्तिनँ । स्वास्नी चाहन्छे– पल्लाघरे साहिँलाको जस्तै ( हिजोको साहिँलो आजको सुबोधबाबु भएको छ ।) जागिर खाएको दुई वर्षमै महल ठडियोस्, गाडी किनियोस् , साहिँलीको जस्तै उसको भौतिक देह पनि पहेँलपुर होस् गहनाले । पटक–पटक वचन वाण सहिरहन्छु– तिमीले जागिर खाएको त एक दशक भइसक्यो, के नेप¥यौ ?  जवाफमा उही फिस्स हाँसोबाहेक अरु केही हुन्न मसँग । मेरो सामथ्र्यलाई निर्लज्ज गिजाएर मागेका गहनाले धपक्क बल्छे ऊ कहिलेकाहीँ र कहाँ जान्छे म थाहै पाउन्नँ । फर्केर आएपछि पनि तिरष्कारको निर्मोही वाणले घाइते हुन्छु तर सहन्छु । घाउ भने दुखिनैरहन्छ । 

सबैको जीवन उस्तै हुँदैन, सबैको मन उस्तै हुँदैन । यस धर्तीमा अनेक मान्छेका अनेक जीवनहरु छन्, अनेक मनहरु छन् अनि मनअनुसारका अनेक चरित्रहरु पनि छन् । सत्य हो–पल्लाघरे साहिँलाले जागिर खाएको दुई वर्षमात्र भएको छ । यो पनि सत्य हो –उसको र मेरो जागिरको स्तर पनि एउटै हो । यो पनि सत्य हो– आफ्नो जागिरे जीवनको दुई वर्षमै उसले महल ठडाएको छ, गाडी किनेको छ , गाडी किनेको मात्रै होइन, पटक–पटक फेरेको पनि छ, घरमा नोकर–चाकर राखेको छ, स्वास्नीलाई स्वर्णाभूषणहरुले पहेँलपुर बनाइदिएको छ । ऊ पैसाको रवाफिलो हिँडाइ हिँड्छ । उसकी स्वास्नी दिनभरि मोबाइलमा झुल्छे । उसलाई पकाउनु पर्दैन, ज्ुठा भाँडा मस्काउनु पर्दैन, पोछा लगाउनु पर्दैन तर मेरो यथार्थ बेग्लै छ –म आफ्ना कपडा आफैँ धुन्छु, आफ्ना भाँडा आफै माझ्छु , पोछा आफैं लगाउँछु अनि लुरुलुरु हिँडेर समयमै अफिस पुग्छु र हिँडेरै  बास फर्किन्छु । समाज पैसा देख्छ, पैसाको प्रतिष्ठा देख्छ तर त्यसको पछाडिको करतुत देख्तैन । समाज सरलताको स्वाभिमान देख्तैन, स्वाभिमानको सरलता पनि देख्तैन, रवाफको अभिमान देख्छ र शिर निहु¥याउँछ । हाम्रा बाहिर हेर्ने आँखामात्र छन्, हामी भित्र नियाल्न चाहँदैनौं । नैतिकता, इमान, स्वाभिमान, आदर्श सबैलाई बन्धक राखेर किनेको धनको प्रतिष्ठालाई पुज्ने यो समाजमा विचरी मेरी स्वास्नीको पो के दोष ? 

यतिबेला फेरि भान्छाबाटै पड्केको सुन्छ र झस्कन्छु – अझै झरेनौ ? आज तिम्रो चूल्होमा ढुंगो पकाइदिऊँ ? समयसँगै जीवन चिप्लिरहन्छ । गोजी छामछुम गर्छु, हातमा  रु सयको सिंगै नोट थामिन्छ । मनमनै हिसाब गर्छु– आधा किलो आलु, एक मुठो धनियाँ, आधा किलो चामल र यस्तै–यस्तै । एक्काईसौँ शताव्दीको म नामर्द लोग्ने केही नबोली सुटुक्क झर्छु र तन्किन्छु बजारतिर । हार्नुको अर्को नाम सायद जीवन । 

नवीन आहत… 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …