तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

राजिन पनेरू (उपप्राध्यापक, त्रि.वि.पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ)

गाउँघरमा सिलोक वाचन गर्दा खुब आनन्द आउँथ्यो । पछि विद्यालय तहमा नेपाली विषयमा छन्दोबद्ध कविताका श्लोक भाका हाली–हाली गाउने अभ्यास गर्न थालेँ । कसैले तेरो स्वर क्या दामी भनिदिए सक्किगो । ‘ताराबाजी’बाट सुरु भएको काव्यमोह आफैले कविता कोर्न थालेपछि झनै प्रगाढ बन्यो । छन्दमा कविता लेख्नु र यति, गति मिलाएर वाचन गर्नु, यी दुवै कला हुनु भनेको सुनमा सुगन्ध हुनु हो । माधव घिमिरेका छन्दोबद्ध कविताले आकर्षित भएको मेरो काव्यवृत्ति माधव वियोगीको छन्द प्रशिक्षणमा पुगेपछि थप गतिशील बन्न पुग्यो । माधव वियोगी जसले मलाई जनप्रिय बहुुमुखी क्याम्पसमा नेपाली विषय पढाउनुभयो । उहाँसँग मैले नेपाली विषय मात्र पढिनँ, छन्दका बारेमा थुप्रै कुरा सिक्ने काम पनि गरेँ ।

वियोगी गुरुबाट प्राप्त छन्दज्ञानका कारण आज शास्त्रीय छन्दका गणसङ्केतसँग थोरै भए पनि परिचित छु जस्तो लाग्छ । घिमिरे थर भएकै कारण कविवर माधव घिमिरेसँग नाम–थर जुधाउन उचित नलागेपछि गुरु घिमिरेले आफूलाई वियोगी बनाएको सन्दर्भ मैले उहाँकै आवाजबाट सुनेको छु । वियोगी गुरुका काव्य मान्यताका बारेमा मलाई चर्चा गर्नु छैन तथापि उहाँबाट सिकेको छन्द ज्ञान र उहाँको छन्दप्रतिको अगाध स्नेह आज चारैतर्फ गुञ्जिएको छ । उसो त पिङ्गल ऋषिबाट सुरु भएको छन्दलाई वेदका छ अङ्गमध्ये पाद अर्थात् पाउका रूपमा हेरिन्छ ।

छन्दको अर्थ हो–लय, चाल, गति आदि । पद्य कवितामा यसलाई खास अर्थमा हेरिन्छ । छन्दका कारण कवितामा निश्चित लय उत्पन्न हुने हुँदा यसलाई लयको सारथीका रूपमा हेर्ने गरिन्छ । कवितामा छ्रन्द अनिवार्य शर्त हो भन्दै छन्द बचाऊँ अभियानमार्फत् आफूलाई काव्यआन्दोलनका क्षेत्रमा स्थापित गराउन मात्र होइन वैशाख ८ गतेलाई छन्द दिवसका रूपमा मान्यता दिलाउनसमेत वियोगी सक्रिय रहनुभयो ।

उसो त छन्द वियोगीको मात्र होइन हजारौँ, लाखौँ काव्यप्रेमीको पनि प्रिय सारथी हो । २०५३ साल वैशाख ८ गतेबाट शुरू भएको छन्द बचाउने अभियान आज सबैका निम्ति काव्यआन्दोलनको ऐतिहासिक दस्ताबेज बनेर देखा परेको छ । यो वियोगी र उहाँको अभियानको खास प्राप्ति हो । यद्यपि यस अभियानको समर्थन र विरोधमा आवाज उठेका छन् नै । कतिपय सन्दर्भमा छन्दबाहेकका कविता, कविता नै होइन भन्ने र गद्यबाहेक अरू कविता नै होइन भन्ने बीचको दोहोरी आफैमा सङ्कुचित सोचबाहेक केही होइन भन्ने लाग्छ । रिमाल, भूपिका कविता पनि कविता हुन् र लेखनाथ, घिमिरेका पनि । यो विवादको विषय होइन ।

छन्दको नियममा बाँधिएर कविता लेख्नु वा स्वतन्त्र भएर लेख्नु कविको लेखन स्वतन्त्रताको विषय हो । तथापि शास्त्रीय नियममा बाँधिएर उचित गति, यतिका साथ युगजीवनलाई सम्बोधन गर्ने विषयवस्तुमाथि रचना गर्नु पनि चानेचुने काम पक्कै होइन । हिजोआज कतिपय कवि हुँ भन्नेहरू जबरजस्ती यति, गति मिलाउन अथवा मात्रा मिलाएर छन्दोबद्ध कविता सिर्जना गर्न लागिरहेका छन् । उनीहरूले यो बुझ्न जरुरी छ– शब्द थुपारेर वा जबरजस्ती मात्रा मिलाएर कविता लेखिँदैन वा कवि भइँदैन । छ्न्दको मर्मलाई स्पर्श गर्नु र विषय र भावसँग पनि परिचित हुनु जरुरी छ ।

अन्त्यमा, माधव वियोगीको प्रयासले बामे सरेको छन्द बचाउने अभियान हिजोआज किशोर वयमा दौडिरहेको छ । यसले कुनै पनि वादविवादमा सहभागी नबनी युगस्पर्श गर्न सक्ने र सबैको मन–मस्तिष्कमा बस्न सक्ने वातावरण सिर्जना गरोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …