तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं : कोभिड १९ नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको अवधिमा करिब १४ हजार विदेशी नागरिक नेपालबाट बाहिरिएका छन्। विभिन्न प्रयोजनका लागि नेपाल भित्रिएकामध्ये १४ हजार फर्किएका हुन्।

लकडाउनका कारण हवाई सेवा बन्द भएपछि नेपालबाट यो संख्यामा विदेशी नागरिक आफ्नो मुलुक फर्केका छन्। अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीकाअनुसार उनीहरूलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी आफ्नो मुलुक फर्काएको हो। लकडाउन यथावतै रहेको अवस्थामा व्यावसायिक उडान अझै सुरु हुन नसक्दा थप करिब १० हजार विदेशी नेपालमै अलपत्र छन्।

यसबाहेक नेपाल भ्रमण वर्षको क्रममा नेपाल घुम्न आएका करिब १३ हजार पर्यटकमध्ये हालसम्म करिब १० हजार सम्बन्धित मुलुकमा फर्केको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताए। अझै करिब १ हजार देखि १५ सय पर्यटक नेपालमा रहेको अनुमान बोर्डको छ।

नेपालमा रहेका पर्यटकमध्ये कतिपय स्वेच्छाले नेपालमै बसेका छन्। कतिपय बाध्यताले बसेको रेग्मीले बताए। ‘सम्बन्धित मुलुकले समन्वय नगर्दा पनि उनीहरू फर्कन पाएका छैनन्, कतिपय भने आर्थिक अभावका कारण पनि यता छन्, व्यावसायिक उडान सुरु भएपछि उनीहरू फर्कने सम्भावना छ’, रेग्मीले भने।

नेपालमा रहेका पर्यटक कहाँ कति संख्यामा छन्, त्यसको यकिन तथ्यांक तत्काल आउन नसक्ने रेग्मीको भनाइ छ। काठमाडौं र पोखरामा बढी पर्यटक रहेको अनुमान बोर्डको छ। अप्ठ्यारोमा परेका पर्यटकले जानकारी गराए खाना र बस्ने व्यवस्था बोर्डले गर्ने गरी सूचना जारी गरेको रेग्मीले जानकारी दिए।

गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण नेपालमा अलपत्र परेका पर्यटक र विभिन्न कामको लागि नेपाल आएका विदेशी नागरिकको हकमा जरिवाना शुल्क नलाग्ने व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ। पर्यटकको रूपमा नेपाल आएका तर, लकडाउनका बीच भिसाको म्याद सकिनेको हकमा जरिवाना वापतको कुनै पनि शुल्क तिर्नु नपर्ने विभागका महानिर्देशक केसीले भने।

अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र त्यस्ता पर्यटक आफ्नो मुलुक फर्किसक्नुपर्ने व्यवस्था गरिएको छ। यही असार १३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको छ। पर्यटकबाहेक गैरपर्यटकको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ।

लकडाउन सुरु भएदेखि बन्द भएको अध्यागमन विभाग यही असार १ गतेदेखि पुनः सञ्चालनमा आएको छ। नेपालमा रहेका विदेशी नागरिक र पर्यटकको हकमा सामाजिक दुरी कायम गरी भिसाको म्याद थप्ने प्रक्रिया सुरु गरिएको केसीको भनाइ छ। असारको पहिलो सातासम्म करिब १ हजारको संख्यामा विदेशी नागरिकले भिसाको म्याद थप गराएका छ। यसबाट विभागले ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

यसमध्ये लकडाउनअघि नै भिसाको म्याद सकिएका ३ जना पर्यटक र बाँकी ७ सय जना गैरपर्यटकले भिसाको म्याद थप र भिसा परिवर्तनजस्ता काम गराएका छन् अन्नपूर्ण पोस्टमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …