तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मन्त्रीको करिब ३० प्रतिशत सेयर रहेको सैपाल ग्यास सञ्चालन स्वीकृति पाएको तीन महिनामै बिक्री 

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास प्रालि बिक्री भएको छ । आयल निगमबाट करिब ३ महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको सैपाल ग्यास बिक्री गरिएको हो ।

मन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट अध्यक्ष रहेको प्रालिमा गोपालबहादुर शाही, मानबहादुर शाही, दिनेश साह र सिद्धराज ओझा सञ्चालक छन् । उक्त ग्यास कम्पनी एभरेस्ट ग्रुपले किनेको हो ।

१८ करोड रुपैयाँमा सैपाल ग्यास किनिएको ग्रुपका सञ्चालक शिवप्रसाद घिमिरेले जानकारी दिए । ‘मन्त्रीज्यू सिधै सञ्चालक होइन । उहाँको म्याडम ग्यासको अध्यक्षसहित ५ जना सञ्चालक हुनुहुन्छ,’ एलपी ग्यास उद्योग संघका निर्वमान अध्यक्ष रहेका घिमिरेले भने, ‘एनसीसी बैंकमा सैपालको करिब ९ करोड ऋण थियो । मार्केटमा सहित करिब १२ करोड थियो । उद्योग १८ करोड रुपैयाँमा बिक्री गर्ने डिल भयो ।’

आयल निगम स्रोतका अनुसार सैपाल ग्यासमा मन्त्रीको करिब ३० प्रतिशत सेयर छ । उद्योग सन्चालनको क्रममा लागत नै बढी भएपछि करिब ३ महिना अघिदेखि नै बिक्री गर्ने मनस्थिति बनाएको थियो । गत शुक्रबार बिक्री नै गरेको हो ।

‘प्रोजेक्ट लागत बढी थियो । ग्यास उद्योग करिब १२ करोड रुपैयाँमा खोल्न सकिन्छ । तर लगानी करिब १६ करोड पुग्यो,’ निगमका ती अधिकारीले भने, ‘व्यापार गर्न सजिलो छैन । ऋण बढी भएपछि बाध्य भएर बिक्री गरेको देखिन्छ ।’ निगमका अनुसार सुरुवाती चरणमा उद्योगलाई महिनामा १० हजार टनको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) दिइएको छ । त्यसपछि मागअनुसार उपलब्ध हुने जनाइएको छ । ग्यास उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता भएपछि निगमले पनि निरीक्षण गर्छ । सम्पूर्ण मापदण्ड पूरा गरेपछि निगमले सञ्लालन गर्न स्वीकृति दिन्छ । ‘करिब ३ महिनाअघि पीडीओ दिएका थियौं,’ निगमका ग्यास विभाग प्रमुख दिपक बरालले भने ।

सैपाल ग्यासको प्लान्ट कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा छ । २ बिघा ३ कट्टामा रहेको उद्योग चार वर्षअघि निर्माण भएको हो । ग्यास आपूर्तिका लागि करिब ३ महिनाअघि उद्योगले स्वीकृति पाएको हो । ‘स्वीकृति पाए पनि सञ्चालनमा आइसकेको थिएन । ग्यास उद्योग चलाउन प्रस्ताव आयो,’ घिमिरेले भने, ‘सुदूरपश्चिममा सैपालसहित २ वटा मात्रै ग्यास प्लान्ट छन् । सम्भावना देखेर खरिद गर्‍यौं ।’ प्लान्ट परीक्षणको काम सकिएकाले एक दुई साताभित्रै ग्यास बजारमा ल्याइने उनले बताए । घिमिरेले सैपालभन्दा ६ किलोमिटर टाढा कामख्या ग्यासको संरचना बनाइरहेका थिए । सैपाल ग्यासबाट प्रस्ताव आएपछि लगानी गरेको जनाएको छ ।

निगम स्रोतका अनुसार एभरेस्ट ग्रुप सुदूरपश्चिम जाने भनेपछि सैपालका सन्चालकहरु पछि हटेका हुन् । प्रतिप्रस्पर्धा गर्न नसक्ने डरले बिक्री भएको ती अधिकारीको भनाइ छ । निगमका अनुसार एउटा ग्यास कम्पनीले वार्षिक ३/४ करोड रुपैयाँभन्दा बढी कमाई गर्दैन । मासिक करिब २ लाख सिलिन्डर बिक्री हुन्छ । एउटा सिलिन्डरमा करिब २० रुपैयाँ नाफा हुन्छ । ‘कर्मचारीको तलब, बैकको ब्याज, प्रशासनिक खर्च सबै जोड्दा नयाँ उद्योगलाई ग्राहै छ,’ ती अधिकारीले भने ।’

सैपाल खरिदपश्चात एभरेस्ट ग्रुपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्व प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेस्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग छ । बरालका अनुसार हाल मुलुकभर करिब ६० ग्यास उद्योग छन् ।

२०७४ यता नयाँ उद्योगका लागि सञ्चालन अनुमति बन्द गरिएको छ । सैपालले उद्योग विभागमा २०७३ मा स्वीकृत लिएको बरालले बताए ।कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …