तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् ।

देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको निर्णयप्रति असन्तुष्ट छन् । उनीहरू कुनै हालतमा केन्द्रले थोपर्ने तालमेलको निर्णयविरुद्ध उत्रने तयारीमा छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो । वीरगन्ज महानगरमा जसपा, पोखरा र काठमाडौंमा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटक भरतपुर महानगरपालिकामा कांग्रेस कुनै हालतमा अरू दलसँग तालमेल गरेर महानगरको प्रमुख पद छाड्ने पक्षमा छैन । भरतपुर महानगरमा शनिबार केही क्रियाशील सदस्य तथा साधारण सदस्यहरूले तालमेलविरुद्धमा पार्टी परित्याग गर्नेसम्मको घोषणा नै गरिसकेका छन् ।

यसैगरी वीरगन्ज महानगरपालिकामा पनि कांग्रेस प्रमुख पद छाडेर अरू दलसँग तालमेल गर्ने पक्षमा छैन भने काठमाडौं महानगर कांग्रेससमेत ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका नेतृत्व छाडेर अन्य दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैन । यस्तै, पोखरा र विराटनगर महानगरमा पनि कांग्रेस स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा छ ।

कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सचिव सुसन वैद्यले काठमाडौं महानगर कांग्रेस कुनै दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौं महानगरमा कांग्रेस चुनावी तालमेलको पक्षमा छैन, महानगर कार्यसमितिको बैठकमा कार्यसमितिका सबैको राय एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ भन्ने आएको छ, हामी त्यहीअनुसार अघि बढ्छौं,’ काठमाडौं महानगर कांग्रेसका सचिव वैद्यले राजधानीसँग भने ।

कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति राजेश्वर खनालले भरतपुरमा कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने बताए ।

‘भरतपुरमा कांग्रेसले कुनै दलसँग तालमेल गर्दैन, हाम्रो निर्णय यही हो, भरतपुर महानगरका सबै वडाबाट कांग्रेस एक्लै चुनावमा उत्रने निर्णय भइसकेको छ, महानगर कार्यसमितिको निर्णय पनि त्यही हो,’ भरतपुर महानगर कांग्रेसका सभापति खनालले भने ।

कांग्रेस पोखरा महानगरका नेता गंगाधर पराजुलीले पोखरा महानगरपालिकामा पनि कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने निर्णय गरेको जानकारी दिए ।

ललितपुर र विराटनगर महानगरपालिकामा यसअघि नै जित हात पारेको कांग्रेसले तालमेल हुँदासमेत ती महानगरमा नेतृत्व छाड्ने पक्षमा छैन । विराटनगर महानगर कार्यसमितिले कुनै पनि पदमा अन्य दललाई भाग नदिने निर्णय नै गरिसकेको छ ।

वीरगन्ज महानगरपालिकामा यसअघि जसपाले प्रमुख पदमा जित हात पारेको भए पनि यसपटक कांग्रेस र जसपाबीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । पर्सा कांग्रेसले शनिबार वीरगन्ज महानगरमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय नै गरिसकेको छ ।

गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनका शीर्ष नेताहरूले भने साझेदार दलले जितेका पालिका उनीहरूले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने गरी सैद्धान्तिक सहमति गरिसकेका छन् । त्यहीअनुसार ६ महानगरमा भागबन्डा गर्दा ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा)ले पाउने तय छ । एमालेले जितेका काठमाडौं र पोखरामा भने भागबन्डा हुनेछ ।

काठमाडौंमा कांग्रेसले छाड्ने सम्भावना कम छ । सकेसम्म पोखरामा पनि प्रमुख आफैं राखेर उपप्रमुखसम्ममा गठबन्धन साझेदारलाई ल्याउने कांग्रेसको तयारी छ ।

कुन महानगरमा को बलियो ?

काठमाडौं महानगर

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका एमालेले जित हात पारेको थियो । त्यसबखत काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

यसैगरी, मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४ सय ३९ मत र साझाका किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।

यस्तै, कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । उनलाई एमालेको साथ थियो । माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४ सय ४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४ सय ९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन् ।

ललितपुर महानगर

ललितपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । त्यसबखत निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए । महर्जन र व्यन्जनकारबीच मतान्तर ३ सय २६ मात्र थियो ।

यसैगरी, माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए । ललितपुरमा कांग्रेसलाई गठबन्धनले सहयोग गर्दा एमालेका लागि कठिन देखिन्छ ।

विराटनगर महानगर

विराटनगर महानगरपालिको मेयरमा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए ।

सो महानगरमा उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो । यस्तै, माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । फोरमबाट मेयरको उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए ।

वीरगन्ज महानगर

वीरगन्ज महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदै विजयी बनेका थिए । त्यसबखत उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १ सय ९७ मत ल्याएका थिए ।

यसैगरी, सो महानगरमा उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५ सय ३० मत ल्याएर पराजीत बनेकी थिइन् ।

यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १ सय ६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६ सय ६३ मत ल्याएकी थिइन् ।

२०७४ मा वीरगन्जको मेयर बनेका सरावगी हाल नेकपा एमालेमा गइसकेका छन् । यस्तै, तेस्रो स्थानमा रहेका सिंह जसपामा छन् । त्यसबखत जसपासँगको मतान्तर कम भएकाले कांग्रेस यसपटक वीरगन्ज महानगरको नेतृत्व छाड्ने पक्षमा छैन । गत निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १ सय ९६ मात्रै थियो ।

भरतपुर महानगर

भरतपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १ सय २७ मत ल्याएर विजयी बनेकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् ।

यसअघि भरतपुरमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका बद्रीनाथ तिमल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २ सय ५२ मत ल्याएकी थिइन् । हाल राप्रपा विभाजित छ ।

पोखरा महानगर

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए ।

यसैगरी, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् । माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो । ढकाल उपमेयरमा ८ हजार ७ सय ९६ मत ल्याएर तेस्रो भएकी थिइन् । माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा पोखरा महानगरमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७ सय २ थियो । हाल भने एमाले विभाजन भएकाले त्यसको असर स्थानीय निर्वाचनमा पर्ने आँकलन कांग्रेसको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …