तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनमा दल

पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ । एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतीअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन् ।

यसैगरी, एमाले र परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भइसकेको दाबी गरिएको छ ।

सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमा असन्तुष्टि बढेको छ । यी सत्तारूढ दलले गरेको तालमेलको निर्णयका विषयमा जिल्लामा रहेका पार्टी संयन्त्रले फरक मत राख्दै आइरहेका छन् ।

कांग्रेस चितवन र कांग्रेस पर्साले केन्द्रीय तहबाट गरिएको गठबन्धनको निर्णय नमान्ने भन्दै विद्रोहको चेतावनी नै दिइसकेका छन् । भरतपुर महानगरपालिकाका कांग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै हालतमा तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेका छन् ।

यसैगरी पर्सा कांग्रेसले जिल्लाका १४ वटै पालिकामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति जनार्दनसिंह क्षत्रीले जानकारी दिए । सत्ता गठबन्धनमा रहेका दलका केन्द्रले भने केन्द्रदेखि प्रदेश र जिल्ला तथा पालिका तहमा संयन्त्र बनाएर तालमेलको मोडालिटी तय गर्न मातहतका निकायलाई निर्देशन नै गरिसकेका छन् ।

साना दल तान्ने होडबाजीमा सत्ता र प्रतिपक्ष

गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने निर्णय गर्दै अन्य तहमा उम्मेदवार गठबन्धनको संयन्त्रमार्फत तय गरेर केन्द्रमा सिफारिस गर्न भन्दै गत मंगलबार निर्देशन गरेका हुन् । सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भइसकेको छ ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

स्रोतका अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिनेगरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिनेगरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको छ ।

‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आह्वान गर्दर्छौं,’ पाँच दलद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने शक्ति परिवर्तनविरुद्ध अझै पनि षडयन्त्र गरिरहेकाले सचेत हुन जरुरी रहेको भनिएको छ ।

‘देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्ट्याउने दुष्प्रयास हो,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

सत्तागठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनेका हुन् ।

यस्तै, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यको सिट बाँडफाँट जिल्ला संयन्त्रले गरी ३ वैशाखभित्र टुंगो लगाउन भनिएको छ । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई÷दुई जना प्रतिनिधि रहनेगरी केन्द्रीय तहबाट निर्णय गरिएको छ । प्रत्येक तहको संयन्त्रमा निर्णय लिन सम्बन्धित पार्टीले आआफ्नो आवश्यकताअनुसार प्रतिनिधि राख्न भनिएको छ भने सबै तहको बैठकको संयोजन कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने सहमति गठबन्धनको शीर्ष तहमा भएको छ ।

यसअघि भने जिल्लाको अवस्थाको रिपोर्ट केन्द्रमा पठाउन गठबन्धन आबद्ध पाँच दलले चैत मसान्तसम्मको समय तोकेका थिए भने त्यसअघि २६ चैतसम्मको समय तोकिएको थियो ।

तालमेलले लोकतन्त्र कमजोर : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलको संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले दलबीच हुने चुनावी तालमेलले मुलकलाई हित नगर्ने बताएका हुन् ।

‘दलहरूबीच हुने चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन, यो मेरो आफ्नो मत हो,’ कांग्रेस महामन्त्री थापाले भने ।

उनले सत्ता गठबन्धनले स्थानीय संयन्त्रलाई गरेको तालमेलको सर्कुलरप्रतिको बुझाइ पनि लगत भएको बताए । थापाले स्थानीयस्तरमा आवश्यकता भए मात्रै गठबन्धनबीच तालमेल गर्न भनिएको भन्दै तल्ला तहमा आवश्यकता महसुस नभए माथिबाट निर्णय नलादिने स्पष्ट पारे ।

‘तालमेलका विषयमा गरिएको निर्णय र सर्कुलरका विषयमा बाहिर गलत बुझाइ पनि गएको छ, स्थानीय तहमा आवश्यकता महसुस भए तालमेल गर्ने भनेर स्थानीय आवश्यकताअनुसार भनिएको हो, स्थानीय तहबाट आवश्यकता भएन भनेमाथिबाट थोपरेर हुँदैन,’ थापाले अघि भने ।

उनले पार्टीले गरेको निर्णय भने आफूले मान्ने बताए । ‘पार्टीको निर्णय मानेको छु, मान्नुपर्छ तर यो विषयमा बहस गर्नैपर्छ,’ थापाले सम्बोधनका क्रममा भने ।

महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौंभन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने भन्दै स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने बताए ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …