तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ ।

तेस्रो समूहका नेतालाई महत्वहीन जिम्मेवारी

यस्तै, एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

२५ र २६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम निर्धारण गरेको हो । बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठनका साथै प्रदेश कमिटीको पदाधिकारीसमेत चयन गरेको अध्यक्ष ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी–१)मा उल्लेख छ ।

अध्यक्ष ओलीले आफ्नो जिम्मेवारीअन्तर्गत पार्टीको समग्र नेतृत्व गर्ने राखेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ । पोखरेल ओलीभन्दा पनि राष्ट्रपति भण्डारीसँग निकट छन् ।

उपाध्यक्षहरू युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापा बादललाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

यसपटक पार्टीको जिम्मेवारीमा सबैभन्दा बढी उपाध्यक्षलाई खुम्च्याइएको छ । उनीहरूलाई पार्टीका विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी मात्रै दिइएको छ । नवौं महाधिवेशनपछि उपाध्यक्षले भूगोलको समेत इन्चार्जको जिम्मेवारी पाएका थिए ।

महासचिव शंकर पोखेरलले पार्टीको सांगठनिक कामको संयोजनको जिम्मेवारी पाएका छन् । पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । ज्ञवाली ओलीनिकट नेता हुन् । यस्तै, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले पाएका छन् ।

अर्का उपमहासचिव विष्णु रिमालले दुईवटा मुख्य जिम्मेवारी पाएका छन् । उनलाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको प्रमुख बनाइएको छ । रिमाल पनि राष्ट्रपति भण्डारीनिकट हुन् ।

पार्टी सचिव टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखको जिम्मेवारी पाएका छन् भने यससँग सम्बद्ध संगठनको उनी इन्चार्ज बनेका छन् । अर्का सचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पाएका छन् । रायमाझी र भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सचिवको वरियताक्रममा उनीहरू पहिलो र दोस्रो रहेका छन् ।

यस्तै, सचिव गोकर्ण विष्ट ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागको इन्चार्ज बनेका छन् । उनी यसअघि मोर्चा विभाग प्रमुख थिए । अर्का सचिव योगेश भट्टराई स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख बनेका छन् । यसअघि उनी प्रचारप्रसार विभाग प्रमुख थिए । सचिवको मर्यादाक्रममा विष्ट र भट्टराई क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

सचिव रघुवीर महासेठ प्रदेश २ को इन्चार्ज बनेका छन् भने अर्का सचिव छविलाल विश्वकर्माले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् । सचिव पद्मा अर्याल गण्डकी प्रदेश इन्चार्ज बनेकी छन् ।

पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको प्रमुख स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाएका छन् । अधिकारी राष्ट्रपति भण्डारीसँग पनि निकट मानिन्छन् । नवौं महाधिवेशपछि एमालेमा संगठन विभागको प्रमुखको जिम्मेवारीमा तत्कालीन उपमहासचिव विष्णु पौडेल रहेका थिए ।

स्थायी कमिटी सदस्य देवराज घिमिरेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी बाग्मती इन्चार्ज बनेका छन् । स्थायी कमिटी सदस्य यमलाल कँडेल कर्णाली इन्चार्ज बनेका छन् ।

महत्वपूर्ण मानिने परराष्ट्र मामिला विभागको प्रमुखमा राजन भट्टराईलाई दिइएको छ । स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे संसदीय विभागको प्रमुख भएकी छन् ।

जिम्मेवारी बाँडफाँटको आधार हेर्दा ओलीले आफूनिकट मानिएका उपाध्यक्षद्वय पौडेल र नेम्वाङलाईसमेत महत्वपूर्ण जिम्मेवारी नदिइएको चर्चा एमालेभित्र भइरहेको छ । १०औं महाधिवेशनमा पौडेलको दाबी महासचिवमा थियो भने नेम्वाङको दाबी वरिष्ठ उपाध्यक्षमा रहेको थियो । तर, ओलीले दुवैलाई उपाध्यक्षमा ल्याएर राष्ट्रपति भण्डारीनिकट मानिने नेता ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाएका थिए ।

पूर्वउपमहासचिव रहेका नेता घनश्याम भुसालले अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै, गुरुप्रसाद बराल शिक्षा विभाग प्रमुख, देवराज घिमिरे प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन् भने भीमप्रसाद आचार्य पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि प्रदेश १ को इन्चार्ज आचार्य रहेका थिए ।

किरण गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन विभागको प्रमुख, लालबाबु पण्डितले सम्पर्क समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । काशीनाथ अधिकारी बाग्मती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् भने कृष्णगोपाल श्रेष्ठले बाग्मती प्रदेशको सहइन्चार्जका साथै काठमाडौं जिल्लाको इन्चार्जको समेत जिम्मेवारी पाएका छन् । अधिकारी र श्रेष्ठ ओलीनिकट नेता हुन् ।

स्थायी कमिटी सदस्य रघुजी पन्त संस्कृति विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल जनसंगठन समन्वयको प्रमुख, मणिचन्द्र थापाले भूमि व्यवस्था विभागको प्रमुख, स्थायी कमिटीका सदस्य शेरधन राईले प्रदेश १को सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

स्थायी कमिटीका सदस्य यामलाल कँडेल कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का स्थायी कमिटीका सदस्य अग्निप्रसाद खरेलले झापा जिल्ला कमिटीको इन्चार्ज पाएका छन् । स्थायी कमिटीका सदस्य प्रभु साहले प्रदेश २ कमिटीको सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

स्थायी कमिटीका सदस्य सीता पौडेलले अखिल नेपाल महिला संघको इन्चार्जको जिम्मेवारी पाएकी छन् । स्थायी कमिटीका सदस्य डा. बिन्दा पाण्डेले श्रम तथा रोजगार विभागको प्रमुख, गोरखबहादुर बोगटी कर्णाली प्रदेश कमिटीको सहइन्चार्ज तथा हुम्ला जिल्लाको इन्चार्ज, कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज, राजेन्द्रप्रसाद गौतम प्रदेश १ को सहइन्चार्ज र संखुवासभा जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

थममाया थापाले अखिल नेपाल महिला संघको सहइन्चार्ज, शेरबहादुर तामाङले बाग्मती प्रदेशको सहइन्चार्ज तथा सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज, डा. शिवमाया तुम्बाहाम्फेले संसदीय विभागको प्रमुख र हिक्मतकुमार कार्कीले प्रदेश १ को सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

सचिवमा हेरफेर

नेकपा एमालेले सचिवहरूको वरीयताक्रम पनि सच्याइएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएपछि उनले सचिवहरूको वरीयताक्रम सच्याएका हुन् ।

विवादकै कारण केन्द्र्र्रीय कमिटीको निर्णयसमेत सार्वजनिक गर्न ढिलाई भइरहेकोमा एमाले त्यसलाई सच्याएर शुक्रबार सार्वजनिक गरेको छ । अध्यक्ष ओलीले जारी गरेको अपानी–१ मा सचिवको वरीयताक्रम सच्याएका हुन् ।

अपानी–१ अनुसार सचिद्वय गोकर्ण विष्ट र योगेश भट्टराई बढुवामा परेका छन् । यसअघि विष्ट र भट्टराईभन्दा अगाडि रहने गरी सचिवद्वय रघुवीर महासेठ र छविलाल विश्वकर्माको प्रस्ताव गर्दै बैठकले निर्णय गरेको थियो ।

नवौं महाधिवेशनमा सचिव भइसकेको र १०औं महाधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएका विष्ट र भट्टराईलाई भन्दा वरीयताक्रम निर्धारण गर्दा अध्यक्ष ओलीले महासेठलाई अघि राखेको भन्दै एमालेभित्रै चर्को आलोचना भएको थियो । महासेठ नवौं महाधिवेशनमा सचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका थिए ।

यस्तै, टोपबहादुर रायमाझी र लेखराज भट्ट भने सचिवको पहिलो र दोस्रो वरीयताक्रममै रहेका छन् । रायमाझी र भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन् । सच्याइएको वरीयताक्रममा क्रमशः रायमाझी र भट्टपछि तेस्रोमा विष्ट रहेका छन् भने चौथोमा भट्टराई छन् । त्यसैगरी, पाँचांै र छैठौंमा महासेठ र विश्वकर्मा रहेका छन् । सचिवको सातौं वरीयताक्रममा पद्मा अर्याल रहेकी छन् ।

सभामुखले राजीनामा दिनुपर्छ

यसैबीच एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

एमाले दोस्रो केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो माग गरेका हुन् ।

‘संसद् बैठकमा जारी अवरोध हटाउनका लागि सत्तापक्षले नै भूमिका खेल्नुपर्नेहुन्छ’ महासचिव पोखरेलले भने, ‘सभामुखले आफ्नो गल्ती सच्याउनुपर्छ वा राजीनामा दिनुपर्छ ।’

नेकपा समाजवादीका सांसदलाई एमालेले कारबाहीका लागि गरेको निर्णय सभामुखकै कारण कार्यान्वयन नभएको एमालेले जनाएको छ । सोही कारण एमालेले संसद् बैठक निरन्तर अवरोध गर्दै आएको छ ।

एमाले बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठनका साथै नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । यस्तै, प्रदेश कमिटीको पदाधिकारी चयनका साथै विधानअनुसार केन्द्रीय कमिटीमा सदस्य मनोनीत गरेको उनले बताए । एमाले पुस महिना सुरु भएसँगै देशव्यापी )रूपमा संगठन विस्तारमा केन्द्रित हुने पनि उनले बताए ।

रावल सल्लाहकार परिषद्को सदस्य

एमाले नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको महासचिव पोखरेलले जानकारी दिएका छन् । रावल १०औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको नीतिअनुसार नै सल्लाहकारको जिम्मेवारी प्राप्त गरेको बताएका हुन् । उनले भने, ‘केन्द्रीय कमिटीमा हुनुहुन्न । त्यसैले त्यहाँ जिम्मेवारी प्रदान भएन । हाम्रो नीतिले नै उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ ।’

थप जिम्मेवारीका लागि भने पार्टी अध्यक्षसँग परामर्श गर्नुपर्ने उनले बताए । उनले भने, ‘उहाँले चाहनुभयो भने अन्य जिम्मेवारीका लागि अध्यक्षसँग परामर्श गर्नुहुन्छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …