तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । चार वर्षपछि शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागिएको हो । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने उनले बताए । ‘अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मावि, निमावि र प्राविको एकै दिन विज्ञापन गर्न सकिएन,’ उनले भने, ‘२/४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना बनाएका छौं ।

मावि र निम्न माध्यमिक तहको विषयअनुसार प्रदेशगत रूपमा र प्राविको जिल्लागत रूपमा विज्ञापन गरिने आयोगले जनाएको छ । माध्यमिक तहमा १५ विषयका लागि दरखास्त आह्वान गरिँदै छ । सबैभन्दा बढी विज्ञान विषयको शिक्षकका लागि विज्ञापन गर्न लागिएको हो । निमावि तहमा २ हजार ५ सय ९६ र प्राविमा १३ हजार ८९ दरबन्दी रिक्त छ । यी पदका लागि विज्ञापन खोलिने आयोगले जनाएको छ । निमाविमा ११ वटा विषयका लागि विज्ञापन हुनेछ ।

आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । ‘यस पटकबाट सय पूर्णाङ्कको सामान्य परीक्षा पास गरे मात्र अर्को सय पूर्णाङ्कको विषयगत परीक्षामा सहभागी हुन पाइनेछ,’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने ।

२ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । सामान्य परीक्षाको प्राप्ताङ्कको ५० प्रतिशत अंक विषयगतमा जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यसमा सफल हुने मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । यसअघि धेरै अंक ल्याउनेलाई माग संख्याअनुसार अन्तर्वार्तामा सहभागी गराइन्थ्यो ।

आयोगले वार्षिक कार्ययोजना बनाएर मंसिरभित्र विज्ञापन आह्वान गर्ने कार्यतालिका बनाएको थियो । माध्यमिक तहको परीक्षा चैत १५ मा सुरु हुन्छ । आगामी असोज/ कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ । दरबन्दी मिलान सुझाव कार्यदलले दुई वर्षअघि नै सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

यसबाहेक पनि अनिवार्य र स्वैच्छिक अवकाशका कारण हरेक वर्ष शिक्षक दरबन्दी रिक्त हुने गर्छ । यसअघि २०७४/७५ मा विज्ञापन खुलेको थियो । त्यतिबेला करिब १२ हजार शिक्षक आयोगको परीक्षा पास गरेर स्थायी भएका थिए ।

खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिएलगत्तै १४ हजार २ सय ७० शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिएको थियो । ७ लाखभन्दा बढी विद्यार्थी स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएर बसेको तथ्याङ्क छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …