तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ । उहाँका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।

“जनगणनामा लिएका तथ्याङ्क सबै गोप्य रहन्छ”, विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो, “जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिनुपर्छ ।” यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरी जनगणनाको सबै तयारी पूरा भएकाले बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणना गर्ने विभागले जनाइएको छ ।

यस वर्षको जनगणनामा सबै गणक दस जोर दुई अध्ययन गरेका बेरोजगार युवालाई सहभागी गराइएको छ । यस अगाडि शिक्षकहरूले गणकको रूपमा कार्य गरे पनि यस वर्ष कतिपय शिक्षकलाई प्रशिक्षकको रूपमा सहभागी गराइएको श्रेष्ठले बताउनुभयो । यस वर्ष जनगणनाका लागि काठमाडौँ महानगरपालिका सहित काठमाडौँका छवटा स्थानीय तहमा प्रविधियुक्त (ट्याबलेट)को प्रयोग गरिएको विभागले जनाएको छ ।

लिपुलेक र लिम्पियाधुरामा जनगणना हुने
केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । यस अवधिमा उक्त कूूटनीतिक प्रयासबाट उक्त क्षेत्रमा जनगणना गर्नसकिने वातावरण बन्ने महानिर्देशक श्रेष्ठले अपेक्षा गर्नुभयो । सोही स्थानमा गणक जान नसके स्याटलाइटको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने उहाँले बताउनुभयो ।

तीन महिना लाग्ने
कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा भएका कुल जनसङ्ख्या, महिला र पुरुषको मात्र तथ्याङ्क निकाल्न न्यूनतम तीन महिना लाग्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो । जनगणनाको पूरै विवरण आउन छदेखि नौ महिना लाग्नेछ । गणकले भरेको फारम कम्प्युटरमा प्रविष्ट गरी सबै तथ्याङ्क निकाल्नुपर्ने भएकाले पूरै विवरण आउन समय लाग्ने भएको हो ।

यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूलप्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रका विवरण , बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।

घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको लामिछानेले बताउनुभयो ।

वडा अभिलेख बन्ने
यस वर्षको जनगणनाबाट ७५३ स्थानीय तहको छ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख बन्ने भएको छ । जगनणनाबाट वडाभित्र भएको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँुच वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाको विवरण आउनेछ ।

त्यस्तै खानीको अवस्था, वडामा राजस्व सङ्कलन हुने राजस्वका स्रोतहरू, वडाले प्रदान गर्ने सेवा सुविधाको अवस्था सहरी सेवा, सुविधामा वडावासीको पहुँचको अवस्था, वडाभित्रको भौतिक पूर्वाधारको अवस्था, सामाजिक र आर्थिक अवस्था विपत् जोखिमको अवस्थाको यथार्थ विवरण आउनेछ । उक्त विवरणको आधारमा सबै वडाको अभिलेख बन्ने महानिर्देशक श्रेष्ठले बताउनुभयो । नेपालमा हरेक १०÷१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …