तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो ।

सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज (प्रतिबन्ध) कायमै रहेको छ । राजनीतिक दल र यस्ता वस्तुको आयात–निर्यातमा संलग्न व्यवसायीहरूको दबाबमा राष्ट्र बैंकले आफ्नो निणर्य फिर्ता लिएको हो ।

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज कायमै

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिएका हुन् ।

राष्ट्र बैंकले गरेको यस्तो निर्णयका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो । राष्ट्र बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो ।

यसैगरी, सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आर्थिक वर्षका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भनेको थियो । त्यसैगरी, छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको थियो ।

राष्ट्र बैंकले निकासी पैठारी ऐन २०१३ अन्तर्गत समयसमयमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुको आयात खुला गर्ने निर्णय गरेको थियो । शुक्रबार गरेको त्यस्तो व्यवस्थाअनुसार केराउ, सुपारी, मरिच र छोकडामा परिमाणात्मक बन्देका आधारमा आयात खुला हुँदै थियो । जसअनुसार राष्ट्र बैंकको भन्सार उपशीर्षक ०७१३.१०.१० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आर्थिक वर्ष २०७७÷७८ अवधिका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

सोही व्यवस्थाअनुसार भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई आव २०७७÷७८ का लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने बताएको थियो । सोही व्यवस्थाअनुसार भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आव २०७७÷७८ को अवधिका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने व्यवस्था गरेको थियो ।

यसैगरी, भन्सार उपशीर्षक ०९०४.११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आर्थिक वर्ष २०७७÷७८ अवधिका लागि १५ हजार मेट्रिक टन परिणाम ननाघ्ने गरी विदेशबाट आयात गर्न सक्ने परिमाणात्मक बन्देज लगाइएकाले सोही व्यवस्थाअनुसार विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको सो निर्देशनमा उल्लेख थियो । तर, अहिले राजनीतिक र सम्बन्धित व्यवसायीको दबाबमा परेर आफ्नो निणर्यबाट पछि हटेको सरोकारवालाको भनाइ छ । उनीहरूले कोटा पाएका व्यवसायीको भुक्तानी भएपछि सुपारी, मरिच तथा केराउको आयात रोकेको बताएका छन् । जसका लागि शुक्रबारको दिन केराउ, मरिच तथा सुपारी र मरिचमा आयात गर्न राष्ट्र बैंकले डलर सटही गर्न परिपत्र जारी गरेको उनीहरूको दाबी छ ।

कोटा पाएका व्यवसायीलाई सहज बनाउन पहिला नै अर्डर गरिएको सामान आयात गर्न डलरमा भुक्तानी दिन खुला गरे पनि राष्ट्र बैंकले शनिबार नै अर्को परिपत्र जारी गरी सुपारी, मरिच तथा केराउ आयातका लागि डलर सटही सुविधा नदिन भनेको हो । सो निणर्यसँगै ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातसमेत रोकिएको छ । राष्ट्र बैंकले शुक्रबार गरेको निणर्यमा यस्तो कारोबारमा संलग्न व्यवसायीले स्वागत गर्नसमेत भ्याएका थिए । तर, अहिले सो निणर्य फिर्ता भएको छ ।

त्यसैगरी, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई पनि हटाएको जानकारी दिँदै राष्ट्र बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने निर्णय शुक्रबार गरेको थियो । सो निणर्यसँगै राष्ट्र बैंकले बीउविजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था पनि गरेको छ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …