तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लमजुङ ।  गाउँगाउँका घरैपिच्छे  रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् । 

दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताउनुभयो । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आउनुभयो । उहाँलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा सङ्घर्ष गरिएका ती दिन समय कथाजस्तै लाग्ने गरेको छ । 

उहाँका पालामा गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । पछिल्लो सयम ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथाजस्तै भएको हो । गाउँमा बिजुली बत्ती पनि आयो । साथै गाउँगाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो । पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन पुग्यो । युवापुस्ताले ढिंकीजाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उहाँको भनाइ छ  । तत्कालीन समयमा उहाँ मात्र होइन उहाँजस्तै वृद्धवृद्धाले समेत बिहान भाले बास्नेसाथ ढिंकी जाँतो गर्ने गर्दथ्यो । यसरी ढिकीजाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताइन्छ ।

 त्यस्तै बेँसीशहर नगरपालिका–२ नरुवालका ९३ वर्षीया लक्ष्मी रानाले भन्नुभयो, “हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र कोदो पिन्ने मेसिन आयो, अहिले केलाइ चाइयो र ढिकीजाँतो ।” बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा वनभाले, च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने संझिँदै आजकल त्यस्तो मौलिकता हराइसकेको उहाँको भनाइ छ ।” ढिकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुन्डिइरहेको  उहाँले बताउनुभयो । 

सो गाउँमा करिब ११ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै विस्तारै घट्दै जाने क्रममा तीन वर्षअघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले ।” ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले यस्ता परम्परागतका सामग्रीको प्रयोग गर्न छाडेको उहाँको भनाइ छ । विद्युतीय मेलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ । 

पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटो छरितोको लागि समेत धान कुट्ने विद्युतीय मेसिन नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो । जाँतो दुई थरी हुन्थ्यो । एकथरी मकै पिन्ने र अर्को थरी कोेदो पिन्ने । बिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर अहिले गाउँबाट लोप भएको स्थानीय मोनिका घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो गाउँमा विद्युतीय मेसिन आयो अनि ढिकीजाँतोको प्रयोग गर्न छाडे । 

ढिकीजाँतो कुटानीपिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो । यस्ता परम्परागत मौलिक ढिकीजाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनुपर्दछ । साथै यस जिल्ला पर्यटकीयस्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागिसमेत ढिकीजाँतोमा कुटानीपिसानी गरेर बनाइएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्नसकेमा पर्यटक वृद्धिमा समेत टेवा पुग्ने देखिन्छ । जिल्लाका दर्जनौँ गाउँमा सञ्चालित घरबासमा पर्यटक पुग्ने गर्दछन् । रासस                                                                                                  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …