तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ ।

गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको छ ।

सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर, सो योजना अहिलेसम्म पनि अधुरै रहेको छ ।

केपी ओली नेतृत्वको सरकारका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले १६ कात्तिक २०७७ मा एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

२०६५ मै बन्चरेडाँडा फोहोर विसर्जन गर्नुपर्ने लक्ष्य अझै अधुरै

सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिए पनि ढिलासुस्तीका कारण अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकिएको छैन ।

लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले सो समयमा १ मंसिरसम्ममा फोहोर विर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जानकारीसमेत गराएका थिए ।

सरकारले एकपटक निर्देशन दिएर चुप लागेर बस्ने र ठेकेदार कम्पनीले ढिलासुस्ती गरेका कारण ल्यान्डफिल्ड साइटको निर्माण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागले हालसम्म करिब ४० करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणका लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता २२ वैशाख २०७७ सम्म थियो । लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि विभागले २२ कात्तिक २०७७ सम्म म्याद थपेको थियो ।

सहरी विकास मन्त्रालयले अहिले आएर पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ । सो कम्पनीले १९ जेठ २०७८ भित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले कोभिड–१९ को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको, कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माण कार्यमा प्रभावितलगायतका कारण तोकिएको समयमा निर्माण गर्न नसकिएको जनाएको छ ।

विभागले ल्यान्डफिल्ड निर्माण सम्पन्न भएपछि करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने जनाउँदै आएको छ । फोहोर वर्गीकरण नगरी विसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ । काठमाडांै र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने तयारी छ ।

सिसडोलमा २०६२ मा दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल्ड निर्माण गरिएको थियो । त्यसयता त्यसैमा पटकपटक माटोले पुरेर केही विस्तार गर्दै अहिलेसम्म फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

सरकारले सिसडोलमा फोहोर व्यवस्थापन गर्न सुरु गरेसँगै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडामा १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्यान्डफिल साइट हस्तान्तरण गरेपछि बन्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो । जाइकाले सो ल्यान्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …