तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कैलाली। कैलालीको टीकापुर नगरपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अद्यावधिक गर्न थालेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्न वडावडामा अद्यावधिक र नवीकरण शिविर शुरु गरेको छ ।

नगरपालिकाले पटकपटक सूचना गरी दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्न आग्रह गरे पनि कार्यान्वयन नभएकाले गाउँमै गएर शिविर गर्न थालेको हो । नगरपालिकामा सामाजिक सुरक्षा भत्तामा पेन्सन सुविधा लिइरहेका वा अन्य पदमा रहेकाहरु समेत समेटिएकाले उनीहरुलाई रोक्न शिविर गर्न थालिएको हो । “विगतमा सामाजिक सुरक्षा भत्तामा समेटिएकाहरुका नाम र उमेर मात्र हामीसँग छन्, उनीहरुका नागरिकता, आवश्यक कागजात पनि सङ्कलन गर्न थालेका छौँ,” सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा एकाइ समन्वय समितिका प्रमुख चेतबहादुर बोहराले भन्नुभयो, “कागजात नपुगेकाहरुका कागजात सङ्कलन र विवरण अद्यावधिक गर्न थालेका छौँ, भत्ता लिने लाभग्राहीलाई नवीकरणका लागि अनिवार्य सहभागी हुन भनेका छौँ ।”

बोहरा यसले लामो समयदेखि भत्ता खाइरहेकाहरुको विवरण सही आउने र गलत तवरले सेवा लिनेहरुको लगत कट्टामा सहयोग पुग्ने बताउनुहुन्छ । “हामीले सूचना गरेर सेवाग्राहीले टेरेनन्, अब यसरी अनिवार्य अद्यावधिक गर्न भनेपछि गलत कागजात वा दोहोरो सेवा लिनेहरु आउने छैनन्”, उहाँ भन्नुहुन्छ, “यसअघिका कतिपय लगतहरुमा तीन पुस्ते कायम नगरिएको, दोहोरो दर्ता भएका, मृत्युपश्चात् लगत कट्टा नभएका लगायतका समस्यालाई समाधान गर्न सहयोग पुग्छ ।”

नौ वडा रहेको नगरपालिकाका १४ स्थानमा अद्यावधिक शिविर आयोजना भइरहेको छ । लाभग्राहीलाई आवतजावतमा सहज होस् भनी नगरपालिकाले गाउँगाउँमा जनशक्तिसहित शिविर गरिरहेको हो । गाउँमै नवीकरण तथा नपुगेका कागजात अद्यावधिक गर्न पाएपछि स्थानीयवासी समेत खुशी छन् । टीकापुर–४ की मालतीदेवी थापा विगतमा हरेक वर्ष नवीकरणका लागि टीकापुर बजारमा रहेको कार्यालयमा आउनुहुन्थ्यो । “यस वर्ष गाउँमै कागजात बुझाएँ”, थापाले भन्नुभयो, “सजिलो भयो, अझ ज्येष्ठ नागरिकलाई सेवा लिन धेरै टाढा जानु परेन, सबैले गाउँमै नवीकरण गराउन पाए ।”

त्यस्तै टीकापुर–३ की मन्तुरिया चौधरी पनि वडास्तरमै नवीकरण गर्न पाउँदा खुसी हुनुहुन्छ । “म त खासै हिँड्डुल गर्न सक्दिन, अरूको सहारामा आउनुपर्छ”, चौधरीले भन्नुभयो, “घर नजिकै शिविर आयो, यहीँ सेवा पाइयो ।”

साथै नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ देखि नगरपालिका क्षेत्रभित्र रहेका ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक अपाङ्गता भत्ता उपलब्ध गराउने निर्णय भएकाले यसरी भइरहेका दर्ता शिविरमा दर्ता हुन अपाङ्गता भएकाहरुलाई पनि सामाजिक सुरक्षा भत्ताले समेटिरहेको छ । “यस वर्षदेखि ‘ग’ वर्गका अपाङ्गता भएकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्, विगतमा जिल्लाबाट परिचयपत्र बनाएकाहरु छन्, अब पालिका आफैँले परिचयपत्र दिइरहेको छ”, महिला बालबालिका शाखाका प्रमुख सङ्गीता शाहले भन्नुभयो, “हामीले परिचयपत्र नवीकरणमा आउँदा पालिकाबाट नयाँ परिचयपत्र दिन थालेका छौँ, सजहताका लागि यहीँ शिविरमै सेवा दिइरहेका छौँ ।”

नगरपालिकामा गत वर्षको तथ्याङ्कअनुसार सामाजिक सुरक्षा भत्ता खानेको सङ्ख्या आठ हजार १०० रहेको छ । भत्ता खानेहरुको नवीकरण गर्ने समय असोजसम्म भए पनि नगरपालिकाले यो पटक भदौभित्र गरिसक्ने गरी काम थालेको छ । चालु वर्षदेखि नगरपालिकाले त्रैमासिकरूपमा भत्ता वितरण गर्ने तयारी गरेको जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …