तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ ।

सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । 

मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । 

मन्दिर क्षेत्रमा मुख्य ढोकामा तालाबन्दी गरिएको छ । धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको सदस्यसचिव ढकाल बताउनुहुन्छ । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

गतवर्ष पनि साउन महिनामा कोरोनाका कारण मन्दिर खुल्न सकेको थिएन । 

गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । साउन १ गते भएकाले आज बिहान पशुपति क्षेत्रको बाहिरी परिसरमा भने गत दिनहरूमा भन्दा बढी चहलपहल देखिएको कोषले जनाएको छ ।

विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्याह्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । 

वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्यसचिव डा. ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउनुहुन्छ ।

भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । यस कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ । 

कोरानो उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि बाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ वटा घाट सेवा उपलब्ध छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । राजधानीका अन्य शिवालयमा भने भक्तजनको चहलपहल देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …