तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ ।

सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को ९ महिने अवधिमा ३० चैतसम्म कुल १ खर्ब ३ अर्ब १२ करोड ९४ लाखमात्र पुँजीगत खर्च भएको हो ।

चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख पुँजीगत खर्च विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि कुल विनियोजत पुँजीगत खर्चको लक्ष्य भेटाउन अझै २ खर्ब ४९ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

– ९ महिनामा २९.२२ प्रतिशत मात्रै पुँजीगत खर्च
– विनियोजित बजेटको लक्ष्य भेट्न मुश्किल
– पुँजीगत खर्च १ खर्ब ३ अर्ब १२ करोड ९४ लाखपैयाँ

पुँजीगतमध्ये अहिलेसम्म २९.२२ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न तीन महिनाभित्र ७०.७८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेटाउन अब सरकारले दैनिक अर्बाैं पुँजीगत खर्च गर्दै जानुपर्ने देखिन्छ ।

कोरोना महामारी प्रभाव र पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताका कारण आर्थिक गतिविधिमा संकुचन आएसँगै चालू आवको बितेका ९ महिना पुँजीगत खर्च अत्यन्त न्यून देखिएको हो । कोरोना प्रभावका कारण विगत वर्षजस्तो विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पुँजीगत खर्च वितरणको तालुकदार निकाय अर्थ मन्त्रालयले चालू आवमा कोरोना प्रभावले अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको स्वीकारेको छ । अन्य वर्षमा समेत खासै प्रभावकारी ढंगबाट हुन नसकेको पुँजीगत खर्च यसवर्ष अझ कोरोना प्रभावका कारण थप घट्न गएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना महामारीका कारण राष्ट्रिय गौरवका र ठूलासाना आयोजना निर्माणमा समस्या आएको छ । आयोजनास्थलमा पुग्नुपर्ने कामदार-श्रमिक लामो समय फर्किन पाएनन् ।

भनेकै बेला निर्माण सामान नपाइनु, दक्ष प्राविधिक ल्याउन ढिलाइलगायत कारण राष्ट्रिय गौरवका आयोजना अपेक्षाकृत हुन सकेको छैन । विविध समस्याकै कारण अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको महालेखा नियन्त्रक कार्यालयको ठहर छ ।

कार्यालयका अनुसार विशेषतः आर्थिक रूपान्तरणको मूल आधार मानिने पुँजीगत खर्च नै हो । अपेक्षाकृत पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणमा देशले चाहेजस्तो गति लिन सकेको छैन । कोरोना प्रभावकै कारण गत आर्थिक वर्षमा कुल १ खर्ब ९१ अर्ब ७७ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो ।

सरकारले चालू आर्थिक वर्ष सो अवधिमा ६ खर्ब ८६ अर्ब ६६ करोड ४७ लाख खर्च गरेको छ । यो रकम चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४६.५६ प्रतिशत मात्र खर्च हो ।

सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख बजेट विनियोजन गरेको थियो । अहिले सरकारले सो बजेटको आकार संशोधन गरी १३ खर्बमा झारेको छ । खर्चमध्ये अहिलेसम्म चालू खर्चतर्फ ५ खर्ब २५ अर्ब ९४ करोड ६८ लाख खर्च भएको छ ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ ५७ अर्ब ५८ करोड ८५ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । हरेक वर्ष आव अन्त्यमा आएर ७०-८० प्रतिशतका दरले हुँदै आएको कुल बजेट खर्चको पनि औचित्य तथा त्यसबाट देशले प्राप्त गर्ने लाभबारे हिसाब हुन सकेको छैन ।

वर्ष अन्तिममा आएर हतारमा गरिएको खर्चको प्रभावकारिता विषयमा पनि मूल्यांकन गर्न ढिला भइसकेको सरोकारवालाको तर्क छ ।

बजेट तर्जुमा गर्दा हरेक अर्थमन्त्रीले विकास जिम्मेवारी लिएका मन्त्रालयबाट बजेटका लागि प्रस्तावित भई आएका कार्यक्रम र आयोजनाका अतिरिक्त नागरिकलाई आकर्षित गर्ने उद्देश्यले आफू र आफ्नो दलका नेता र विज्ञले सुझाएका नयाँ कार्यक्रम र आयोजना बजेट तर्जुमा अन्तिम चरणमा समावेश गरी घोषणा गर्ने प्रवृत्तिले समस्या निम्तिएको अर्थविद्ले बताउँदै आएका छन् । उनीहरूले यस्तो समस्यामा जतिसक्दो छिटो सुधार आउनुपर्नेमा जोड दिएका छन् । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …