तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ ।

अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलङ्गा झरेका छन् तर ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बस्नुभयो ।

व्यासको छाङ्ग्रुमा यसपटक चिसो माइनस १६ डिग्रीसम्म झर्यो तर चौकीदार ऐतवालले यो चिसोलाई सहजै छल्नुभयो । छाङ्ग्रुमा १२० घरधुरीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उहाँलाई वडा नं १ को कार्यालयले चौकीदार राखेको हो ।

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उहाँको जिम्मेवारी हो । ऐतलाल भन्नुहुन्छ, “चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निगरानी गर्छु । विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो । त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले त्यो अवस्था छैन ।

दुई वर्षदेखि चौकीदार बस्दै आउनुभएका ऐतवाललाई यसपटक सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्ग्रुमै बसेपछि सहज भयो । “विगतमा गाउँभरि एक्लै हुन्थेँ तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निकायलाई बाह्रैमास छाङ्ग्रुमै राखेपछि चौकीदारीमा सजिलो भयो”, उहाँले भन्नुभयो, “यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो । गाउँको वरिपरि दैनिक दुई÷चारपटक फन्को लगाउँछु”, ऐतवालले दिनचर्या सुनाउनुभयो । उहाँका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर अवस्था हेर्नुपर्छ ।

दिउँसो घाम लाग्छ । यसपटक उहाँले आफ्ना पशुचौपाया पनि सँगै राख्नुभएको छ । पशुचौपायालाई जङ्गल पठाउनेदेखि खेतबारीमा काम गरेर उहाँको समय बित्ने गर्छ । एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवाल भन्नुहुन्छ, “यस्तो कैलाश भूमिमा के को डर ?” ऐतवाललाई वडा कार्यालयले मासिक रु १० हजार दिने गरी चौकीदार राखेको हो । गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच÷छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताउनुहुन्छ । हामीले पहिले पनि स्थानीय तह नहुँदा चौकीदार राख्थ्यौँ । व्यासका स्थानीयवासी वैशाख दोस्रो सातादेखि व्यासको छाङ्ग्रु र तिङ्कर उक्लिने तयारीमा छन् ।

तिङ्कर मानवशून्य बस्ती

चीनको सीमा नजिकैको दार्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ । व्यास–१ तिङ्कर बस्ती अहिले मानवविहीन बनेको हो । गत मङ्सिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मानवशून्य बनेको हो । आफ्नै भूमि जान घोरेटो बाटो छैन । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । कोभिडको जोखिमका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए ।

अहिले तिङ्करमा कोही छैनन् । सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छाङ्ग्रुबाट तिङ्कर जान आधा दिन लाग्छ । तिङ्करमा छ महिना सुरक्षाकर्मीको उपस्थिति हुने गर्दछ । तिङ्करस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छाङ्ग्रु झरेको छ । तिङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ । पिलर नं १ बाट सोझै झर्यो भने चीनको स्वशासित क्षेत्र तिब्बत पुगिन्छ ।

तिङ्करमा बस्ने नेपाल प्रहरी छ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानवशून्य रहेको तिङ्कर गाउँसम्म कहिलेकाहीँ सशस्त्र प्रहरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ । “सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भन्नुभयो, “हिउँ भएका कारण कहिलेकाहीँ वस्तुस्थिति बुझ्न जाने गरेका छौ ।

स्वास्थ्यचौकीमा ताला

व्यासको छाङ्ग्रुमा स्वास्थ्यचौकी छ तर त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन् । गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलङ्गा झरेका छन् तर यसपटक सरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छाङ्ग्रुमै राख्यो । 

यद्यपि सामान्य बिरामी हुँदा पनि औषधोपचार गराउन स्वास्थ्यचौकी छैन”, प्रहरी नायब उपरीक्षक शाह भन्नुहुन्छ, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे । यस क्षेत्रमा पाँच÷छ फिट हिउँ पर्छ । चिसो बेला आगो तापेर भए पनि ड्युटी गर्नुपर्यो । चिसोले झन् बिरामी हुने सम्भावना हुन्छ ।” राज्यले सशस्त्र प्रहरीका लागि राम्रो अस्पताल बनाउन सकेको छैन ।

सशस्त्र प्रहरीले सुरक्षाकर्मीको जाँचका लागि गाउँमै चिकित्सक ल्याएर शिविर आयोजना गर्यो । जवानका लागि आयोजना गरिएको शिविरमा स्थानीयवासीलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको शाहले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने तथा बिरामी हेर्ने काम गर्छन् । 

सशस्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औषधोपचार गर्ने गरेको प्रहरी नायब उपरीक्षक शाह बताउनुहुन्छ । “हामीले केही प्राथमिक उपचारका औषधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीयवासीलाई समेत वितरण गर्नुपर्छ ।” 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …