तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो । 

नेपालले बङ्गलादेशसँगको जीटुजी (सरकार–सरकार) सम्झौताको आधारमा यसअघि २२ हजार पाँच सय मेट्रिक टन रासायनिक मल बुझिसकेको छ । त्यसमध्ये १० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने बाँकी कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेको केन्द्र जनाएको छ । बङ्लादेशले नेपाललाई कुल ५० हजार युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो । बाँकी रहेको २७ हजार पाँच सय मेट्रिक टन मल दुई चरणमा ल्याउने गरी नेपालले योजना बनाएको केन्द्रका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब पहिलो पटक १०, दोस्रो पटक १७ हजार मेट्रिक टन मल ल्याउने तयारी छ । 

सम्झौताअनुसार हालसम्म नेपालले सबै मल प्राप्त गर्नुपर्नेमा ढिलाइ भएपछि पत्र लेखिएको केन्द्रका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । बाँकी मल छिटो उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशस्थित नेपाली राजदूतावासले प्रयास गरिरहेको छ, उहाँले भन्नुभयो । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको बङ्गलादेश भ्रमणका क्रममा पनि मल छिटो उपलब्ध गराउन आग्रह गरिएको थियो । बङ्गलादेशले पहिलो पटक मल निर्यात गरेकाले केही ढिलो भएको हुनसक्ने प्रमुख भण्डारीको भनाइ छ । 

पछिल्लो समय रासायनिक मलको मूल्य वृद्धि भएका कारण पनि बङ्गलादेशलाई समस्या भइरहेको केन्द्रले जनाएको छ । बङ्गलादेश सरकार र नेपाल सरकारबीच तीन सय ४१ अमेरिकी डलर प्रतिमेट्रिक टनमा मल लिने सम्झौता भएको थियो । अहिले मलको भाउ प्रति मेट्रिक टन चार सय ८० डलर पुगेको छ । बङ्गलादेशले वृद्धि भएको मूल्यमै मल लिन आग्रह गरेको छ । 

नेपालले त्यो स्वीकार गरेको छैन । सम्झौता भएकै समयमा उल्लेख गरिएको मूल्यमा मल प्राप्त गर्नुपर्ने भन्दै नेपालले बङ्गलादेशलाई जानकारी गराएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । उक्त मूल्यमा मल उपलब्ध गराउन बङ्गलादेशले आनाकानी गरिरहेको तर अन्त्यमा सम्झौताअनुसार नै मल दिनेमा उहाँको विश्वास छ । पहिलो पटक मल निर्यात गरेको र यहीँ समयमा मलको मूल्य वृद्धि हुँदा सम्झौताअनुसार मल प्राप्त गर्न समस्या भएको छ, उहाँले भन्नुभयो, तर बङ्गलादेशले सम्झौताअनुसार नै मल दिनेमा विश्वास छ । 

कुनै समय मलको हाहाकार भए पनि यतिबेला नेपालमा त्यस्तो अवस्था छैन । छिट्टै ल्याएर धानको सिजनमा मल अभाव नहुने गरी तयारी गरिरहेको केन्द्रले जनाएको छ । बङ्गलादेशबाट वैशाखसम्म मल आइपुग्ने केन्द्रको अनुमान छ । त्यस्तै चीनबाट पनि मल ल्याउने काम भइरहेको र सँगै भारतसँग पनि जीटुजी गर्ने तयारी भइरहेको यस पटक मलको अभाव नहुने भण्डारीको विश्वास छ । 

सरकारले चालू आर्थिक वर्ष २०७७÷७८ मा रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रुपियाँ बजेटको व्यवस्था गरेको छ । उक्त बजेटबाट पाँच लाख मेट्रिक टन मल आयात गर्ने सरकारको लक्ष्य छ । कृषि मन्त्रालयका अनुसार चालू आवमा एक लाख ८७ हजार मेट्रिक टन मल आयात गरेर बिक्री वितरण पनि भइसकेको छ । 

एक लाख ६२ हजार पाँच सय मेट्रिक टन भण्डारमा रहेको र केही भित्रिने क्रममा रहेको केन्द्रले जनाएको छ । गत आवमा तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो । यसप्रकार गत सालको बिक्री बराबरको मल आयात भइसकेको छ भने थप दुई लाख सात हजार मेट्रिक टन मल आयात हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …