तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण शुरु गरेको बताउनुभयो ।

“पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।” आगामी आर्थिक वर्ष २०७८÷७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ । हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ ।

यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ । पन्ध्र किलोमिटर दू्रीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो ।

नारच्याङका अगुवाहरुले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्रीखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । पहिलो चरणमा मानिस मात्र हिँड्न मिल्ने पदमार्ग बनाइएको छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ । गाउँपालिकाले पदमार्गको नक्शा तयार पारेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ ।

नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

समुद्री सतहबाट चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …