तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइडे«न्ट भनिन्छ । यो आधुनिक प्रविधिमा आधारित हुनेछ । राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागेको हो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले घना बस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

मेलम्चीको पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रहरूमा अहिलेसम्म २३० वटा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् । आयोजनाका अनुसार थप माग र आवश्यकताका आधारमा अरू करिब दुई दर्जन ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘फायर हाइड्रेन्ट’ चौबिसै घण्टा सञ्चालनमा आउने छन् । मेलम्ची खानेपानी आयोजनाले ‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिरहेको छ ।
राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई विचार गर्दै पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ ।

निर्देशक श्रेष्ठका अनुसार दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्ने कार्यलाई अगाडि बढाएको जानकारी दिनुभएको छ । यसको प्रयोग अरू काम र प्रयोजनका लागि नभई मात्र आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि हुने उहाँले स्पष्ट पार्नुभयो ।
उपत्यकाको चक्रपथभित्र मात्र विभिन्न ३५० वटा संवेदनशील ठाउँमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने आयोजनाले जनाएको छ । गृह मन्त्रालयको अनुमति तथा सम्बन्धित स्थानीय तहको समन्वयमा ‘फायर हाइड्रेन्ट’ स्थापना कार्य भइरहेको उहाँले बताउनुभयो । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच÷पाँच सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

अहिले आयोजनाले राजधानीको चक्रपथभित्र पानी वितरणको सञ्जाल निर्माण गर्दै गरेको ठाउँमा मात्र ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागिएको बताउँदै उहाँले राजधानीको अन्य ठाउँमा पानी वितरणको सञ्जाल विस्तारसँगै ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्दै जाने जानकारी दिनुभयो । ‘फायर हाइड्रेन्ट’ को स्थापनासँगै राजधानीको आगलागी नियन्त्रण तथा विपत् व्यवस्थापन कार्यमा मद्दत पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

‘फायर हाइड्रेन्ट’ को स्थापनापछि आगलागीको समयमा दमकलका लागि पानी खोज्ने समस्याको धेरै हदसम्म अन्त्य हुनुका साथै उपत्यकामा हुनसक्ने आगलागी नियन्त्रणमा मद्दत पुग्ने विश्वास गरिएको छ । अहिले राजधानीको चक्रपथभित्र मुख्य गरी आवासीय तथा मुख्य व्यापारिक क्षेत्रमा यो प्रविधिको स्थापना गर्न लागिएको जानकारी दिँदै उहाँले राजधानीमा आगलागी जस्तो भयानक विपत्तिको पूर्वतयारीका रूपमा यस कार्यलाई लिन सक्ने बताउनुभयो ।

आयोजनाका अनुसार पानीको पाइप बिछ्याउने क्रममै नै चक्रपथभित्र यो प्रविधि राख्ने स्थानको पहिचान भइसकेको बताउँदै उहाँले सो प्रविधि स्थापनाका लागि सम्बन्धित ठाउँमा चिन्ह लगाई काम गरिसकिएको छ । अब यसको माथिल्लो भाग जडानको काम मात्र बाँकी रहेको जनाइएको छ ।

जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख लीलाराज थापाले आगलागीलगायत विभिन्न दैवीप्रकोपको नियन्त्रणका लागि राजधानीको विभिन्न ठाउँमा निर्माणाधीन ‘फायर हाइड्रेन्ट’ यससँग सम्बन्धित संस्था तथा व्यक्तिको सल्लाह, समन्वयमा निर्माण गर्नुपर्नेमा मेलम्ची खानेपानी आयोजनाले जुद्ध वारुण यन्त्रसँग कुनै किसिमको सल्लाह नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजधानीको कुन कुन ठाउँमा ‘फायर हाइड्रेन्ट’ कसरी राख्ने, कतिको दूरीमा राख्ने सोबारे जुद्ध वारुण यन्त्रलगायतका सम्बन्धित निकायसँग छलफल गरेर ‘फायर हाइड्रेन्ट’ निर्माण कार्यलाई अगाडि बढाउनु पर्दथ्यो तर मेलम्ची आयोजनाले त्यस्तो गरेन ।

अहिले राजधानीको विभिन्न ठाउँमा जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हरूको बनावटलाई हेर्दा त्यसबाट आपत्कालीन अवस्थामा पानी ‘रिफिल’ गर्न सकिँदैन भन्दै उहाँले पानी भर्नका लागि ‘फायर हाइड्रेन्ट’ प्रेसराइज भएर बस्नुपर्छ र स्वचालित किसिमको हुन्छ जुन राजधानीमा जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हरूमा देखिएको छैन भन्नुभयो ।

‘‘फायर हाइड्रेन्ट’ मा डिलेभरि हाउजिङ हुन्छ जसमा भएको क्यापलिङ र दमकलमा भएको क्यापलिङलाई जोडेर पानी रिफिल गरिन्छ’’, उहाँले भन्नुभयो, ‘‘तर राजधानीमा जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हरूमा त्यस्तो कुनै प्रविधि जडान गरिएको देखिएको छैन । दमकलमा पानी भर्नका लागि ‘फायर हाइड्रेन्ट’ चौबिसै घण्टा ‘प्रेसराइज’ भएर बस्नुपर्छ ।

बढीमा एक किलोमिटरको दूरीमा सहज रूपमा दमकलको पहुँच हुनसक्ने चोकचोकमा ‘फायर हाइड्रेन्ट’ निर्माण गर्न उहाँले मेलम्ची आयोजनालाई सुझाव दिनुभयो । चोकचोकमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरिए आगलागी नियन्त्रणको क्रममा पानी सकेको अवस्थामा सहज रूपमा पानी ‘रिफिल’ गर्न सकिन्छ ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा आगलागी नियन्त्रणका लागि उपत्यकाको विभिन्न ठाउँमा ‘फायर हाइड्रेन्ट’ को स्थापना गरिएको थियो । बाटो विस्तारसँगै ती ‘फायर हाइड्रेन्ट’ मध्ये अहिले कुनै पनि सञ्चालनमा नरहेको जुद्ध वारुण यन्त्रले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …