तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ-बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ।

निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन्। दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।

बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनःपर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि हिजोदेखि नै शुरु गर्ने तयारी गरेको भए पनि केही प्राविधिक कारण अर्को मिति तय गरिएको कम्पनीले उल्लेख गरेको छ । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्वतीय उडानमा विशेष अफर बनाएको छ।

यसले पनि एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराउने जनाएको छ। यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको बताए।

‘गाउँदै नेपाली गाथा हेरौँ आफ्नै सगरमाथा’ भन्ने सन्देशसहित यतीले आगामी मङ्सिर २० गतेदेखि प्रत्येक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यतीले पर्वतीय उडानका लागि रु आठ हजार ९९९ भाडा निर्धारण गरेको छ ।

पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन्।

बुद्ध एयरले पनि पर्वतीय उडानका लागि रु आठ हजार ९०० भाडा तोकेको छ। यसमा झ्यालसहितसँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालका लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।

नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ देखि अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो।

सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन्। वायुसेवा सञ्चालक सङ्घ नेपालका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …