तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ । यस्तो जनगणना पहिलो पटक गरिन लागेको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

“जसरी विदेशमा रहेका नेपालीलाई विदेशी कानुनअनुसार व्यवहार गरिन्छ, त्यसरी नै नेपालमा रहेका राजदूतावास र कूूटनीतिक निकायका कर्मचारीलाई पनि नेपालकै कानुनअनुसार व्यवहार गर्ने गरी जनगणनामा समेट्न लागिएको हो”, विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो ।

जनगणना गर्दा विभागमा रहेका कर्मचारीले ट्याब्लोइडबाट प्रश्नावली सोध्नेछन् । सफ्टवेयरमार्फत सीधै त्यो गणना डाटा सेन्टरमा प्रविष्ट गराइन्छ । सफ्टवेयर राख्ने प्रक्रिया अहिले जारी छ । त्यसका लागि आवश्यक कर्मचारी सोही प्रक्रियामार्फत भर्ना गरिँदै छ । ई–सेन्ससमा भाग लिँदा दूतावास, वाणिज्य दूतावास र अन्य कूटनीतिक निकायमा रहेका नेपाली कर्मचारीले नै सहजीकरण गरेर भर्ने व्यवस्था मिलाइएको छ । नेपालमा २५ वटा आवासीय दूतावास तथा विदेशी कूटनीतिक नियोग र ८२ वटा अस्थायी कूटनीतिक नियोग छन् ।

जनगणनाका लागि सामान खरिद प्रक्रियामा छ । “अहिलेसम्म हामी टेबल वर्कमै छौँ । माघदेखि तालिम सुरु गर्नुपर्छ”, विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो । प्रश्नावली अन्तिम चरणमा पुगेको जानकारी निर्देशक लामिछानेले दिनुभयो । यसका लागि अन्तिम चरणका केही छलफलमा विभाग व्यस्त छ । ती प्रश्नावली छाप्ने स्थान तय भइसकेको छ । आउँदो चैत १ देखि जनगणनाका लागि जिल्लास्तरीय कार्यालय स्थापना गर्ने तयारी सुरु भइसकेको छ । यसका लागि घर भाडामा लिने र डाटा सेन्टरका निम्ति आवश्यक तयारी भइरहेको छ । विगतमा जनगणनाको तथ्याङ्क सार्वजनिक गर्न दुई वर्षजति लागेको थियो । यसपटक छ महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

जनगणनाका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ । यही माघ र फागनुमा कर्मचारी छनोट सक्ने योजना छ । यसपालि गणक र सुपरीवेक्षक करारमा लिइने भएको छ । त्यसका लागि शिक्षक–शिक्षिकालाई करारमा लिई तालिम दिइने उहाँले जानकारी दिनुभयो ।

प्रविधिको उच्चतम प्रयोग
अनलाइन तालिम दिन सफ्टवेयर डिजाइन भइरहेको छ । यसको काम सकिएलगत्तै कर्मचारी भर्ना सुरु हुनेछ । यसपालि अनलाइन विधिबाट पारदर्शी ढङ्गले जनगणनाका सबै गतिविधि सार्वजनिक गरिएको छ । अहिले कोभिड–१९ सङ्क्रमणका कारण देशभर पुगेर गणक तथा सुपरभाइजरलाई तालिम दिने र पढाउन सकिने अवस्था छैन । त्यसैले ट्युटोरियल भिडियो निर्माण गरेर पढाउने व्यवस्था गरिँदै छ । सबै सामग्री प्रविधीकरण गरेर तयार गरिँदै छ । यसलाई युट्युबमा राखेर पढाइँदै छ । सकेसम्म प्रविधिको उच्चतम सदुपयोग गरेर जनगणना हरेक वर्गका लागि फलदायी बनाउने अभ्यास विभागले गरिरहेको छ ।

विभागले वेबसाइटसँगै सामाजिक सञ्जालको भरपूूर उपयोग गर्ने सोच राखेको छ । यसमार्फत आफ्ना कर्मचारीसँग सहजै पहुँचमा रहने र देशभर भइरहेको जनगणनाको जानकारी तत्कालै लिन सक्ने गरी आवश्यक तयारी भएको छ ।

महानगरमा ट्याब्लोइडबाट
प्रविधिमैत्री जनगणनाको उच्चतम नमुुना काठमाडौँँ महानगरपालिका हुँदै छ । महानगरमा ट्याब्लोइडमार्फत जनगणना हुँदै छ । विगतमा जस्तो कागजी प्रश्नावली बोकेर घरघरमा गणकले सोध्ने छैनन् । सीधै प्रविधिमैत्री ट्याब्लोइडमा सोधिएका प्रश्नावलीको उत्तर डाटा सेन्टरमा प्रविष्ट हुनेछ । यसले कागजी प्रश्नावलीलाई कम्प्युटरको डाटा सेन्टरमा प्रवेश गर्नुपर्ने झन्झट नरहने उहाँले बताउनुभयो । “केही न केही ठाउँ त पूर्ण प्रविधिबाट जनगणना गरौँ भन्ने सोचका साथ ट्याब्लोइड प्रयोग गर्ने निधो गरेका छौँ”, उहाँले सुनाउनुभयो । यसले करिब २५ लाख हाराहारीको जनसङ्ख्याको जनगणना छोटो समयमै सक्ने वातावरण सिर्जना गर्छ ।

यति बेला निर्देशिका लगायतमा जनगणनाको कार्यालयमा पुग्नुपर्ने सामग्री धमाधम पोको पारिँदै छ । त्यसलाई सम्बन्धित जिल्लामा पु¥याउन र ढुवानी गर्न विभागमा चटारो छ । विगतमा मुख्य–मुख्य प्रश्न सबै घरमा सोधिन्थ्यो । केही प्रश्न नमुुनाका आधारमा प्रत्येक आठ घरमध्ये एक घरमा सोधिन्थ्यो । त्यसैले त्यो नमुुना जनगणना जिल्ला स्तरभन्दा तल पुगेर गर्न सकिएन । तर अहिले सङ्घीय संरचनामा स्थानीय तह सबैभन्दा तल छ । सोहीअनुसार सबै प्रश्न सबै घरमा सोधिनेछ । यसले वडास्तर सम्मको विवरण यसपालिको जनगणनाले दिने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

कार्यविधिमा टेकेर जनगणना
राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, विविध आर्थिक मापदण्ड र कार्यविधि लगायतका विधिमा बाँधिएर जनगणना हुँदै छ । कार्यविधिमा टेकेर हुन थालेको जनगणना पनि अबको पहिलो नै हो । कार्यविधि पारित हुने चरणमा रहेको निर्देशक लामिछानेले बताउनुभयो । पहिले कार्यविधि नहुँदाको अवस्थामा जनगणना कसरी भयो भन्ने विवरण संस्थागत रूपमा छैन । सहभागी व्यक्ति व्यक्तिसँग त्यस्ता विवरण सीमित थियो । पहिलेको जनगणनाका विवरण त्यस्ता व्यक्तिसँग माग्न जानुपर्ने अवस्था थियो । अब भने सेन्सस वेबसाइटमै राखेर सार्वजनिक गरिएको छ ।

पहिलो चरणमा सुपरीवेक्षकले वैशाख २६ देखि जेठ १५ सम्म जनगणना गर्नेछन् । यसले परिवारको अवस्था, घरको सङ्ख्या, तला, कृषि प्रयोगमा रहेको जग्गा, बैङ्क कारोबार, रोजगार तालिम, भूकम्पलगायत क्षतिपछि अनुदानबाट बनेका घरसहितको घरपरिवार सूचीकरण विवरण आउनेछ ।

दोस्रो चरणमा जेठ २५ देखि असार ८ सम्म गणकले मूल गणना गर्नेछन् । यसले पहिले सुपरभाइजरले गणना गरेको सूचीकृतका घरघरमा पुगेर व्यक्ति–व्यक्तिको विवरण दिनेछ । पुर्खाको भाषा, रोजगारी क्षेत्र, बालबालिकाको जन्मदर्तालगायत केही नयाँ प्रश्न यस खण्डमा थपिएको महानिर्देशक श्रेष्ठले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …