तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

विष्णुप्रसाद पोखरेल (नेपाल वेदविद्याश्रम गौशाला, काठमाडौं )

सुदूरपश्चिम, मध्यपश्चिम, राजधानी, देश , विदेशका साथ – साथै सीमा पारी कुमाऊ, अल्मोडा, गढवाल लगायतका पश्चिमी क्षेत्रमा बडो हर्ष र उल्लासका साथ मनाइने स्थानीय पर्वको नाम हो गोरा वा गौरा पर्व, जसलाई विरुडापञ्चमी पनि भनिन्छ । भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु भई अष्टमीका दिन सम्म मनाइने यो पर्व तीजसँग मिल्दोजुल्दो रहेको छ ।

स्थानीय भाषामा गौरी र महेश्वरलाई मएश्वर र गौरीलाई गोरा वा गौरा भनिन्छ। गौरापर्वका पूजनीय देवता गौरा र मएश्वर हुन्। पञ्चमीका दिन ५ थरीका गेडागुडी भिजाई उम्रिएका टुसालाई बिरुडाका नामले चिनिन्छ। यिनै उम्रिएका बिरुडाले सप्तमी र अटष्मीका दिन गौरालाई पूजा गरी प्रसादका रुपमा ग्रहण र वितरण गर्ने प्रचलन रहेको छ । 

अष्टमीका दिन कन्या-कुमारीहरूबाट डालोमा गुवो, कुर्जो / तितेपाती, कुश, धानको बोटबाट मूर्ति बनाई शिवको मन्दिरमा राखिन्छ र सप्तमीको दिन साँझपख गौरालाई पूजा गर्दै दूब्धागो / विशेष प्रकारको धागो चढाइन्छ। अष्टमीका दिन उक्त धागो महिलाहरूले प्रसादका रुपमा घाँटीमा लगाउने गर्दछन्। यो धागो वर्ष दिनसम्म लगाई पुनः अष्टमीका दिन परिवर्तन गर्ने गरिन्छ। बीचमा चुँडियो वा  हरायो भने अर्को फेर्नु पर्ने हुन्छ।जनैलाई जति महत्व दिइन्छ यसलाई पनि उत्तिकै महत्व दिएको पाइन्छ। 

जनै पुरुषहरूले धारणा गर्दछन् भने यो सूत्र महिलाले लगाउँदछन्। विवाहिता,अविवाहिता नारीहरूले चोखनीत गर्दै विश्वास र निष्ठाका साथ आयु – आरोग्य, श्रीसम्पत्ति प्राप्तिका लागि आफ्नो , पति र सन्ततिको सुस्वास्थ्यको कामना गर्दै गौरा पर्व मनाउने गर्दछन् भने सुकन्याहरू मनोवाञ्छित वर र विद्या प्राप्तिको कामना गर्दै व्रत बस्ने गर्दछन्। 

शिवलाई पति पाउँ भन्दै व्रत बसेकी पार्वतीको कथानक स्कन्द पुराणको हिमवत्खण्डमा वर्णन गरिएको छ। उक्त व्रतका आधारमा भाद्रशुक्ल पञ्चमी  दिन देखि शुरु गरिएको  पर्व अष्टमीका दिन समापन गरिन्छ। यो पर्व तीज जस्तै संगीत प्रधान रहेको छ। अष्टमीका दिन गौरा मएश्वरको पूजाआजाका साथ व्रत समापन गरिसकेपछि तरबार, खुँडा, खुकुरी, सहित धामी उत्रने र काम्ने गर्दछन्। 

स्थानीय क्षेत्र र भाषाका आधारमा चलेका विषयवस्तुलाई समेटी सांस्कृतिक पक्षका साथै समाजमा रहेका सांस्कृतिक र सामाजिक विकृतिका माध्यमबाट सामाजिक तथा राजनीतिक रुपान्तरणको चाहलाई देउडा गीत मार्फत प्रस्तुत गरिन्छ। पङ्क्तिबद्ध भएर तालमा ताल र लयमा लय मिलाई सामूहिक रुपमा नाच्ने यो चाड आफैंमा पूर्णछ। वर्ष भरी भेटघाट नभएका चेलीबेटी, आफन्त, ईष्टमित्र र छरछिमेकीको उपस्थितिमा मनाइने पर्वले समाजलाई जोड्दै एकै ठाउँमा ल्याई एकजुट गराउन मद्दत गरेको हुन्छ। मएश्वर र गौराको उपाख्यानका आधारमा अगाडि बढेको प्रसङ्ग बडो मार्मिक र श्लाघनीय रहेको छ। 

सामान्य भेंडा गोठालोको छोरीका रुपमा जन्मेकी गोरा भेंडा चराउने काम गर्दथिन्। मएश्वर पनि सामान्य कृषकका छोरा थिए, उनी गाई गोठालो थिए। एक दिन गोठालो जाने क्रममा दुवैको परिचय हुन पुग्यो । दिन – दिनैको भेटघाट, उठबस र हिमचिमले नजिकिएका पात्रहरूको सम्बन्ध पवित्र प्रेममा परिणत हुनु पूर्व  मएश्वरले गौरालाई सोध्न पुग्दछन् । तिमी यो जङ्गलमा भेंडाबाख्रा चराउन सधैं एक्लै आउँछ्यौ नत तिम्रा साथी – संगाति छन् नत अरुनै! यस्तो निर्जन घना र डरलाग्दो वनमा एक्लै घुमफिर गर्नहुँदैन। 

जनावरहरूको डर मान्नु पर्दछ भन्दै सम्झाउन पुग्दछन्। गोठल्याईंका क्रममा रहेको भेटघाट मायाप्रीतिमा परिणत हुन पुग्दछ। मएश्वरद्वारा प्रस्तावित प्रेमको सम्बन्धलाई नकार्दै आफ्नो मन अर्कैलाई दिएको बताइन्। आफूले भगवान् मएश्वरलाई मन, वचन र कर्मले पति बनाउन चाहेको र मएश्वर बाहेक अरूलाई पतिका रुपमा वरण गर्न नसक्ने बताए पछि मएश्वरले आफू नै मएश्वर भएको भन्दै, महेश्वर स्वरुप शिवको दर्शन गराए। ए मएश्वर त मेरै अगाडि रहेछन् भन्ने थाहा पाएपछि गोराले पनि गौरीको स्वरुप देखाउँदी भइन्। 

दुवै जना एक अर्का प्रति समर्पित भई सकेका थिए। विवाहका लागि आफूलाई माग्न आफ्नो बाबुआमाकोमा आउन सुझाइन्। छोरी माग्न आमाको घर भिक्षुकका  रुपमा आएका जोगी भेषधारी वैरागीलाई देखि दुःखित हुँदै आफूले हुर्काइ – बढाई सुख र दुःखका साथ पालन पोषण गरेकी कोमलाङ्गले युक्त सुन्दरी फिरन्तेलाई नदिने बिचार गरिन्। शिवको प्रभावले आमाको विचारमा परिवर्तन आयो र छोरी भिक्षुकलाई दिने काम गरिन्। लामो समयसम्मको बसाई पछि गरिबीमा हुर्के र बढेका दुवैको जीवन च्यातिएर टालिएका भोटो र कछाड अनि फरिया र चोलियाका साथै मीठो – नमीठो जे प्राप्त हुन्छ खाँदै र त्यसैमा रमाउँदै आएका थिए। 

जगतका मालिक भएर पनि अभावै – अभावमा जीवन बिताइरहेका जोडीहरूमा लामो समय पछि माइतीलाई भेट्ने रहर जाग्यो। पुराना र च्यातिएका लुगा लगाई जडौरी र अन्न पानी जुटाउन माइत जाने सल्लाह गरे। माइत जाँदा माइती गाउँ बिरानो भैसकेको र आमाले छोडेर गएको थाह पाए। ससुराली बिरानो भैसकेको थियो। जेठी भाउजूको घरमा पुगेका नन्द – ज्वाईंलाई भाउजूले वास्तै गरिनन्। खिन्न अनुहार लगाउँदै कान्छी भाउजूका घर तर्फ लागे। 

गोरा र मएश्वर आएको देखि कान्छी भाउजूले यथायोग्य स्वागत सत्कार गरिन् , मायाप्रेम र आतिथ्यताका प्रभावले कान्छी भाउजूका दुःख कष्ट सबै हराए। यी सबै देखेकी जेठी भाउजू मुरमुरिनु सम्म मुरमुरिन्। लाज पचाउँदै केही पाउने आशामा गौरीलाई दुःख मनाउ गर्दै स्वागत सत्कार गरी घर लाने काम गरिन्। गौरीले जेठी भाउजूको पनि सबै दुःख कष्ट हर्ने काम गरिन्। गौरा मएश्वर ससुरालीबाट आफ्नो घर फर्कि आनन्द पूर्वक रहन थाले। 

गौराले मएश्वरलाई पति पाऊँ भन्दै गरेको गौराव्रत तीजको स्थानीय संस्करण हो।तीजमा उमामहेश्वरको पूजा गरिन्थ्यो भने गौरापर्वमा गौरामएश्वरको पूजा गरिन्छ। भगवान भएर पनि अभावै अभावका बीच सामान्य गोठालो र गोठालीका रुपमा पृथिवीमा अवतरण भएका गौरा र मएश्वरले आफ्ना क्रियाकलाप मार्फत सामाजिक विषयवस्तुलाई चित्रण गर्दै सुख दुःखको अवस्थामा आइपर्ने प्रत्येक समस्यासँग जुध्नु पर्दछ, यो देवता र मानवका लागि बराबर छ भन्ने सकारात्मक सन्देश यो कथानकले प्रस्तुत गरेको छ। सामाजिक सद्भावका साथ समाजमा रहेका हरेक वर्ग र समुदायलाई समेट्ने यो पर्व मध्यपश्चिमेली र सुदूरपश्चिमेली नेपालीहरूको एकाकी र अपनत्वभाव बोध गराउने रैथाने र मौलिक संस्कृतिको प्रतिबिम्ब हो। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …