तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना संक्रमण फैलिन नदिन केही समय कडाइ गर्न सरकारलाई सुझाव दिएका छन् । पुनः लकडाउन गर्ने या नगर्ने सम्बन्धमा भने डाक्टरहरूको मत बाझिएको छ । 

कोरोना संक्रमण बढेपछि सरकारको रणनीति बनाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विज्ञहरूले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र भीडभाड हुन नदिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

डाक्टरहरूले जनचेतना फैलाउन, भीडभाड नियन्त्रण गर्न र मास्कलाई अनिवार्य गर्न सरकारलाई सुझाव दिएका छन् । उनीहरूले विगतमा सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसकेको भन्दै लकडाउन नै विकल्प नभएको बताएका थिए । 

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र समीरले कोरोना संक्रमण समुदायस्तरमा फैलिन लागेकाले विषेश सतर्कता अपनाउनु पर्ने सुझाव दिए । 

‘लकडाउन गरेर आराम गरेर बस्नुभएन, परीक्षण बढाउनुपर्‍यो, अस्पतालको क्षमता बढाउनुपर्‍यो भन्ने सुझाव दिएको छु,’ डा. पाण्डेले भने ।

डा. भगवान कोइरालाले कोरोनाको असर लामो समयसम्म जाने भएकाले दीर्घकालीन योजना बनाउन सुझाव दिएका थिए । ‘कोरोनाको संक्रमण लामो समय जाने भएकाले सरकारले लङ्गटर्म पोलिसी बनाउनुपर्‍यो, टेस्ट बढाउनुपर्‍यो,’ डा. कोइरालाले भनेका थिए । 

डा. महेश मास्के, डा. दिव्या सिंह र डा. समीरमणि दीक्षितले भने लकडाउन आवश्यक नभएको बताएका थिए । उनीहरूले पर्याप्त सावधानी अपनाएर जनजीवनलाई सामान्यीकरणतर्फ लैजानुपर्ने बताएका थिए । 

सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विज्ञहरूको सुझावका आधारमा सीसीएमसीमा छलफल गरेर निर्णय लिने बताएका थिए । तपाईंहरूको कुरा सुनेँ, जनजीवन सामान्यीकरण गर्न र संक्रमण फैलिन नदिन के उपाय हुन्छ, उपयुक्त निर्णय लिन्छौं’ ओलीले भनेका थिए । 

परामर्श बैठकमा मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, डा. सन्दुक रुइत, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीर, डा. महेश मास्के, डा. अर्जुन कार्की, डा. शदर वन्त, डा. लोचन कार्की, डा. समीरमणि दीक्षितलगायत सहभागी भएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, जगदीशचन्द्र पोखरेल तथा राजनीतिक दलको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता महन्थ ठाकुर पनि परामर्श बैठकमा सहभागी भए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेको अवस्थामा पनि सबै प्रबन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको बताएका थिए ।

‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेको होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौं,’ ओलीले भने, ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशहरूको तुलनामा सफलता हासिल गरेका छौं ।’ 

कांग्रेस सभापति देउवाले सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउने नियमलाई कडाइका साथ पालना गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा देउवाले ७ बुँदे लिखित सुझाव पेश गरेका थिए । 

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पीसीआर परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको र हालसम्म ४ लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरेका  थिए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …