तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा ।

सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ ।

गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्र प¥यो ।

“हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ”, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, “घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।” जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्टनै छैनन् । “एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्”, उनले भने, “वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।”

सडक सम्पर्क टुटेको जिल्लामा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले जिल्ला पूर्णरुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ ।

सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । “खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भने, “तेल, ग्यास छैन ल्याउने बाटो छैन ।”

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । “बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेल मात्रै पाइयो”, प्रजिअ अर्यालले भने, “कम्तीमा म्याग्दीको सीमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।”

सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए । “किसानका बारीमा आलु खन्ने बेला भयो, गाजर पनि राम्रो फलेको छ”, उनले भने, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उनले बताए । मुस्ताङको आलु पोखरा, काठमाडौँलगायतका ठूला शहरमा निर्यात हुन्छ ।

“भण्डार गरेर राख्दा किसानलाई फाइदा हुँदैन, गाजर कुहिने सम्भावना छ”, उनले भने, “यो वर्ष आलु, गाजरमा गरेको लगानी खेर जानेमा किसान चिन्तित छन् ।” ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गर्न समय लाग्ने उनले बताए । स्थानीय सरकारले मात्रै सडक मर्मत गर्नसक्ने अवस्था नरहेकाले समयमा प्रदेश र केन्द्र सरकारले समय ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

“भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो बन्ने छाँट छैन” अध्यक्ष थकालीले भने, “स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।” मौसम सफा भए जहाजमा आउजाउ महँगो भाडा तिरेर गर्न सकिने भए पनि किसानको उत्पादन निर्यातमा भने समस्या हुने उहाँको गुनासो थियो । खराब मौसमका कारण मुस्ताङका सर्वसाधारण अत्यावश्यक आवतजावतका लागि चार्टर गरेका हेलिकप्टरसमेत बिचमै रोकिने गरेको सङ्घका अध्यक्ष तुलाचन बताउँछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …