तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

अविरल वर्षा शुरू भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ ।

तराईमा परेको हालको पानीले सामान्य डुबान शुरू भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बाँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार तिलाठी क्षेत्र र बलान क्षेत्रमा कटान शुरू भएको छ । उनका अनुसार पश्चिम कोसीमा बढ्दो नदी सतह, अरुण र तमोर नदीको बाढीको बहाव सतर्कता तहतिर बढ्दै गर्दा चिन्ता बढेको छ ।

कोसीको भारतीय सीमा क्षेत्रमा भएको बाँधको कमजोर भागमा मर्मत सम्भार भइरहेको छ । भारतीय पक्षले आफ्नै व्यवस्थापनमा काम गरिरहेकाले नेपाल पक्षबाट आफूहरूले निगरानी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

सप्तरीमा पानीको निकास नहुँदा बर्सेनि सहर र गाउँ डुबान हुने गरेको छ । तिलाठी र कोइलाठीतिर भारतीय सीमाको भूमि उच्च छ । नेपालतिर खाल्डो छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले वर्षाले गर्दा कमला, बलान नदी तटका केही क्षेत्रमा हल्का डुबान देखिन थालेको उल्लेख गरे। उनका अनुसार पूर्वतयारीको योजना जिल्ला विपद् व्यवस्थापन समिति योजना बनाएर कार्यान्वयन गर्ने तयारी अवस्थामा छ । स्थानीय तहबाट आफ्ना क्षेत्रमा जमेको पानीको निकास तत्काल निकाल्न सबै पालिकालाई अनुरोध गरिएको छ ।

“कोभिड–१९ को सन्दर्भमा सञ्चालित क्वारेन्टाइन र आइसोलेसन सेन्टरसँग नबाझिने गरी तत्काल उद्धार गर्नुपर्ने अवस्थामा विद्यालय, सार्वजनिक स्थान र खुला स्थान तयारी अवस्थामा राखिएको छ,” उनले भने। त्यहाँका १७ स्थानीय तहमध्ये बाढी र डुबानको हिसाबले छवटा स्थानीय तह उच्च जोखिममा छन् । जसमा कर्जन्हा, सिराहा, कल्याणपुर, लहान, औरही र बरियारपट्टी स्थानीय तह रहेका छन् । नदीमा आउने बहावमा आएको रोकावटको कारण त्यस क्षेत्रमा बर्सेनि डुबान र बाढीको चपेटामा स्थानीयवासी पर्ने गरेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार जनकपुर क्षेत्रमा केही स्थान डुबान भएका छन् । कमला, बाग्मती लगायतका नदीजन्य खतरा र डुबानको अवस्था सामान्य छ । तर वर्षा भइरहेकाले विपद्को सामना गर्न उच्च सतर्कतामा रहेको उनले बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार त्यस क्षेत्रमा कोसीको बहाव बढ्दो अवस्थामा छ । कोसीमा एक लाख ७७ हजार ७९५ क्युसेक पानीको बहाव रहेको छ । आइतबार बिहान एक लाख ४५ हजार ८५० क्युसेक थियो । सतर्कता तहतिर बढ्दो रहेकाले कोसी तटीय क्षेत्रका गाउँपालिका सहित दुईवटा गाउँपालिका उच्च जोखिममा रहेको छ ।

“जबसम्म बाँध फुट्दैन तबसम्म यस क्षेत्रमा डुबान हुँदैन,” उनले भने। तर स्थानीय ट्याङ्ग्रा, सर्दु, सुनसरी लगायतका खोलाको स्थानीय बाढीले केही असर गर्ने सम्भावना छ । तर कोसी उच्च बाढीमा गएको अवस्थामा नेपालको बालुवाले धानेको बाँधमा असर गर्न सक्छ ।

पहाडमा पहिरो
यसपालाको मनसुनमा काठमाडौँ उपत्यकामै पहिरो जान थालेको छ । भूगर्भविद् शिवकुमार बाँस्कोटाका अनुसार काठमाडौँ उपत्यका वरपरको पहाड पनि पहिरोको उच्च जोखिममै पर्छन् । उत्तरपट्टि र पूर्वपट्टि डाँडा लगभग बलौटे माटोले बनेको उनले बताए।

“त्यहाँ चट्टाने पहिरोभन्दा पनि माटो गल्दै गएर साना ढिस्का र कान्ला पहिरो जानेक्रम बढी रहन्छ,” उनले भने । अत्यन्त धेरैभित्र पानी छिर्दा पहिरो जान्छ । कागेश्वरी क्षेत्रको अवस्था पनि बलौटे रहेकाले त्यस्तै खालको पहिरो गएको अनुमान उहाँले गरे। यस क्षेत्रमा अवैध बालुवा खानी रहेकाले मानव बस्ती पहिरोको जोखिममा पर्नसक्ने उनले बताए। गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …