तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तिलोत्तमा, रुपन्देही — रूपन्देहीको बुटवलस्थित एक सरकारी बालगृहमा आश्रित किशोरले चार दिनअघि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित बाल कल्याण गृह आश्रममा रहेका १४ वर्षीय आयुष विकले आइतबार आत्महत्या गरेका हुन् । उनी चार वर्षदेखि त्यहाँ आश्रित थिए । सो बालगृह महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनले आफू सुत्ने कोठाको पंखामा तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् । उनी सुत्ने कोठामा अन्य बालक पनि सुत्ने गर्छन् । आइतबार साँझ खाना खाएपछि बालबालिका र उनीहरूको रेखदेख गर्ने कर्मचारी बालगृहको छतमा बसी गफ गरिरहेका थिए । ३० मिनेटपछि बालबालिकालाई सुत्न भनेर कर्मचारी आफ्नो कोठातिर गए । राति साढे १० देखि ११ बजेको बीचमा एक बालक ट्वाइलेट जान उठेपछि आयुषलाई झुन्डिएको अवस्थामा देखे । तत्काल कर्मचारीले कार्यालय प्रमुखलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको देखिएको इलाका प्रहरी प्रमुख डीएसपी प्रतीतसिंह राठौरले बताए । ‘एउटा पत्रसमेत फेला परेको र त्यसमा मायाप्रेमका कुरा समेटिएको छ,’ उनले भने, ‘धेरै कुरा सोच्न नसक्दा घटना घटेको देखिन्छ ।’ मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

आयुष जितेश्वर मावि कक्षा ६ मा अध्ययनरत थिए । उनको स्थायी ठेगाना देवदह नगरपालिका शीतलनगर हो । आमा र बाबुले दोस्रो बिहे गरेपछि एक्लिएका उनी बालगृह आइपुगेका थिए । आयुषको स्वभाव कहिल्यै नरिसाउने र सबैसँग राम्रो बोल्ने रहेको उनकी दिदीले बताइन् । आइतबार बिहान सबैसँग बसेर गफ गरेका आयुषले पटकपटक ‘आज मेरो अन्तिम दिन’ भन्ने गरेको त्यहाँ आश्रित बालबालिकाले सुनाए । आफूले चिनेको साथीसँग आयुषको प्रेम सम्बन्ध रहेको दिदीको भनाइ छ । ‘बारम्बार केटीको कुरा गर्थ्यो,’ उनले भनिन्, ‘नपाए मर्छु भनिरहन्थ्यो ।’ यसअघि पनि आयुष बालगृहको छतबाट हाम फाली भाग्ने गरेको र खोजेर ल्याउने गरिएको गृहका निमित्त कार्यालय प्रमुख कमला ज्ञवालीले बताइन् ।

आयुष र उनकी दिदी बालगृहमा ल्याइनुपूर्व जिल्लाकै अर्को बालगृहमा बस्थे । २७ जना क्षमताको बालगृहमा १९ बालबालिका छन् । यहीं मृतक आयुषकी दिदी र भाइ पनि छन् । आइतबार आयुषले छतबाट आफ्नी प्रेमिकासँग गफ गरेको र ‘छतबाट खसेर मृत्यु हुन्छ कि नाइँ’ भनी सोधेको आयुषका भाइले बताए ।

सामान्य तनावलाई व्यवस्थापन गर्न नसक्दा घटना भएको मनोचिकित्सक डा. विक्रम काफ्ले बताउँछन् । ‘१२/१३ वर्षबाट शरीरका कोष वृद्धि हुने, विपरीत लिंगीतर्फ आकर्षित हुने क्रियाकलाप सबैमा देखिन्छ,’ उनले भने, ‘१४ वर्षीय बालकले आकर्षणलाई ठूलै रूप दिँदा मानसिक रूपमा आफैलाई व्यवस्थित गर्न सकेनन् ।’ बच्चाहरूमा आफन्तसँग अलग्गिएर बस्नुपरेको पीडा सहन नसक्ने समस्या र अपरिपक्वताका कारण आत्महत्या गरेको हुन सक्ने उनले बताए ।

मानसिक रूपमा बालबालिकामा यस्तो सोच नआओस् भनेर मन्त्रालयसँग आग्रह गरी मनोचिकित्सकमार्फत परामर्श दिलाउने, योग, ध्यान सिकाउने कार्य गरिने प्रमुख ज्ञवालीले बताइन् । ‘यसअघि पनि समय मिलेका बेला मनोचिकित्सक आउने र परामर्श दिने नगरेका होइनन्,’ उनले भनिन्, ‘तर आयुषको बाल मस्तिष्कले सोच्न नसक्दा ज्यान गुमाउनुपर्‍यो कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …