तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् ।

जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् ।

तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।

कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बताइन् । उनले गर्भवती, सुत्केरी एवं मिर्गौलाका बिरामीका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको सुनाइन् ।

शिक्षण अस्पतालमा सुत्केरी भई बच्चाको निधन भएपछि खर्चको अभावमा अलपत्र परेकी एक सुत्केरीको उपप्रमुख खड्गीले अस्पतालको शुल्क र घर जाने खर्चको व्यवस्था गरिदिइन् । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी छुट्टै कार्यक्रम नहुँदा न्यून आय भएका गर्भवती तथा सुत्केरीले भोकभोकै बस्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले सबै खालका गर्भवती एवं सुत्केरीका लागि प्रतिव्यक्ति दुई हजार रुपियाँ प्रदान गर्ने गरेको जानकारी दिए । त्यसैगरी तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले सम्भावित कोरोना सङ्क्रमित, गर्भवती, सुत्केरी र अन्य आकस्मिक सेवा आवश्यक पर्नेलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ भने ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सुत्केरी एवं गर्भवतीका लागि अन्य राहतका साथै घिउचाकु पनि थप गरेर दिइएको बताए । सुत्केरी अवस्थामा घिउ र चाकु खाने नेवार परम्परा अनुसार उनीहरूलाई राहतमा ती खाद्यपदार्थ पनि थप गरेर बाँडिएको छ ।

गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीका अनुसार सबै सुत्केरी गर्भवतीका लागि राहत सामग्रीका साथै प्रतिव्यक्ति एक किलो चना र एक क्रेट अन्डा थप प्रदान गरिएको छ ।

महिला विकास र कानुन मञ्चका अध्यक्ष मीरा ढुङ्गानाको विचारमा गर्भवती एवं सुत्केरी महिलाका लागि महामारी एवं विपद्को समयमा विशेष व्यवस्था गरिनुपर्छ । सरकारले कोभिड–१९ को अवधिमा सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका–२०७६ ल्याएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डा. पुण्य पौडेलले चैत ११ गतेदेखि अहिलेसम्म ४० जना सुत्केरीको निधन भएको सूचना दिइन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाका अनुसार बन्दाबन्दीमा देशभरबाट १७ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जानकारी दिइन् ।

छुट्टै क्वारेन्टाइन होस्

यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७५३ वटै स्थानीय तहमा महिलाका लागि सुरक्षित क्वारेन्टाइनको व्यवस्थापन गर्न परिपत्र गरेको छ । मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पुरुष र महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाउन परिपत्र गरेको हो । क्वारेन्टाइनमा बस्दा महिलामाथि बलात्कार भएको, महिलाका लागि आवश्यक सामान्य सेवा सुविधा पनि नपाएको समाचार आएपछि मन्त्रालयले सो परिपत्र गरेको हो । गोरखापत्र दैनिकमा यो खबर ​शिवा तामाङले लेखेकी हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …