तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो ।     

 प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो ।     

 सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताउनुभयो । “नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय”, ज्ञवालीले प्रश्न गर्नुुभयो ।   

 उहाँले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह गर्नुभयो । उहाँले आयल निगमलाई विवादित बनाउन मूल्य नघटाएको आरोप पनि लगाउनुभयो ।     

 सांसद ज्ञवालीले निर्वाचनको सन्दर्भ जोड्दै मिति घोषणा भइसकेपछि सरकार काम चलाउ भएको र उसले संसद्लाई नयाँ ‘विजनेश’ दिन नमिल्ने जिकिर गर्नुभयो । यस्तो अवस्थामा सदनको कार्यवधि सकिने बेलामा प्रधानन्यायाधीशमाथिको महाअभियोगको विषय ल्याउनु उचित नभएको पनि बताउनुभयो । उहाँले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर गलत गरिएको जिकिर गर्नुभयो ।     

 सांसद ज्ञवालीले ताइवानको घटनाप्रति गम्भीर हुन आग्रह गर्दै एक चीन नीतिमा अडिग रहन सरकारसँग आग्रह गर्नुभयो । आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न हुँदैन भन्ने धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभायो ।     

 उहाँले देशको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै करको दर हेरफेरका सन्दर्भमा छानबिन समितिले सम्पूर्ण अङ्ग पूरा गर्न नपाएको र त्यसको असर भोलि पनि अर्थ मन्त्रालयमा पर्ने दाबी गर्नुभयो ।     

 विशेष समयमा सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्नुभयो । अहिले १७ लाख परिवार यसमा आबद्ध रहेका र सरकारले रु २० अर्बभन्दा बढी भुक्तानी गरिसकेको अवस्थामा अहिलेको बजेटमा स्वास्थ्य बीमामाथि गम्भीर आघात परेको बताउनुभयो । उहाँले बीमा कार्यक्रम पूर्ववत् अवस्थामा सञ्चालन गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले बीमाको दायरा फराकिलो गरी रु. १० लाख बनाउन माग गर्नुभयो । उहाँले कोरोनाबापतको बीमासमेत भुक्तानी नभएको बताउनुभयो ।     

 सांसद सीतादेवी यादवले बाढीपहिरा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन माग गर्नुभयो । सार्वजनिक स्थानमा धूमपान गर्न नहुने कानुन भए पनि जथाभावी सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।     

 सांसद दुर्गाबहादुर रावतले द्वन्द्वपीडित शिक्षकलाई दुःख दिने काम भइरहेको भन्दै यस्ता गतिविधि रोक्न माग गर्नुभयो । शिक्षामा व्यापारीकरण र विभेदीकरण कायम रहेको भन्दै उहाँले शिक्षा ऐन संसदमा ल्याएर परिवर्तित परिस्थितिअनुसार बनाउन माग गर्नुभयो ।     

 सांसद डा. पुष्पाकुमारी कर्ण कायस्थले लोकसेवा परीक्षाको सन्दर्भ जोड्दै परीक्षार्थीलाई ट्युसन पढाउने ट्युसन सेन्टरमा कर्मचारी खटिएर सेवा प्रभावित भएको र परीक्षार्थीको समेत ठूलो धनराशि खर्च हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।     

 उहाँले सुरक्षाकर्मीका लागि एउटै पाठ्यक्रम निर्माण गरी एकैपटक परीक्षा सञ्चालन गरी मेरिटका आधारमा सिफारिस गर्ने तथा सबै सङ्गठित संस्था वा सार्वजनिक संस्थाका लागि एउटै पाठ्यक्रम सञ्चालन गरी मेरिटका आधारमा सिफारिस हुनुपर्ने माग गर्नुभयो । सांसद नरमाया ढकालले कैदीबन्दीसँग सम्बन्धित मुद्दामा ढिलासुस्ती हुने गरेकाले बन्दी प्रत्यक्षीकरणको मुद्दासरह प्राथमिकता दिन माग गर्नुभयो ।     

 सांसद दुर्गा पौडेले आमनिर्वाचन घोषणा गर्दा पनि लाखौँ प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुन नसकेको बताउनुभयो । सांसद प्रेम सुवालले ताइवानका सन्दर्भमा हालै भएका गतिविधिबारे नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।     

 सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा बाँदर र बँदेलले हैरान पारेको र ठूलो मात्रामा अन्नबाली नष्ट पारेको जानकारी गराउँदै सरकारले कुनै राहतको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो । विशेष समयमा सांसदहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, नवराज सिलवाल, दुर्गाकुमारी विश्वकर्मा, तेजुलाल चौधरी, मोहन बानियाँलगायतले धारणा राख्नुभएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …