तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा। दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् ।

कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताउनुभयो । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।

“किसानले बीउका लागि भनेर राखेको आलु नै कुहिएपछि उनीहरुमा चिन्ता थपिनु स्वाभाविक हो”, उहाँले भन्नुभयो, “ठूलो मारमा किसान पर्नुभयो । सरोकारवाला निकाय र बीमा कम्पनीसँग समन्वय गरेर तत्काल राहत दिलाउन पहल गरिरहेका छौँ ।” उहाँका अनुसार चिस्यान केन्द्रमा विभिन्न सहकारीमार्फत किसानले उत्पादन गरेका १० हजार ७६० बोेरा आलुको बीउ भण्डार गरिएको थियो ।

उहाँले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताउनुभयो । बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उहाँले जानकारी दिनुभयो ।

रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।

कमल गाउँपालिकाका किसान इन्द्र दाहालले आलु रोप्नका लागि माटो तयार गरेर बीउ आलुको बोरा घरमा ल्याएर खोल्दा ९० प्रतिशत कुहिएको फेला पारेको बताउनुभयो । “घरमा कुहिन्छ भनेर पैसा तिरितिरी चिस्यान केन्द्रमा आलु राखेका थियौँ”, उहाँले भन्नुभयो, “रोप्न भनेर केन्द्रबाट आलु घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइयो । अब के रोप्ने ?”

कमल गाउँपालिकाबाट आइपिएम कृषि सहकारी संस्थामार्फत १८० किसानको ८०० बोरा आलुको बीउ चिस्यान केन्द्रमा राखिएको थियो । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले पालिकालाई आलु पकेट क्षेत्रका रुपमा विकास गरेर किसानलाई आलुखेतीमा प्रोत्साहन गर्न लगानीसमेत गरेको छ ।

आलु रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसान आफैँले आवश्यकताअनुसारको बीउ कोल्डस्टोरमा भण्डारण गर्दै आएका थिए । बीउ आलु कुहिएका बारेमा कोल्डस्टोरले जानकारी नगराएको र घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइएको उहाँको भनाइ छ । चिन्तित मुद्रामा भेटिएका दाहालले संरक्षणका लागि कोल्डस्टोरमा पैसा तिरेर राखिएको हुँदा अब यसको क्षतिपूर्ति उनीहरुले भर्नुपर्ने माग गर्नुभयो ।

चिस्यान केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले कमल गाउँपालिकाको आइपिएम कृषि सहकारी संस्था, गौरादहको महारानीझोडा साना किसान सहकारी, दमक नगरपालिकाको मानसरोवार कृषि सहकारी, मोरङको पथरी कृषि सहकारीमार्फत किसानको बीउ आलु भण्डारण गरिएको जानकारी दिनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …