तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

म्याग्दी। कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब नमूनाको परीक्षणका क्रममा मिस्ट्रीखोलामा कार्यरत ११ र एकजना स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ । 

निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले बताउनुभयो । “सङ्क्रमित कर्मचारीलाई छुट्टै आइसोलेसनमा राखेर विद्युत्गृहको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय सरोकारवाला र आयोजना व्यवस्थापन पक्षसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना सञ्चालनका लागि पहल गरेका छौँ ।

सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सरेको आयोजनाले २०७८ वैशाख १ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने समय तालिका बनाएको थियो । विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ ।

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । 

बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अर्ब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् ।

यसैगरी नबिल बैंकले रु एक अर्ब, लक्ष्मी बैंकले रु ४० करोड, सिद्धार्थ बैंकले रु ३० करोड र एस डेभलभमेन्ट बैंकको रु ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाँट गरिएको छ ।

साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ सालमा जनेरेसन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु भएको थियो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । 

नारच्याङमा दुई मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन गत माघमा निर्माण सकिएको थियो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …