तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले १४औँ महाधिवेशनबारे दुई विकल्प अगाडि सारेका छन् । दुई दिनदेखि ठमेलमा जारी जिल्ला सभापतिको बैठकले अहिलेको परिस्थितिमा संविधानले तोकेको समयभित्र महाधिवेशन सम्पन्न हुनेमा शङ्का व्यक्त गर्दै दुई विकल्प अगाडि सारेका हुन् ।

बैठकमा क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै ‘फास्ट ट्र्याक’मार्फत पारदर्शी तरिकाले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिएर भदौभित्र निर्वाचन गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै बैठकमा भदौभित्र महाधिवेशन गर्न नसके १३औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिबाट ६ महिनादेखि एक वर्षसम्मका लागि विशेष महाधिवेशन गर्नेबारे छलफल भएको काङ्ग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिनुभयो ।

पार्टीको वैधानिकता निर्वाचन आयोगले दिन नसक्ने भन्दै संविधानले नदिएको बाटोमा पार्टी जान नहुनेतर्फ अधिकांश जिल्ला सभापतिको जोड रहेको सभापति आचार्यले बताउनुभयो । महाधिवेशनको प्रक्रिया नियमित हुनुपर्ने उहाँको भनाइ थियो । बैठकमा छलफलका क्रममा ३५ भन्दा बढी जिल्लाका सभापतिहरूले आफ्नो जिल्लाको क्रियाशील सदस्यता विवाद रहेको धारणा राख्नुभएको जिल्ला सभापतिको भनाइ उद्धृत गर्दै काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उक्त बैठकमा ३८ जिल्ला सभापति र भर्चुअल माध्यमबाट १७ जिल्लाका सभापतिको सहभागिता थियो ।

काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जिल्लाबाट पठाएको क्रियाशील सदस्यतालाई विवादरहित ढङ्गले टुङ्ग्याएर महाधिवेशनमा जानुपर्ने बताउनुभयो । जिल्ला सभापतिको बैठकमा सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले पाँच वर्ष ६ महिनाभित्र हरेक राजनीतिक दलले केन्द्रीय पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गरेको भएकाले भदौभित्र काङ्ग्रेसको महाधिवेशन नभए पार्टी अवैधानिक हुने बताउनुभएको थियो । पचहत्तर वर्ष लामो इतिहास बोेकेको काङ्ग्रेसमा अहिलेसम्म यस्तो परिस्थिति नआएको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जिल्ला सभापतिले दिएको सुझावका आधारमा पार्टीको महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताउनुभयो । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका जिल्ला सभापतिहरूको सुझावअनुसार क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन र विधिसम्मत महाधिवेशन गर्न नेतृत्वले पहल गर्नुपर्ने बताउनुभयो । जिल्ला सभापतिको बैठकमा भेला भएका नेताहरूले पार्टी सभापतिले भदौभित्रै महाधिवेशन सम्पन्न गर्छु भनेकाले महाधिवेशनबारे शङ्का नगरी यसका लागि लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …