तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसले व्यापक टीकाटिप्पणी निम्त्याएको छ।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि पक्ष-विपक्षमा सामाजिक सञ्जालहरूमा पनि फरक-फरक धारणा व्यक्त भइरहेका छन्।

पोखरामा सोमवार एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कैयौँ कारणले आफूमाथि प्रहार केन्द्रित रहेको दाबी गरे। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेको र नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेको पृष्ठभूमिमा ‌ओलीको पछिल्लो अभिव्यक्ति आएको हो।

प्रधानमन्त्रीले के भनेका थिए?

 प्रधानमन्त्री ओलीले सोमवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। त्यस क्रममा उनले आफूमाथि प्रहार केन्द्रित हुनुको एउटा कारण मात्रै नरहेको उल्लेख गरे। उनले भने, “नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइराखेको हुनाले, सरकार ठिक ढङ्गले सञ्चालन गरिरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढङ्गले अगाडि बढिरहेको हुनाले, विकास निर्माणका कामले गति लिइरहेका हुनाले ममाथि प्रहार केन्द्रित छ।”

आफूमाथि प्रहार “अत्यन्तै तीव्र गति”ले केन्द्रित रहेको पनि प्रधानमन्त्रीले दाबी गरे।

“यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तल-माथि भइहाल्यो भने पनि तपाईँहरूले अनौठो नमान्नुहोला। तर यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ।”

आफू नरहे पनि केही नहुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि थपे, “आन्दोलन छ, पार्टी छ। यस आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तिनका मतियारसामु घुँडा टेक्नु हुँदैन।”

“देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन। देश बनाउने पार्टीको भविष्यलाई अन्धकारमा जान दिनु हुँदैन।

सुरक्षाविद्‌ के भन्छन्?

 सुरक्षा मामिलाका जानकारहरूले प्रधानमन्त्रीको अभिव्यक्ति “अस्वाभाविक” भएको प्रतिक्रिया दिएका छन्। पछिल्लो समय नेकपाका दुई समूहका नेताले एकअर्कामाथि राजनीतिक प्रहार गरिरहेको अवस्था भए पनि भौतिक प्रहारको स्थिति नरहेको सुरक्षाविद्‌ गेजा शर्मा वाग्लेको ठम्याइ छ।

“उहाँको अभिव्यक्ति हास्यास्पद र गैरजिम्मेवार छ। किनभने प्रधानमन्त्रीलाई जे जति सुरक्षा छ त्यो मेरो विचारमा जस्तोसुकै सुरक्षा चुनौतीलाई सामना गर्न सक्षम छ,” वाग्लेले भने।

“यदि प्रधानमन्त्रीलाई साँच्चिकै सुरक्षा चुनौती छ भने उहाँले आफ्नै सुरक्षा प्रणालीलाई अविश्वास गरेको देखिन्छ।”

अहिले रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओली आफैँले सम्हालेका छन् भने गृहमन्त्रीको पदमा उनकै समूहका नेता रामबहादुर थापा छन्।

पूर्वगृहसचिव श्रीकान्त रेग्मी पनि प्रधानमन्त्री ओलीमाथि भौतिक प्रहार हुने सम्भावना आफूले नदेखेको बताउँछन्।

भीभीआईपीको सुरक्षा पाउने प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिले सुरक्षा निकायको मनोबलमा नकारात्मक प्रभाव पार्ने सम्भावना उत्तिकै रहेको उनी औँल्याउँछन्।

“त्रुटिरहित ढङ्गले प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीको यस्तो भन्दाखेरि सुरक्षा दिनेहरूको मनोबलमा प्रतिकूल असर पर्न सक्छ,” रेग्मीले थपे।

राजनीतिक उद्देश्य के?

 प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक फाइदा लिने उद्देश्यले पनि आएको हुन सक्ने एकथरीको विश्लेषण छ।

राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइमा सहानुभूति बटुल्न र नेकपाको प्रचण्ड- नेपाल समूहका नेता, कार्यकर्तालाई आफूतिर तान्ने उद्देश्यका साथ प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ।

बिबिसी 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …