तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

ताप्लेजुङ। मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् । भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।

स्थानीय प्रेम न्यौपानेले सोमबार बिर्तामोड (झापा)बाट दुई ट्रक युरिया र डीएपी मल, एक गाडी खाद्यान्न ल्याएका थिए । बेलुकी अबेरसम्म अनलोड गरे । पाँच लाख रुपैयाँबराबरको उक्त सामान न्यौपानेले थन्क्याउनै पाएका थिएनन् । पसलमा १० लाखको खाद्यान्न छँदै थियो । मंगलबार सबै खरानी बनेको न्यौपानेले सुनाए ।
‘केही पनि जोगाउन सकिनँ’, न्यौपानेले भने, ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो ।’

अर्का स्थानीय प्रदीप पोख्रेलका किराना र लत्ता कपडाका पसल थिए । पसलका सबै सामान खरानी बनेका छन् । ‘आगलागी सुरु भएको सँगै जोडिएको दुईवटा घरमा हाम्रो पसल थियो’, पोख्रेलले भने, ‘जीउमा लगाएको एकसरो कपडाबाहेक केही बचेन ।’ दुवै पसलमा गरी ८० लाख रुपैयाँभन्दा बढीको सामान जलेको पोख्रेलको भनाइ छ ।

फुङलिङ र फिदिम नगरपालिकाका दमकल र एस्काभेटर प्रयोग गरी आगो थप फैलनबाट रोकिएको थियो । त्यस क्रममा दुई घर भत्काइएको थियो । आगो मंगलबार साँझसम्म पनि पूर्ण नियन्त्रणमा भने नआएको अध्यक्ष लिम्बूले बताए ।

‘४९ घर जलेको र त्यहाँ पसल व्यवसाय गरेर बस्नेसहित ५५ परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक छ’, अध्यक्ष लिम्बूले अन्नपूर्ण पोस्ट्सँग भने, ‘एस्काभेटरले केही घर भत्काएपछि बाँकी बजार जोगाउन सफल भयौं ।’

गाउँपालिकाले आगलागीपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ नगद राहत प्रदान गरेको छ । । रेडक्रसले पाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताए । प्रवक्ता बराइलीका अनुसार पीडितलाई दोभानकै बाँकी रहेका घर, नजिकको खाली जग्गा र पाथीभरा मेमोरियल बोर्डिङ स्कुलमा बास बस्ने प्रबन्ध मिलाइएको छ । क्षतिको आधिकारिक विवरण संकलन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको अध्यक्षतामा समिति गठन गरेका छौं’, प्रवक्ता बराइलीले भने ।

स्थानीय गोपाल खवासले बिहान ९ः१५ बजेतिर भोला पौडेलको घरको दोस्रो तलाबाट आगो लागेको बताए । व्यवसायी गंगाराम गुरागाईंका अनुसार उक्त आगो तुरुन्त फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् । ‘एक्कासि आगो फैलियो । मालसामान, कागजात केही निकाल्न पाएनौं’, गुरागाईंले भने, ‘भागेर ज्यान जोगायौं । बजारका ५० घर जोगिए पनि अहिले आगो नजिकको खाम्लुङ भीरतर्फ सल्किएको छ । त्यसले साक्फारा बस्तीमा जोखिम हुन सक्ने वडाध्यक्ष गणेश भण्डारीले बताए ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय खटिएको ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताए । जिल्ला प्रहरी प्रमुख राणाका अनुसार विद्युत् सर्ट भई आगो सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तमोर र मैवा नदीको किनारमा रहेको घटनास्थल जिल्लाको साबिक क्षेत्र नं २ का सबै गाउँ जोड्ने व्यापारिक केन्द्र हो । बर्सेनि दुई तिरबाट नदीको कटानको मारमा पर्दै आएका स्थानीय आगलागीको चपेटामा परेका हुन् । ‘बर्खा लाग्नासाथ खोलामा बाढी आएर बगाउला कि भनेर सुत्न सकिन्नँ’, स्थानीय मानबहादुर मोक्तानले भने, ‘हिउँदमा आगोले सखाप बनायो ।’

जसका घर जले
प्रवक्ता बराइलीका अनुसार ३३ जनाका ४९ वटा घर जलेको पाइएको छ । एक जनाका सात वटासम्म घर भएको उनले बताए । आगलागीबाट डम्बर धिताल, डण्डु शेर्पा, हेम आङवोहाङ, भीम लंवा, सविन चुँडाल, श्याम चोङवाङ, भारती लिम्बू, गुरु पौडेल, सिङगडे शेर्पा, शुकवीर लिम्बू, चन्द्र पौडेल, पम्फा श्रेष्ठ, मोहन पोख्रेल र भोला पौडेलका घर जलेका छन् ।

यसैगरी राजेन्द्र पौडेल, राजकुमार श्रेष्ठ, कमल मुदेङछन्, लोकेन्द्र अधिकारी, खुसीमान लिम्बू, अटल पालुङवा, खुसीमानको आमा, चन्द्रहाङ लिम्बू र गजेन्द्र लिम्बूको घर जलेका छन् । टाँसी लामा, जंग लिम्बू, श्याम एभेङ, दावा शेर्पा, पवन लिम्बू, सिलाङगे लिम्बू, दिलकुमार लिम्बू, सूर्यप्रकाशलिम्बू र जय भट्टराईको घर जलेका छन् । घनश्याम भट्टराई, गणेश भट्टराई, टंक खतिवडा लामा बाबा, जीवन पौडेल, दावा शेर्पा, तारानाथ पोख्रेल, दिलकुमार सिवा, सूर्य प्रकाश, टेलिकम कार्यालय भाडामा थिए । मदन श्रेष्ठ, जीवन चोङवाङ, बुद्ध आङवोहाङ, नरजङ सोनाम, सुन पसल, प्रेम न्यौपाने, धनपति गुरगार्इं, शन्त तामाङ, रञ्जु लिम्बू, राजेन्द्र लिम्बू भाडामा बसेका थिए ।

एकै वर्ष तीन ठूला घटना
ताप्लेजुङमा यही वर्ष आगलागीका तीन ठूला घटना भएका छन् । माघ २० गते सिरिजंघा–१ सिनाममा पाँच घर जले । पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । जसमा १ सय ५० हेक्टर वन नष्ट भएको थियो । मन्दिरसमेत जोखिममा पारेको थियो । फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले । २८ परिवार विस्थापित भए । त्यहाँका विस्थापित अझै तंग्रिन सकेका छैनन् ।

‘एकपछि अर्को गरेर निरन्तर आगलागी हुन थाल्यो’, फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने, ‘यसले हामी उच्च जोखिममा परिरहेका छौं । यस विषयमा गम्भीर बहस आवश्यक छ ।’

यसअघि वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका थिए । वीरेन्द्र चोकमा २०६० चैत १५ गते भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो । त्यसैगरी २०७१ चैत ९ गते तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । त्यसअघि २०६९ माघमा शेर्पा टोलमा आठ घर जलेका थिए । जसमा २ करोड ५० लाख र २०७० साल कात्तिकमा टुक्रे बजारमा पाँच घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो ।

वीरेन्द्रचोकमा टुकी बत्तीबाट, तोक्मेको होटलमा रक्सी झान्दा चुलोमाथि सुकाएको दाउरा सल्किएर, टुक्रेमा सेलरोटी पकाउँदा र शेर्पा टोलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । दोभान बजारमा मंगलबार विद्युत् सर्ट भएर आगो लागेको भनिएको छ ।
‘मानिसले सावधानी नअपनाउँदा धेरै घटना हुने गरेको छ’, उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले भने, ‘आगोमा काम गर्दा, विद्युतीय उपकरण चलाउँदा होसियार हुनुपर्छ ।’ चुलोमा काम गर्ने विधिबारे तालिम चलाउन आवश्यक रहेको घिमिरेको भनाइ छ ।

जिल्ला सदरमुकाम फुङलिङसहित अधिकांश ग्रामीण बजारमा काठ र जस्तापाताले बनाइएका कच्ची घर धेरै छन् । त्यस्तै घरबाट बढी आगो लाग्ने गरेको पाइएको छ । पक्की घर बन्ने क्रम बढे पनि जस्तापाताकै छानो लगाउने चलन छ ।

अव्यवस्थित रूपमा ससाना टहरा बनाएर पसल गर्ने क्रमले पनि जोखिम बढाएको रेडक्रस जिल्ला सभापति इन्द्र गुरुङले बताए । ‘यस्ता टहरालाई तुरुन्त नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ र मापदण्डअनुसार घर बनाउन प्रेरित गर्नुपर्छ’, सभापति गुरुङले भने ।

२०७१ सालमा तोम्मेडाँडामा आगो लागेपछि बजारमा दमकल खरिद गर्ने ठूलै बहस भयो । चौतर्फी मागपछि नगरपालिकाले दमकल त खरिद गर्‍यो तर त्यसको व्यवस्थापन गर्न सकेको छैन । दमकल राख्ने ठाउँ नहुँदा बेवारिसेजस्तै छ । कहिले नगरपालिका अघि, कहिले प्रशासन कार्यालय र कहिले बजारको सडकमा राख्ने गरिएको छ ।

राष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आगलागीबाट प्रभावितका लागि यथाशीघ्र राहत तथा पुनःस्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्, ‘हावाहुरी र खडेरीको मौसममा हुने आगलागीजस्ता विपद्को जोखिमको न्यूनीकरण गर्न पूर्वतयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितहरूलाई राहत उपलब्ध गराउने बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राहतस्वरूप पाँच लाख रुपैयाँ तत्काल दिने बताएका छन् । अन्नपुर्णपोस्ट दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …