काठमाडौं। लगभग ५० वर्षसम्म सार्वजनिक पदमा रहेका र राष्ट्रपति बन्ने आकांक्षा जिन्दगीभरि पालेका जो बाइडन अब ह्वाइट हाउसमा प्रवेश गर्ने भएका छन् ।
यस्तो निर्वाचन अभियानको अपेक्षा कसैले पनि गरेको थिएन । एक शताब्दीमा एकपटक आउने महामारी र अभूतपूर्व सामाजिक अव्यवस्थाका बीच चुनाव सम्पन्न भयो । बाइडन गैरपरम्परागत तथा नजिरको धज्जी उडाउने बहालवाला राष्ट्रपतिविरुद्ध लड्दैथिए ।
राष्ट्रपति बन्नका लागि गरेको तेस्रो कोशिशमा बाइडन र उनको टोलीले राजनीतिक अवरोधलाई पन्छाउन र विजयको दाबी गर्न सफल भयो ।
डेलावेयरमा कार बेच्ने व्यक्तिका छोरा बाइडनले राष्ट्रपति चुनाव जित्नुमा प्रमुख पाँच कारण छन् ।
१. कोभिड
बाइडन राष्ट्रपति बन्नुमा सबभन्दा ठूलो कारण कोभिड हो । यस महामारीले अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी मानिसको ज्यान लिएको छ र सन् २०२० मा अमेरिकी जीवन र राजनीतिलाई उलटपुलट पारेको छ ।
आमनिर्वाचन अभियानको अन्तिमतिर आएर बल्ल डोनल्ड ट्रम्पले यसलाई स्वीकारे ।
‘झूटो समाचार दिनेहरूका लागि सबैथोक कोभिड, कोभिड, कोभिड हो,’ राष्ट्रपतिले विस्कोन्सिनमा अघिल्लो साता आयोजित एक भेलालाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
जनताको चिन्तालाई प्रतिबिम्बित गर्नका लागि मिडियाले कोभिडमा ध्यान दिएका हुन् । राष्ट्रपतिले कोरोना संकट व्यवस्थापन गर्न नसकेकाले जनताले दण्ड दिए ।
अघिल्लो महिना प्यु रिसर्चले गरेको सर्वेक्षणमा कोभिड व्यवस्थापनको सवालमा ट्रम्पको तुलनामा बाइडन बढी सक्षम साबित हुने छन् भनी १७ प्रतिशत बढी मानिसले मत दिएका थिए ।
ट्रम्पले आर्थिक वृद्धि र समृद्धिको सन्देशलाई चुनावी अभियानको केन्द्रमा राखेको भए पनि महामारी र त्यसले निम्त्याएको आर्थिक अवनतिले उक्त सन्देशलाई फितलो बनाइदियो । महामारी व्यवस्थापनमा ध्यान नदिने, विज्ञानमाथि प्रश्न गर्ने, साना तथा ठूला नीतिमा लथालिंगे पारा देखाउने र आफ्ना समर्थकप्रति पक्षपाती रहने ट्रम्पको बानीले अमेरिकीहरूलाई चिन्तित बनाएको थियो । महामारी व्यवस्थापनमा चुकेकाले ट्रम्पको समर्थन सूचकांक घट्यो र बाइडनले त्यसको फाइदा उठाए ।
२. शान्त चुनावी अभियान
आफ्नो राजनीतिक करीयरमा बाइडनले बोलीमा नियन्त्रण नराख्दा आफैंलाई समस्यामा पार्ने गरेका छन् । सन् १९८७ मा पहिलोपटक राष्ट्रपतिको उम्मेदवार बन्नका लागि लड्दा उनले अवाञ्छित कुराहरू बोलेर आफैंलाई कुठाराघात गरे । सन् २००७ मा फेरि एकपटक उम्मेदवार बन्न खोज्दा पनि उनको हाड नभएको जिभ्रोले उनलाई धोका दियो ।
तेस्रो प्रयासमा पनि उनले अनेकौं गल्ती त गरे तर त्यसले उनलाई तात्त्विक असर पारेन ।
यसको एउटा कारण चाहिँ राष्ट्रपति ट्रम्पको अझ जब्बर अनियन्त्रित बोली पनि हो । अनि अमेरिकामा कोरोना महामारी, जर्ज फ्लोयडको मृत्युपछि भएका प्रदर्शन र आर्थिक उथलपुथलले देशको ध्यान खिच्दा पनि बाइडनको अभिव्यक्तितर्फ धेरैको ध्यान गएन ।
तर बाइडनको निर्वाचन अभियानले उनलाई कमै मात्र एक्सपोजर दिएको र दौडादौड नगराएकोले पनि राम्रो काम गर्यो । नत्र थाकेको सुरमा वा भूलवश उनले बोलेको कुराले समस्या ल्याइदिन सक्थ्यो ।
यस निर्वाचनमा ट्रम्पको मुखले उनलाई धोका दिएको भन्नुपर्छ ।
३. ट्रम्प बाहेक जोकोही
बाइडनले राष्ट्रको आत्माका लागि भन्ने चुनावी नारा दिएका थिए । ट्रम्प अत्यन्तै विभाजनकारी र उत्तेजक भएकाले अमेरिकी जनतालाई शान्त र स्थिर नेतृत्व आवश्यक छ भनी बताउनु त्यसको आशय थियो ।
डेमोक्रेटहरूले यस निर्वाचनलाई दुई उम्मेदवारबीचको प्रतिस्पर्धा भन्दा पनि ट्रम्पमाथिको जनमतसंग्रहका रूपमा प्रस्तुत गरे ।
बाइडनले आफू ‘ट्रम्प नभएको’ भनी दिएको सन्देशले नै उनलाई विजयी बनायो । बाइडनको जीतले अमेरिकीहरूलाई राजनीतिका बारेमा नसोचिकनै हप्तौं बिताउन सकिने डेमोक्रेटहरूको साझा भनाइ रह्यो । हुन त त्यो मजाक थियो तर त्यसमा सत्यको अंश छ ।
४. मध्यमार्गी उपाय
डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने अभियानका क्रममा बाइडनलाई वामपन्थी खेमाबाट बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनबाट चुनौती आयो । उनीहरूको अभियान आर्थिक रूपमा बलियो थियो र त्यसमा भीड पनि व्यापक आएको थियो ।
उदारवादी खेमाबाट दबाब परेको भए पनि बाइडन मध्यमार्गी रणनीतिमा अडिग रहे । उनले सरकारी स्वास्थ्य सेवा, निःशुल्क शिक्षा वा सम्पत्तिमा कर लगाउने प्रस्तावलाई समर्थन गरेनन् । यसले गर्दा मध्यमार्गीहरूमाझ र असन्तुष्ट रिपब्लिकनहरूमाझ उनको अपील बलियो बन्यो ।
बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पनि यही रणनीतिको हिस्सा हो जबकि उनी पार्टीको वामपन्थी धारबाट कसैलाई उम्मेदवार बनाउन सक्थे ।
वातावरण र जलवायु परिवर्तनका सवालमा बाइडनले स्यान्डर्स र वारेनसँग निकटता देखाए । इन्धन ऊर्जामा आश्रित स्विङ स्टेटका मतदाताहरूलाई चिढ्याएर भए पनि स्वच्छ ऊर्जालाई प्राथमिकतामा राख्ने जवान मतदाताहरूलाई अपील गर्नु सही हुने उनको सोच रह्यो ।
५. धेरै पैसा, कम समस्या
सन् २०२० को आरम्भमा बाइडनको निर्वाचन अभियानमा पैसाको अभाव हुन थालेको थियो । उता ट्रम्प चाहिँ एक अर्ब डलर जति खर्च गरिरहेका थिए ।
तर अप्रिल महिनापछि बाइडनको निर्वाचन अभियानले व्यापक मात्रामा पैसा उठाउन थाल्यो । अक्टोबर महिनामा आइपुग्दा बाइडन अभियानसँग ट्रम्पको भन्दा साढे १४ करोड डलर बढी रकम थियो जसले गर्दा उसले सबै महत्त्वपूर्ण राज्यहरूमा टेलिजिभन विज्ञापनको बाढी नै ल्यायो ।
त्यसो त पैसा नै सबैथोक हैन । चार वर्षअघि क्लिन्टनले पानीको खोलो बगाएकी थिइन् भने ट्रम्पले थोरै पैसा खर्च गरेर चुनाव जितेका थिए ।
तर सन् २०२० मा कोरोनाका कारण अधिकांश अमेरिकीहरूले घरैमा बसेर मिडिया हेरिरहे । यस्तो अवस्थामा बाइडनसँग भएको बढी नगदले पछिसम्म पनि उनलाई मतदाताहरूमाझ बढी पहुँच दियो । उनले टेक्सस, जर्जिया, ओहायो र आयोवा जस्ता रिपब्लिकन किल्लाहरूमा पनि पैसा खर्च गर्न सके । सबै राज्यमा त उनलाई फाइदा भएन तर एरिजोना र जर्जियामा उनको अग्रता हुनु आक्रामक प्रचारबाजीकै कारणले गर्दा हो ।
बीबीसीमा प्रकाशित एन्थोनी जर्करको विश्लेषण
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …