तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल (वालिंग स्याङ्गजा)

उज्यालो भएको आत्मा जहांँ सत्य छ, चेतना छ, आनन्दमात्र छ, ऊ आँफै जड शरीरको रुपमा पनि विस्तारित हुने शक्ति राख्दछ, यसको नियन्त्रण र संचालन गर्दछ, त्यस तत्व वा पात्रको नाम हो ‘राम’ जसलाई इश्वर भगवान पनि भनिन्छ । तत्वतः राम आनन्दको प्रयाय हो जसले आँफूलाई विस्तार गर्ने वा धेरै हुने संकल्प गर्यो तब व्रम्हाजीलाई माध्यम बनाएर, यो जगत यो चराचर, ग्रह तारा नक्षत्रको उत्पत्ति भयो, हामी उत्पत्ति भयौं ।

उत्पत्तिकर्ताले आफनो श्रृजनलाई नियालेर हेरे, सबै जीव तथा प्राणीहरु, आंँधी व्याधिवाट व्याकूल भएको देखे तव उनीहरुको कल्याणको लागि उनै भगवानका अंशावतारको रुपमा उनै विष्णु, कहिले राम, कहिले कृष्ण, नरसिंह, बुद्ध , नारद, वशिष्ठ, व्यास, असित, देवल,र धेरै ऋषि महर्षिको रुपमा पृथ्वीमा जन्म लिएर आएका छन् र उनीहरुले देखाएको मार्गबाट मानिस तथा प्राणीहरुको कल्याण भएको प्रचीन इतिहासमा र अहिले पनि देख्न सकिन्छ । त्यसो भए पृथ्वीको भार हरण गर्न आएका मध्ये सच्चिदानन्द सर्वकल्याणकारी रामको जन्म कहांँ र कसरी भयो ? यहि प्रश्न माता उमाले भगवान शंकरसंग, गरुडजीले काक भुषुण्डसंग, भारद्वाजले वाल्मिकीसंग र पछि स्वयं रामले गुरु बशिष्ठसंग प्रश्न गर्नु भएकोमा वहांँहरुले बताउनु भएको छ । स्वयं भगवान विष्णुले अयोध्यामा पिता दशरथ र माता कौशल्याका कोखबाट चैत्र शुक्ल पक्षको नवमी तिथिमा सरयु नदीको किनारमा अयोध्या नगरीमा भगवान रामको रुपमा जन्म लिनु भएको थियो । जन्मिदा चार बाहुमा शंख चक्र गदा पद्म सहित वनमाला लगाएर भगवान विष्णु जस्तै दिव्य र सुन्दर शरीरमा थिए । आफनो कोखमा जन्म लिएका भगवानको यो दिव्य रुपवाट मोहित हुदै माता कौशल्याले भगवानकाे स्तुति र वन्दना गर्न लागिन् तब विष्णुले आमालाई भगवान जन्मेको नभै आफनो छोरा जन्मेको भनेर बुझ्ने , त्यस्तै मातृवत्सल व्यवहार गर्ने मन बनाइदिएको भन्ने कथामा उल्लेख भएको छ । पछि रामको विवाह जनक राजाको छोरी सीतासंग भयो ।

रामको आद्यशक्ति जगत जननी सीता हुन् जसको सहयोगमा दृश्यमान पदार्थ जगतको निर्माण हुन्छ । जव रामवाट सीतालाई खोस्ने धृष्टता गर्यो रावणले, उसको विनाश भयो यसको अर्थ हो जो सान्सारिक मायिक लोभमा मात्र फस्दछ, प्रकृतिको उपभोग वा विषय आनन्दमा मात्र लाग्दछ उसको विनाश हुन्छ ।जो भोगमा मात्र लिप्तरहन्छ त्यसले मर्यादा दया,क्षमाका गुणहरु समाप्त गर्दछ ऊ आत्मिकरुपमा पनि दुःखी हुन्छ र उसको वाह्य वैभव र सम्पत्ति पनि अन्ततः विनाश हुन्छ।राम रावणको युद्दको मूल सन्देश यही हो । जहांँ रामको उपस्थिति हुन्छ त्यहांँ लक्ष्मीरुपी सीता हुन्छिन्। जहांँ उनीहरु हुन्छन् त्यहाँ प्रचुर धनधान्य सम्पत्ति रहन्छ अभाव हुदैन र त्यहांँ सत्य न्याय विवेक क्षमा हुन्छ, त्यहांँ सुख शान्ति र अमनचयन हुन्छ।त्यसैले त हामी अहिले पनि रामराज्यको चर्चा गर्दछौ ।

हाल यिनै मर्यादापुरुषोत्तम भगवान रामको जन्म भारतको अयोध्या नगरीमा नभएर नेपालको चितवनमा पर्ने ठोरी र वाल्मिकी आश्रमको नजिक भएको हो भन्ने नयाँ विचार र तर्कहरु आएको छ त्यो पनि सम्माननीय प्रधानमन्त्रीज्युबाट त्यस पछि भने यस विषयले चर्चा पाएको छ ।कतिले यसको समर्थन गरेका छन र कतिवाट यस विचारको विरोध पनि भैरहेको छ । चर्चा जोवाट जसरी चलेता पनि यस कुराको पुष्टि विभिन्न तथ्य र आधारहरू नभएसम्म प्रमाणित हुन सक्दैन । यसै विचारलाई पुष्टि गर्नका लागि के तर्क गरिएको छ भने अयोध्यावाट जनकपुर विवाह गर्न आउनै धेरै दिन लाग्छ यो कसरी सम्भव छ ? अयोध्यावाट नेपालको वाल्मिकी आश्रम धेरै टाढा भएकोले त्यतिवेला रामवाट पर्गेलिएकी सीता कसरी वाल्मिकि आश्रममा आउन सकिन ? यसर्थ चितवनको ठोरी क्षेत्र नै अयोध्या हो यहाँबाट जनकपुर विवाह गर्न जानका लागि पनि नजिक पर्दछ र रामवाट पर्गेलिए पछि सीता नजिकै रहेको वाल्मिकी आश्रममा पुगेकी हुन् भन्ने तर्कहरु गरिएको छ । यसै सन्दर्भमा रहेर यहाँ केही तर्कहरु प्रस्तुत गर्ने कोशिस गरिएको छ ।

यदि अयोध्यावाट वरियात लिएर विवाह गर्न जनकपुर आउन असम्भव मान्ने हो भने रामेश्वरमवाट करिव ५० कि.मी समुन्द्र पारी रहेको लंका सम्म लडाइ गर्न राम र उनीहरुको वानर सेना कसरी गए होलान ? अहिले जस्तो त्यतीवेला पुल हाल्ने प्रविधि थिएन होला, समुन्द्रमा ढुंगा फ्याकेर उत्रिएको ढुंगामा टेकेर गए भन्ने कुरा पनि विश्वास गर्न कठिन छ । त्यसै गरी रामको सेनामा वानर भालु आदि थिए ।मानिसको लडाइमा वानर भालु कसरी लडे जो चारखुट्टे पशु प्राणी हुन् ।हात हतियार कसरी चलाए ? कस्तो भाषामा यिनीहरुको वोलीचाली भयो ? मानिस र पशुको भाषा त मिल्दैन, कतिपय अवस्थामा रामलाई उनीहरुले सल्लाह समेत दिएका छन् । लंकाको लडाईमा लक्ष्मण वेहोस भए र उपचारको लागि वुटीको आवस्यक भयो, लंकामा पाइएन तव हनुमान हिमालयमा वुटी लिन आए उडेर वुटी चिनेनन् नचिनेपछि वुटीहरु भएको पहाड उप्काई वोकेर उड्दै लंकामा पुर्याए । एउटा वनारले पहाड उक्काएर वोकेर उडाएर लगे कसरी सम्भव भयो होला ? अयोध्यावाट जनकपुर एकै दिनमा आउन सक्ने कुरा भन्दा उपर्युक्त्त कामहरु धेरै असंभव खालका छन् ।

सम्झन’ पर्ने अर्को कुरा राजा जनकले छोरी दिनको लागि टाढा नजिकको शर्त राखेका होइनन, शिवको पिनाक धनुष उचालेर जस्ले भाँच्न सक्छ त्यसैसंग सीताको विवाह हुने घोषणा गरेका हुन् । कथा अनुसार त्यस समारोहमा संंसारभरका राजामहाराजा राजकुमारहरु प्रतिस्पर्धामा उपस्थित थिए, अरु कसैले सो धनुष भाँच्न सकेनन्अयोध्याका राजकुमार रामले भाँचे तव विवाह भएको हो । त्यसैगरी राम विवाहका लागि अयोध्यावाट निस्केका होइनन त्यतीबेला राम लक्ष्मण विश्वामित्रको यज्ञ रक्षाका लागि विश्वामित्र आश्रममा थिए । जानकीको स्वयंवरको कुरा विश्वामित्रले थाहा पाएर उनले राम लक्ष्मणलाई जनकपुर लिएर गएका थिए ।पछि अयोध्यावाट भरत शत्रुधन सहितको वारियातलाई झिकाएर विवाह सम्पन्न भएको थियो । यसै गरी भगवान रामले ढुंगालाइ छुंँदा गौतम पत्नी अहल्या जीवित भएर उभिइन्् । यो पनि अहिलेको विज्ञानले सिद्ध हुनसक्दैन यस्ता धेरै चामात्कारिक कर्महरु रामायणमा पुराणहरुमा जतासुकै भेटिन्छ । के त्यसो भन्दैमा हाम्रा धार्मिक सास्कृतिक आस्थाहरु बदलिन्छ ? अहिले असंभव लाग्ने, अपात्यारिला लाग्ने चामत्कारिक उपर्युक्त्त कार्यहरु तत्कालीन अवस्थामा हुन सक्थ्यो भन्ने म विश्वास गर्दछु ।

विभिन्न पुराणहरुमा भनिएको छ सत्य युगमा मानिस एकलाख वर्ष वांँच्थ्यो, त्रेत्रा युगमा दश हजार वर्ष, द्वापरमा एकहजार वर्षको आयु हुन्थ्यो र कलिमा १०० वर्षको आयु मानेको छ । यस हिसावले हुन सक्छ तेत्रा युगमा मानिस आजका भन्दा सय गुना बढी वलिया थिए, १०० गुणा चांँडाे हिड्थे त्यस्तै गुणा बढी बल र वुद्धि थियोे ।त्यस्तै चांँडो हिड्ने हात्ती घोडा थिए त्यसवाट वनेको रथ अहिलेको रेल जत्तिकै चांँडो गुडथ्यो होला, होला त्यतीवेला पनि समय सापेक्ष त्यस्तै अरु पनि अत्याधुनिक साधन थिए । हुन सक्छ पंक्षी,वानर भालु पनि मानिस जस्तै विवेकशील र ज्ञानी पनि थिए होलान जस्तै गरुड, कागभुषुण्ड, वाली,हनुमान,सुग्रिव, जाम्ववन्त, जटायु, नागहरु आदि । त्यसैले हामीले अहिले ठान्ने चामत्कारिक काम त्यतीवेला सहज हुनपनि सक्थ्यो होला असंभव छैन । रामायणका अनुसार भगवान रामको पुस्पक विमान थियो भने रावणको दरवारनै विमान जस्तै उडाउन सकिने खालको थियो र अझ अचम्मको कुरा रावणले स्वर्ग जाने सुनको सिँढी समेत बनाउनेमा थियो ।

त्रेता युगमा मानिस अयोध्यावाट जन्ति लिएर जनकपुर आउन धेरै टाढा भएकोले यो कुरा हैन भनेर तर्क गरेर मात्र वाल्मीकी आश्रमलाई अयोध्या प्रमाणित गर्न सिद्द गर्न खोज्नु’ वलियो तर्क होइन वरु तत्सम्वन्धि शास्त्र प्रमाणहरु, सम्वन्धित ठाउँको उत्खनन, स्थानीय भाषाको, सस्कृतिको अनुसन्धान विद्वान धर्मगुरुहरु, इतिहासकारहरुको गोष्ठी छलफलवाट यसको खोजी र सिद्धि गर्ने विश्वासिला उपायहरु हुन् । चितवनको ठोरी वा नजिकै वाल्मिकी आश्रममा रामको जन्मभूमि हुनसक्दैन भन्ने मेरो भनाई र तर्क होइन । योगवाषिष्ठ ग्रन्थको उत्पत्ति प्रकरणमा स्वयं रामले जिज्ञासु वनेर गुरु वशिष्ठसंग प्रश्न गर्नुभएकाे छ, यो श्रृष्टि कहिले भयो, कसले गर्यो ? तव स्वयं वशिष्ठ ऋषिले भगवान रामलाई, भन्नु भएको छ “हेर राम यो श्रृष्टिको उत्पत्ति र प्रलय हजारौ पटक भैसकेको छ पचासाैं पटक तपाई रामको जन्म पुर्वकालमा भैसकेको छ” अझ त्यहांँ वशिष्ठजीले के पनि भन्नु भएको छ भने जन्मको स्थान वा परिवेश संधैको एउटै छैन, कहिलेकाँही केही भिन्न अवस्थामा पनि अवतार भएको छ भनेको हुंँदा हुनसक्छ राम पूर्वकालमा अन्यत्र कतैको अयोध्यामा पनि जन्मे होलान असंभव छैन किन भने राम सीताको नाम जेडिएका ठाउँहरू नेपाल भारत र अन्यत्र समेत लाखैां छन् तर सरयु नदी रामकाे जन्म र मृत्यु दुवै घटनासंग जाेडिएकाे कुरा बिर्सन चाँही मिल्दैन । रामचरित मानसमा गरुडले काकभुषुण्डसंग यस्तै प्रश्न गरेका थिए र उनको उत्तर पनि यस्तै नै छ । तर पनि राम जन्मभूमिको खोज अनुसन्धान जति महत्वपूर्ण छ त्यो भन्दा राम रस र तत्वको खोज, तत्वज्ञानकाे प्राप्तिले मात्र जीवन रुपान्तरण सम्भव छ। दुःख मुक्तिको सम्भावना छ । तत्वतः रामको न जन्म हुन्छ न मृत्यु । राम नित्य तत्व हो । यसको न आदि छ न अन्त नै । हामी वसेको पृथ्वी र सारा व्रम्हाण्ड यसमा स्थित छ र हामीभित्र यहि तत्व छ जसले हामीलाई आकार र उर्जा दिएको छ । हामीले चित्त निर्मल गर्न सक्यौं भने त्यहीनै अयोध्या पुरी हो तेही नै अवध नगरी हो तेँहानै रामको वास हुन्छ त्याँहा सत्य, न्याय, क्षमा, दया परोपकार हुन्छ, त्यसैले राम सर्वदेशीय र सर्वकालीक छन् र देश र काल भन्दा माथि पनि छन्।उनलाई कुनै देश वा स्थान भित्र सीमित गरिन खोज्नु राजनितिक स्वार्थको अर्थ लाग्न सक्छ । रामको उपाशना, चिन्तन, अनुसन्धान, रामको पुजा गरियो भने राम अहिले पनि हाम्रै स्थानमा भेट्न सक्छौं।भगवान भक्तको अधीन हुन्छन् भक्तले सधैं भगवानलाई जित्न सक्छ यसो गरियो भने हामी सवैको कल्याण होला । राम जन्मभूमिको प्रसङ्ग उच्चारण गर्दा लाभ नै हुन्छ किन भने एक पटक नास्तिक अजामीलले त मर्ने वेलामा नारायण नामको छोरालाई बोलाउंँदा यसैका प्रभावले यमराजका दुतहरुले अजामिललाई छोडेर गएथे । एउटा उखान छ “अमृत जानेर खाए पनि काम गर्छ नजानेर खाए पनि” । राम नाम नै काफी हुन्छ। अन्तिम भरोसा पनि रामनै हुन् ।भनिन्छ राम नाम सत्य हो । राम राम ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …