तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

लजालु हिउँचितुवालाई मानिसले नै मार्छन् बाघ झम्टिन्छ, हिउँचितुवा लजाउँछ

काठमाडौँ। सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाल्नुभयो, त्यतिबेला उहाँको शरीर थरथर काँपिरहेको थियो ।

तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उहाँलाई लागेको थियो । उहाँसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा. रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराउनुभएको थियो तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन् । बरु लजालु, भलादमी स्वभावका थिए । मान्छे देख्दा लुसुक्क भाग्ने, लुक्ने प्रकृतिका थिए ।
बिरालो प्रजातिका पाटे बाघ, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, चरीबाघ, जङ्गली बिरालोलगायतका जनावर हिंस्रक हुन्छन् भन्ने सैद्धान्तिक ज्ञान सिकाएका विश्वविद्यालयका प्राध्यापकले हिउँचितुवाको बासस्थानमा गएर उसको आनीबानी, व्यवहार अवलोकन गर्नु र त्यसलाई लिपिबद्ध गर्नु कक्षाकोठामा पढाएजस्तो सजिलो थिएन ।

त्यति बेलाको अनुभव सम्झँदै प्रा. शाहले भन्नुभयो, “अध्ययन सुरु गर्दै गर्दा हिउँचितुवा जति डरलाग्दो र हिंस्रक होला सोचिएको थियो, त्यो पटक्कै भेटिएन तर ऊ त यति भलादमी र लजालु रहेछ कि हामीले सोचेको भन्दा निकै फरक । हामी देख्दा ऊ लुक्यो, हामी अगाडि बढ्यौँ, ऊ लुसुक्क पर भाग्यो, हामी उसको नजिक पुग्नै थाल्यौँ, ऊ त भीरबाट हामीले नदेख्ने गरी खोल्सीमा झ¥यो । हामीतिर उसले खासै वास्ता गरेन । बाघ, चितुवा भएको भए हामीलाई बाँकी राख्दैनथ्यो होला ।

उपल्लो मुस्ताङमा हिउँचितुवाको अध्ययन गरेर विद्यावारिधि गर्नुभएका डा. मधु क्षेत्रीको अनुभव पनि प्रा. शाह र डा. ज्याक्सनको जस्तै छ । डा. क्षेत्रीले भन्नुभयो, “हिउँचितुवा नजिकै छ भनेर हाम्रो अध्ययन टोली बिस्तारै हिउँचितुवातिर लाग्दै थियौँ । नजिकै पुगेपछि उसले सुरक्षा खतरा महसुस गरेछ । अकस्मात हामीतिर उठेर आयो । हामी डरायौँ तर ऊ लाज माने जस्तै गरेर फर्केर कुलेलाम ठोक्यो तर त्यो ठाउँमा बाघ, चितुवा भएको भए हामी बाँच्दैनथ्यौँ होला ।

‘हिमालकी रानी’ भनेर चिनिने हिउँचितुवासम्बन्धी अध्ययनमा संलग्न विज्ञका यी अनुभवले हिउँचितुवा नरभक्षी होइन, बरु लजालु, भलादमी, सुन्दर प्राणी हो, यसले मान्छेलाई मार्दैन भन्ने कुरालाई जोड दिन्छ । पछिल्ला दिनमा हिउँचितुवाको छाला, हड्डी तथा अन्य अङ्गको अवैध व्यापारका लागि मानिसले हिउँचितुवाको चोरी सिकार गर्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन् ।

प्राणीशास्त्रका प्राध्यापक शाह र डा. क्षेत्रीका दाबीअनुसार विश्वभरि अहिलेसम्म हिउँचितुवाले मानिसलाई मारेको घटना छैन तर जम्काभेट हुँदा मानिस आत्तिएर, भाग्दै गर्दा लडेर घाइतेसम्म भएका घटना बाहिर आएका छन् । प्रा. शाहले भन्नुभयो, “न त नेपालमा, न त विश्वको कुनै पनि मुलुकमा हिउँचितुवाले मानिसलाई आक्रमण गरेर मारेको भन्ने रेकर्ड अहिलेसम्म छैन । बरु यसको छाला, हड्डीलगायतका अङ्गको अवैध व्यापार गर्न भनेर मानिसले बेला–बेला यसको सिकार गरेको देखिन्छ, जुन दुर्भाग्यपूर्ण हो ।”

विश्वमा पहिलो पटक प्रा. शाह र अमेरिकी वैज्ञानिक डा. ज्याक्सनको टोलीले डोल्पामा हिउँचितुवाको अध्ययन गरेको हो । नेपालको सो अध्ययनले हिउँचितुवाको बारेमा धेरै कुरा बाहिर ल्याएपछि चीन, भारत, मङ्गोलिया, पाकिस्तान, तुर्किस्तानलगायतका हिउँचितुवा पाइने देशमा थप अध्ययन
भएका छन् ।

नेपाललगायत विश्वका १२ वटा देशमा मात्र बिरालो प्रजातिको यो वन्यजन्तु पाउने गरेको छ । उच्च हिमाली क्षेत्रमा बासस्थान भएको यो प्राणीको सङ्ख्याको गणना हुन नसकेको भए पनि नेपालमा तीन सयदेखि पाँच सयको सङ्ख्या पाइने अनुमान गरिएको हिउँचितुवामा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका अशोक सुवेदीले जानकारी दिनुभयो । यसको आहार प्रजातिमा नाउर, झारल, कस्तुरी मृगलगायतका हिमाली वन्यजन्तु हुन् ।गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …