तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी कार्यान्वयन गर्न बाटो खुलेको छ ।

‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ पारित भएसँगै प्राधिकरण अब विभाजन हुने भएको छ । यी विधेयक तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ मा राष्ट्रिय सभामा दर्ता गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ अन्तर्गत स्थापित भएको प्राधिकरणले नियमन र हवाई सेवा दुवै दिँदै आएको छ । अब नियामक र सेवाप्रदायक गरी प्राधिकरण अलग–अलग दुईओटा निकायमा बाँडिनेछ ।

प्रवक्ता राजकुमार क्षत्रीले विधेयक पारित भएसँगै यसलाई दुईओटा निकायमा टुक्र्याउन बाटो खुलेको बताए । उनका अनुसार अहिलेको संरचना विभाजन हुँदा नियमनतर्फ भएका कर्मचारीहरू नेपाल हवाई सेवा प्राधिकरणमा जान पाउँदैनन् भने हवाई सेवातर्फ भएका कर्मचारीहरू नियमन प्राधिकरणमा कार्य गर्न पाउने छैनन् । अहिले प्राधिकरणमा १ हजार २२५ जना कर्मचारीहरूको दरबन्दी छ ।

विगतमा १ हजार ५४ दरबन्दी रहेकोमा अहिले पोखरा र भैरहवा विमानस्थल थपिएपछि दरबन्दी संख्या बढेको हो । प्राधिकरण टुक्रिएपछि नियमनतर्फ १२५ जना र अरू कर्मचारीहरू नेपाल हवाई सेवा प्राधिकरणमा जानेछन् । ‘नियमन र सेवा प्रदान गर्ने गरी प्राधिकरण अलग हुँदा स्वार्थको द्वन्द्व हुँदैन,’ उनले भने, ‘नियमनको काम थप प्रभावकारी हुन्छ र हवाई सुरक्षा पनि थप वृद्धि हुने अवस्था आउँदा यसबाट ईयूको कालोसूचीबाट हटाउने विषयमा टेवा पुग्छ ।’ अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले २००९ देखि नै प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रूपमा छुट्टाछुट्टै स्थापना गर्न सुझाव दिँदै आएको थियो । यूरोपेली संघ (ईयू)ले नेपालको उड्डयन क्षेत्रलाई २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

नेपालको हवाई सुरक्षामा गम्भीर चासो देखाउँदै आएको ईयूले यूरोपका आकाशहरूमा नेपाली विमानहरू सञ्चालन गर्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, आईकाओले भने २०१७ मा प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

नेपालको हवाई उडान सेवालाई सुरक्षित, स्तरीय, विश्वसनीय बनाई सुविधायुक्त विमानस्थलको निर्माण, स्तरोन्नति र अन्तरराष्ट्रिय मापदण्डअनुरूप विमानस्थल तथा एयर नेभिगेशन सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल हवाई सेवा प्राधिकरण (एएसएएन) को स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ ।

उक्त विधेयकमा नेपाल हवाई सेवा प्राधिकरणको संक्षिप्त नाममा एएसएएन उल्लेख गरिएको छ । यो प्राधिकरण स्वशासित संस्थाका रूपमा अघि बढ्ने पनि विधेयकमा उल्लेख छ । विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापन गर्ने काम अब एएसएएनको हुनेछ । यसका साथै विमानस्थलमा भूमिस्थ अर्थात् ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्ने गराउने, जहाज उडान तालिका स्वीकृत गर्ने र उडान अनुमति पनि एएसएएनले गर्नेछ । हेलिप्याडसम्बन्धी मापदण्डलगायत यीसहित १७ ओटा कार्य नेपाल हवाई सेवा प्राधिकरणले गर्ने विधेयकमा उल्लेख छ ।

अब गठन हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएए नेपाल) सेवाप्रदायक संस्थाहरूको नियमनकारी निकाय रूपमा काम गर्ने प्रयोजनका लागि स्थापना गरिनेछ । स्वशासित संस्थाका रूपमा रहने यो प्राधिकरणका काम कतव्र्यहरू २९ ओटा तोकिएको छ ।

वायुसेवा सञ्चालन प्रमाणपत्रदेखि अल्ट्रालाइट, माइक्रोलाइट, बेलुन, प्याराग्लाइडिङ, ह्याङ्ग्लाइडिङजस्ता मनोरञ्जनात्मक उड्डयन क्रियाकलाप सञ्चालनको प्रमाणपत्र पनि यो निकायले जारी गर्नेछ । यस्तै हवाई सुरक्षा प्रदान गर्ने संस्था, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा अन्य सेवाप्रदायकको सुरक्षा सुपरिवेक्षण गर्ने काम पनि यो प्राधिकरणबाट हुनेछ । अभियान दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …