तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो ।

उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत रु १२÷१२ लाख बजेट आएको थियो । कूल रु १५ लाखको योजनामा स्थानीयवासीले रु तीन लाख बराबरको श्रमदान गरेका थिए । राम्चेढुङ्गाको आठ रोपनी जग्गा समेटेर उद्यान बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताउनुभयो । उक्त बजेटबाट उद्यानसम्म पुग्ने २०० मिटर पदमार्ग, प्रवेशद्वार, टिकटकक्षसहितको भवन, शौचालयलगायत संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।

हरियाली उद्यानका लागि त्यहाँ विभिन्न प्रजातिका बोटबिरुवासमेत रोपिएको छ । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा उद्यान बनाइएको हो । उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । थप आर्थिक स्रोत जुटाएर पोखरी, विश्रामस्थल, मन्दिर आदि निर्माण गरेर बृहत् पर्यटकीय उद्यानका रूपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष थापाले बताउनुभयो । “सबै पूर्वाधार तयार गर्दा रु एक करोड जति बजेट लाग्ने हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो ।

राम्चेढुङ्गालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् । गाउँले जनजीवन, कला र संस्कृति झल्काउने सांस्कृतिक सङ्ग्रहालय पनि निर्माणको अन्तिम चरणमा छ । गण्डकी प्रेदशसभा सदस्य चन्द्रबहादुर बुढाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु ११ लाख बजेटबाट सङ्ग्रहालय भवन बन्न लागेको हो ।

उक्त सङ्ग्रहालय बनेपछि राम्चेढुङ्गामा नयाँ पर्यटकीय आकर्षण थपिनेछ । मनोरम प्रकृति, भू–बनोट र हिमशृङ्खलाको अवलोकन त्यहाँका मुख्य आकर्षण हुन् । गलकोटको अर्को आकर्षक गन्तव्यस्थल सहस्रधारा झरना परिसरमा बनेको उद्यानले त्यस क्षेत्रको सौन्दर्य बढाएको छ । उद्यान निर्माण योजनाअन्तर्गत झरनासम्म पुग्ने पदमार्ग, पोखरी, शौचालय, बगैँचा निर्माण, वृक्षरोपणलगायतका काम गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो

। ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरिएको हो । सहस्रधारा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि नगरपालिकाले पनि बर्सेनि लगानी गर्दै आएको छ । “सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ पूर्वाधार निर्माणमा जोड दिएका छौँ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । उक्त झरनामा दुई वर्षअघि पहिलोपटक व्यावसायिकरूपमा क्यानोनिङ खेलाइएको थियो । राम्चेढुङ्गा र सहस्रधारा गलकोटका उदाउँदा पर्यटकीयस्थल हुन् ।

राम्चेढुङ्गामा व्यावसायिक प्याराग्लाइडिङ र सहस्रधारा झरनामा छाँगावरोहण (क्यानोनिङ) खलेको सम्भावना छ । पूर्वाधार निर्माणसँगै पर्यटकीय आकर्षण थपिन थालेपछि दुवै ठाउँ घुम्न जानेको सङ्ख्या पनि बढ्दो छ । उद्यान निर्माणले पर्यटकीय आकर्षण बढ्नुका साथै पर्यावरण पनि संरक्षण हुने जनाइएको छ । शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यान निर्माणको योजना ल्याइएको हो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …