तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं। कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ ।

खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ । कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर सोमवार २६६ जना संक्रमित थपिएका छन् । यीमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।काठमाडौंमा ९८, ललितपुरमा २६ र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् । उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि कडाइ गरिएको छ । उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खुला सीमाका कारण निर्बाध ढंगले भारत आवतजावत भइरहँदा संक्रमणको जोखिम उच्च रहेको विज्ञ बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले खुला सीमालाई तत्काल व्यवस्थित नगर्ने हो भने २ महिनाभित्र संक्रमण उच्च वृद्धि हुने बताए ।

भारतमा फागुन १७ गते संक्रमितको संख्या ११ हजार ५६३ थियो । अहिले दैनिक संक्रमितको संख्या १ लाख नाघेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

नेपालका २८ जिल्ला भारतसँग जोडिएका छन् । भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । छत्तीसगढ, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दैछ ।

‘निश्चित नाका तोकेर स्वदेश आउन दिनुपर्छ । सीमाबाट छिरिसकेका व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्नुपर्छ । विगतको गल्ती दोहोर्‍याउनु हुँदैन,’ डा. प्याकुरेलले भने ।

नेगेटिभ आएका व्यक्तिलाई क्वारेन्टीन राखेर १४ दिनपछि घर फर्कन दिनुपर्ने उनको सुझाव छ । पोजिटिभ देखिए उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले सीमा क्षेत्र व्यवस्थित गरी स्वास्थ्यकर्मी परिचालन गर्न ढिलाइ भएको बताए । ‘नाकाहरूमा कडाइ गर्नुपर्छ,’ डा. मरासिनीले भने, ‘सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्नुपर्‍यो । नेपाल छिर्नेको ज्वरो नाप्ने गर्नुपर्‍यो । घर भाडामा लिएर भए पनि आइसोलेसन र क्वारेन्टीनको व्यवस्था गर्नुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नगर्ने हो भने आगामी जेठ–असार महिनामा कोरोना संक्रमण पुनः वृद्धि हुने मन्त्री त्रिपाठीको भनाइ छ ।

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च विन्दुुमा पुग्न सक्ने देखिन्छ,’ प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्री त्रिपाठीले भने ।

उनले भारतमा संक्रमणको बढ्दो वृद्धिदरले सरकारलाई थप सचेत र सतर्क बनाएको बताए । कोरोना संक्रमण नियन्त्रण गर्न संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टीनको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे । सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको भनाइ थियो ।

काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोरोना संक्रमण बढ्न नदिन नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था गरिएको बताए ।

हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने, नाकाका नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने, शंकास्पद व्यक्तिको पीसीआर परीक्षण  गर्ने र  कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ । सबै नगरपालिकाले आ–आफ्नो नगरपालिकाभित्र कम्तीमा १/१ वटा आइसोलेसन केन्द्र र क्वारेन्टीन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …