तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप) भोलि बुधबारबाट कार्यान्वयनमा ल्याउँदै छ । संघीयता सफल र कार्यान्वयन पक्ष सशक्त बनाउने उद्देश्यसहित सरकारले आर्थिक वर्ष २०७७-७८ देखि २०८७-८८ लक्षित दस वर्षीय रणनीतिक योजना लागू गर्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मार्गचित्र (रोडम्याप) बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनमा आएको घोषणा गर्ने छन् । विगतदेखि नै सरकारले दर्जनौं नीति, योजना तथा कार्यक्रम बनाए पनि कार्यान्वयन सशक्त हुन नसक्दा परिणाम देखिन सकेको छैन । यसपटक भने संघीयता कार्यान्वयनका लागि बनाइएको रोडम्याप कार्यान्वयन हुने आशा गरिएको छ ।

असल परिणाम दिन सक्ला ? 

– संघीय निजामती सेवा छिट्टै 

– प्रदेश निजामती र स्थानीय सेवामा मार्ग प्रशस्ति 

– तीन तहबीच समन्वय राख्न छुट्टै प्रणाली 

– प्रतिभावान्लाई सरकारी सेवामा विशेष आकर्षण 

– कर्मचारी सरुवा बढुवा अनुमानयोग्य बनाइने

मन्त्रालयले संघीयता कार्यान्वयनका लागि मुख्य चार रणनीतिक स्तम्भ तय गरेको छ । जसअनुसार संघीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण, सेवा प्रवाह र सुशासन छन् । यी रणनीतिक स्तम्भ व्यवस्थापनमा आवश्यक रणनीति र कार्यनीतिसमेत तय गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

चार पक्ष कमजोर हुँदा संघीय शासन प्रणाली संस्थागत विकासमा गम्भीर समस्या देखापर्न थालेको भन्दै संघीयता विज्ञले चिन्तासमेत व्यक्त गर्न थालेका छन् । संघीय शासन प्रणालीले जनताका घरदैलोमै सहज सेवा सुविधा दिन सक्नुपर्छ तर संघीयता अभ्यास थालिएको पाँच वर्ष पुगिसक्दासमेत आमजनतामा सरकारी सेवाप्रति विश्वास बढेको देखिँदैन ।

सरकारद्वारा तय पहिलो रणनीतिक स्तम्भअन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच प्रशासनिक अन्तरसम्बन्ध सुदृढ, संघ र स्थानीय तह एवं प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी अन्तरसम्बन्ध कायम गरिनेछ । सो रणनीतिअन्तर्गत तय कार्यनीतिमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवा गठन तथा सञ्चालन नीति कानुन, मापदण्ड तर्जुमा तथा परिमार्जन गरिने लक्ष्य निर्धारण गरिएको छ ।

यसैगरी, प्रदेश निजामती, अन्य सेवा तथा स्थानीय सेवा संगठन संरचना निर्माणसम्बन्धी नीतिगत आधार तय गरिने कार्यनीति तय गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सेवाबीच प्रशासनिक साझेदारी र अन्तरसम्बन्ध कायम प्रणाली स्थापना गरिने भएको छ ।

निजामती प्रशासन हाक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन संघीय शासन लागू भएको पाँच वर्ष पुगिसक्दासमेत जारी हुन सकेको छैन । केन्द्रमा संघीय निजामती सेवा ऐन बन्न नसक्दा त्यसको असर प्रदेश र स्थानीय तहमा परेको छ ।

चार रणनीतिक स्तम्भ

संघीयता कार्यान्वयन सहजीकरण 

सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन 

स्थानीय पूर्वाधार विकासमा सहजीकरण

सेवा प्रवाह र सुशासन

प्रदेश सरकारले निजामती सेवा ऐन बनाउन नसक्दा र स्थानीय तहले सेवा ऐन बनाउन नसक्दा कर्मचारी प्रशासन प्रभावित हुँदै आएको छ । यसैगरी, तय गरिएका अन्य कार्यनीतिमा स्थानीय तहको समन्वय, अनुगमन र प्रतिवेदन प्रणालीमा जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

त्यस्तै, संघीयता कार्यान्वयन सम्बन्धमा विज्ञसँग नीतिगत पृष्ठपोषण लिइने नीति तय गरिएको छ । संघीयता कार्यान्वयन सहजीकरणअन्तर्गत अन्य रणनीतिमा स्थानीय तहको क्षमता विकास तथा संस्थागत सुदृढीकरण गरिनेछ र यसका लागि स्थानीय तहमा आवश्यकताअनुसार नमुना कानुन तयार गरिने, संघीयता सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान कार्यनीति बनाइएको हो ।

यसैगरी, स्थानीय तहले हासिल गरेको उपलब्धि एकीकृत राष्ट्रिय उपलब्धिमा समावेश गर्ने, स्थानीय तहको अनुदान वितरण कार्यसम्पादनसँग आबद्ध गर्ने र स्थानीय तहको दिगो सन्तुलित र आर्थिक तथा सामाजिक विकासका लागि समन्वय र सहजीकरण रणनीति बनाइएको छ ।

दसवर्षे रोडम्यापअनुसार सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन प्रभावकारी बनाइनेछ । जसमा संघ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारीअनुरूप जनशक्ति प्रक्षेपण गरी सार्वजनिक सेवामा प्रतिभावान् व्यक्तिको आकर्षण अभिवृद्धि गर्नेखाले नीति अख्तियार गरिनेछ ।

यसैगरी, निजामती कर्मचारीमा पेसागत आचरण र व्यावसायिक दक्षता अभिवृद्धि गरिनेछ भने प्रशासन सुधारलाई निरन्तर अघि बढाइने योजना बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यस्तै, सार्वजनिक सेवा प्रभावकारी बनाउन प्राज्ञिक निकाय तथा विज्ञसँगको सहकार्यमा अध्ययन अनुसन्धान नीति पनि तय गरिएको छ ।

मन्त्रालयका अनुसार सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्न सार्वजनिक सेवामा नागरिकको सरल सहज र सुलभ पहुँच सुनिश्चित गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट प्रवाह गरिने सार्वजनिक सेवामा गुणस्तरीयता कायम गर्न आवश्यक नीति कानुन तथा मापदण्ड तयार गरी लागू गरिने लक्ष्य निर्धारण गरिएको छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाह नागरिकमैत्री बनाइने, सेवाको कार्य सञ्चालन मापदण्ड (एसओपी) तयार गरी लागू गरिने जनाइएको छ ।राजधानी दैनिकमा खबर  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …