तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।

“सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे ।  यस वर्ष बीउ राख्न पनि पाइएन ।” घुन्साका हिमाली चुङदाकले भने । उनका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । “आलु फल्न छाडेपछि खम्बाचेन र फलेका केही भाग खर्कमा परिणत भएका छन्, घुन्सामा यस वर्ष एक मुरी बीउ रोप्दा दश पाथी पनि राम्रो आएन, यस्तै अवस्था रहिरहे हिमाली क्षेत्रका बासिन्दालाई समस्या आउने देखिन्छ”, उनले भने । सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने घुन्सालगायतका बासिन्दा पशुपालनसँगै आलुखेती गर्छन् । विगतमा वर्षभर पुग्ने अन्नपात आलुले नै जुटाउने घुन्सावासी यो वर्ष आफैँका लागि छ दिनसम्मको समय खर्चेर याङ्मादेखि आलु बोक्न बाध्य बने । “आफू पनि खानुपर्यो, आउने पर्यटकलाई पनि खुवाउनै पर्यो, यो वर्ष आलु नफल्दा याङ्मादेखि पनि ल्यायौँ”, स्थानीयबासी टाँसी शेर्पाले भने ।

करिब तीन हजार ४०० मिटरको उचाइमा पर्ने घुन्सामा मात्र एक सिजनमा १०० मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो । आसपासका बस्तीमा उत्तिकैरुपमा उत्पादन हुन्थ्यो तर क्रमशः घट्दै गएपछि कतै जमिन बाँझो छन् भने कतै बस्तु चराउने खर्क बन्दै गएको देखिन्छ । विशेष गरी फले क्षेत्र बाँझोमा परिणत भएको देखिन्छ । सो क्षेत्रमा घुन्सावासीले नै आएर आलुखेती गर्थे ।

खम्बाचेन, घुन्सामा उत्पादित आलु पनि फलेमा नै लगेर भण्डारण गरिन्थ्यो । त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकै बोकेर आलु लिन दुई दिनसम्म हिँडेर जान्थे । यसरी आलुसँग कोदो र मकै साटेर हिमाली क्षेत्रका मानिसले खाद्यान्नको जोहो गर्थे । कतिपयले बेचेर घर खर्च जुटाउँथे तर अहिले उत्पादन घटेकाले स्थानीयबासी समस्यामा परेका छन् ।                                         आलु उत्पादन किन घट्यो भन्ने विषयमा स्थानीय अनविज्ञ देखिन्छन् । जलवायु परिवर्तनका कारण हो कि भन्ने अनुमान गरिएको छ । केही वर्षयता हिमाली क्षेत्रका मौसमी वातावरणमा परिवर्तन आउँदा उत्पादनमा प्रभाव परेको हुनसक्ने स्थानीयबासीको भनाइ छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …