तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप सही ठहरिए आफूले दुवै पद छाड्ने र गलत ठहरिए आरोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता आंैल्याएका हुन् ।

‘यो विषयको बैठकमार्फत नै छिनोफानो हुनुपर्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ,’ प्रम ओलीले बैठकमा प्रस्तुत भएको विषय प्रस्ताव नभई लाञ्छनापत्र भएको बताउँदै भने, ‘यो आरोप या त सदर ठहरिनुप¥यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुप-यो । तर, आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप¥यो, यसको जवाफदेही हुनुप-यो ।’

म त्यो लाञ्छनापत्र जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबैलाई खारेज गर्छु
– प्रधानमन्त्री ओली

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सल्लाह नै नगरी राजनीतिक प्रस्तावको नाममा प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपा विवाद झनै उत्कर्षमा पुगेको थियो ।
सत्तारूढ नेकपाभित्र सत्ता र शक्तिकै लागि एकले अर्कोलाई पदच्यूत गर्ने रणनीतिअनुसार विभिन्न गुट सक्रिय हुन थालेपछि विवाद उत्कर्षमा पुगेको छ । नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि अर्का अध्यक्ष दाहालले भ्रष्टाचारीलाई संरक्षण गरेको लगायतका आरोप लिखित रूपमै लगाएपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ पनि लिखित रूपमा नै दिने भएका हुन् ।

नेकपा स्रोतका अनुसार अहिले पार्टीभित्र एकले अर्कोलाई पदच्यूत गर्ने रणनीतिअनुसार नेताहरू अगाडि बढेका छन् । सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदन र प्रधानमन्त्री ओलीले व्यक्त गरेको मन्तव्यलाई विश्लेषण गर्दा एक अर्काविरुद्ध उत्रिएको जस्तो देखिन्छ ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डले आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याएको आरोपलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने बताए । ‘त्यस्ता झुटा र निकृष्ट लाञ्छनाहरू मैले सहन्छु भन्ने नसोचे पनि हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म त्यो लाञ्छनापत्र जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबैलाई खारेज गर्छु ।’

‘अहिले नेकपाभित्र एकले अर्कोलाई पदच्यूत गर्ने गरी दुवै अध्यक्ष अगाडि बढेको देखिन्छ,’ नेकपा स्रोतले भने, ‘अर्को बैठक बस्नुभन्दा अघिसम्म कुनै सहमति भए ठीकै छ, नत्र केही भन्न सकिन्न ।’

अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको १९ पृष्ठ लामो प्रस्तावमा प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको संरक्षण गरेकालगायतका गम्भीर आरोप लगाइएको छ । प्रधानमन्त्री ओली यी आरोप बोकेरै कोही पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षको जिम्मेवारीमा बस्न नसक्ने उल्लेख गर्दै पहिले यसको छिनोफानो गर्नुपर्ने अडानमा छन् ।

प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपबारे छिनोफानो गर्न समय माग गरेपछि सचिवालयको अर्को बैठक १० दिनका लागि स्थगित भएको छ । अर्को बैठकमा ओलीले पनि लिखित रूपमै कडा जवाफ दिने तयारी गरेका छन् ।
सचिवालय बैठक १३ मंसिरमा बस्नेछ । बैठकले गरेको निर्णयअनुसार स्थायी कमिटी बैठक १८ मंसिरमा र केन्द्रीय कमिटी बैठक २५ मंसिरमा बस्नेछ । नेकपाभित्र एकपछि अर्को विवाद बढ्दै गएपछि समस्या पेचिलो बन्दै गएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले पार्टी सचिवालय आन्तरिक समस्या समाधान गर्ने उद्देश्यले गठन गरिएको भए पनि समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको टिप्पणी गरेका छन् । राष्ट्रिय राजनीति तथा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सचिवालयले सोअनुसार काम गर्न नसकेको उनले बताए ।

‘पछिल्लो समयमा सचिवालय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने थलो बन्न पुगेको छ,’ महासचिव पौडेलले भने, ‘राष्ट्रिय राजनीति तथा पार्टीको आन्तरिक समस्या समाधान गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वाभाविक रूपमा सचिवालयको वैधता एवं औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको सहयोगमा प्रधानमन्त्री ओलीविरुद्ध लिखित रूपमा आरोप लगाएका छन् । सचिवालयमा प्रधानमन्त्री ओलीलाई सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव पौडेलको साथ रहेको छ । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा कुनै पनि समूहमा प्रस्ट रूपमा खुलेर लागेका छैनन् ।

नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहाल–नेपाल समूहबीच मतभेद बढ्दै गएपछि विवाद चर्किएको हो ।राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …