तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ ।

कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताउनुभयो ।

उहाँले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न पाइँदैन भन्नुभयो । सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा कार्यरत निजामती कर्मचारीले तोकिएको पोसाक नलगाई काम गर्ने गरेको उहाँ बताउनुुहुन्छ । 

पहिला प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीले पोसाक लगाएका छन् कि छैनन् भन्ने छड्के गर्ने गरिन्थ्यो, अहिले त्यो पनि कोरोनाकै बहानामा अनुगमन गर्ने गरिएको छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवको रूपमा एकनारायण अर्याल आइसकेपछि मन्त्रालयभित्र कार्यरत कर्मचारीलाई पोसाक अनिवार्य गर्न निर्देशन गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारी मात्र नभई मन्त्रालयमा विभिन्न कामका लागि आउने कर्मचारीलाई समेत पोसाक अनिवार्य लगाउन निर्देशन दिइएको छ ।

अधिकारीले सचिवको कार्यकक्षमा जाँदा कुनै पनि कर्मचारीले पोसाक नलगाई जान पाइँदैन, मन्त्रालयका सबै महाशाखा प्रमुख र शाखा प्रमुखले पोसाक नलगाई सचिवको कार्यकक्षमा प्रवेश गरे उहाँहरूको कुरा सचिवले सुनुवाइ गर्नुहुन्न भन्नुभयो । सरकारले २०६७ साल चैतदेखि पुरुष कर्मचारीलाई सेतो सर्ट, निलो पाइन्ट र महिला कर्मचारीलाई आकाशे रङको साडी, प्याजी रङको ब्लाउज पोसाक तोकेको थियो । महिलाले सर्ट, पाइन्ट लगाउन पाउने व्यवस्था छ ।

निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनले कार्यालय समयमा पोसाक नलगाई आउने कर्मचारीलाई कारबाही गरे त्यसको स्वागत गर्ने जनाएको छ । आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले कर्मचारीले पोसाक भत्ता लिएपछि अनिवार्य पोसाक लगाउनुपर्ने बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …