तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

रेडियो र मोबाइलको पहुँच अझै सहज बनिसकेको छैन । बस्ती परपरसम्म छरिएकाले पनि विभिन्न चाडपर्व, पूजाआजा र सार्वजनिक कामको सूचना दिन तमान गाउँमा अझै पनि कटुवाल लगाउने चलन छ । कटुवालले पारिश्रमिक भने नगदै पाउँछन् ।

बागलुङ। वर्षमा एक दर्जन जति पूजाआजा, मेलामहोत्सव, उँधौली, उँभौलीलगायत चाडपर्व र सार्वजनिक काम पर्नेबित्तिकै उनको सम्झना हुन्छ । ४५ वर्षका रुपलाल बुढाले गाउँका यस्ता सबै कार्यको सूचना दिन्छन् ।

त्यतिमात्र होइन, खेतीपातीको समय, खेती लगाएपछि गाईवस्तु नछाड्न र खेती थन्क्याएपछि खुला भएको सूचना पनि उनैले दिन्छन् ।

रुपलाल तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँका कटुवाल हुन् । उनले ३ सय ६५ घरमा सूचना पुर्‍याउँछन् । ती घरमध्ये आधाजसो एकै ठाउँमा छन् । बाँकी घर भने पर–परसम्म छरिएका छन् । सबैलाई सूचना दिनुपर्ने भएकाले आवश्यक पर्ने दिन बिहान ५ बजे उठेर ९ ठाउँमा पुगेर कुर्लन्छन् । गोठ सार्ने सूचना पनि उनले दिने गरेका छन् । वर्षभरिमा झन्डै एक सय पटक कटुवालको काम आउने गर्छ ।

यो वडामा प्राय:जसो मगर र दलित समुदायको बसोबास छ । सबैभन्दा नजिकको बुर्तिवाङ बजार यहाँबाट २५ किलोमिटर टाढा छ । त्यहाँका स्थानीय रेडियो पनि यहाँ सुनिँदैन । घरभित्र बसेको बेला टेलिफोनको टावरसमेत नटिप्ने भएपछि सूचनाबाट स्थानीय वञ्चित छन् । त्यसैले रुपलालको आवश्यकता अझै भइरहेको स्थानीय मनकुमारी बुढाथोकीले बताइन् । ‘हामीले सूचना पाउने भनेकै कटुवालबाट हो,’ उनले भनिन्, ‘बिहानै कटुवालले कराएको सूचना सुनेपछि दिउँसोको काम थाल्छौं ।’

गाउँकै ७० वर्षीय रत्नबहादुर रोकाले पात्रो हेर्न जानेका छन् । उनले तिथि, चाडपर्व, उँधौली, उँभौली, सरुन, नक्षत्र सबै हेर्छन् । सरुन लागेको बेला घर छाउन नहुने, बाँस काट्न नहुने, गोठ सार्न नहुने चलन छ । ती जानकारी रोकाले दिएपछि बुढाले सबै गाउँलेमाझ सूचना बाँड्छन् । पूजापाठका लागि घोषित मितिबाहेक पात्रो हेरेर जुराउनुपर्ने काम भए रोकाको घरमा सोध्नेहरु पनि आउँछन् । रोका पनि गाईभैंसी लिएर गोठमा गइरहने भएकाले बुढाले निरन्तर समन्वय गरेर सूचना दिने काम गर्छन् ।

तमान गाउँमा कटुवालको पनि ४ वर्षे कार्यकाल हुन्छ । गाउँभेला बसेर ४/४ वर्षमा कटुवाल फेर्ने चलन छ । कटुवाल बसेका व्यक्तिलाई हरेक वर्ष प्रतिघर २ सय रुपैयाँ नगद दिने चलन छ । केही वर्षअघिसम्म मकै र कोदो दिने चलन थियो । अन्न उठाउन र संकलन गर्दाको झन्झटपछि नगदमै कारोबार गर्न थालिएको बुढाथोकीले बताइन् । नगद पाएपछि कटुवाल बस्ने पनि खुसी भएका छन् । ‘नगद आएपछि चाहेको खाद्यान्न किनेर खाने र घरपरिवारमा आवश्यक पर्ने सामग्री किन्न पनि सजिलो भयो,’ बुढाले भने, ‘वर्षको ७३ हजार नगद संकलन भएपछि घरको काम पनि चल्छ ।

बुढाको चार वर्षे कार्यकाल सकिसकेको छ । तर कोरोना महामारी र बेलाबेलाको लकडाउनले गाउँ भेला बस्न सकेको छैन । त्यसैले उनको लागि एक वर्ष थप गरिएको रोकाले बताए ।

गाउँपालिकाले स्थानीय नीतिनियमलाई पनि सम्मान गरेको छ । समाजको पुरानो चलन भएकाले सूचना दिने कामलाई सहयोग गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘यो पहिचान पनि हो’ उनले भने, ‘धार्मिक आस्था र विश्वासलाई पालिकाले नियम बनाएर हटाउनुभन्दा संस्कृतिका रूपमा संरक्षण गर्नु राम्रो हो ।’ खेलकुद प्रतियोगिता, कुलो सोहोर्ने, पञ्चायत बस्नेजस्ता काममा पनि कटुवाल लगाउने गरिन्छ । स्थानीय भेषबहादुर पुनले भने, ‘कटुवाल प्रथा हामीलाई आवश्यक छ, निरन्तरता दिन्छौं । कृषि र पशुपालन गर्नेहरुले पनि तिथिमिति र नक्षत्र, शुक्रको अवस्था हेर्न चाहने भएकोले कटुवाल प्रथा नरोकिने उनले बताए । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …